कुवेतबाट फर्किएका झापाका ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु एकसाता अघि कुवेतबाट काठमाडौँ हुँदै झापा आएर स्थानीय क्वारेन्टाइन बसेका थिए ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँका अनुसार मेचीनगर नगरपालिकाका २, बुद्धशान्ति गाउँपालिकाका ३ र हल्दिबारी गाउँपालिका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोशी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
झापामा मंगलबार मात्र १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कुवेतबाट आएका बाहेक मेचीनगर नगरपालिकाकी १ महिलामा समेत कोरोना संक्रमण देखिएको छ । उनी भारतको आसामबाट आएका स्थानीय क्वारेन्टाइनमा बसेकी थिइन् ।
यसबाहेक बिर्तामोडका २, बुद्धशान्तिका ३ पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु पनि भारतबाट आएका हुन् ।
मंगलबार थपिएका सँगै झापाका १५ वटा स्थानीय तहमा कोरोना संक्रमित भेटिएको छ । अहिलेसम्म झापामा कोरोना संक्रमितको संख्या २ सय ५ पुगेको छ । जिल्लामा १ सय ३५ जना कोराना संक्रमित निको भएर घर फर्किसकेका छन् ।