News

‘रोग लाग्ला भन्ने डर त छ तर के गर्नु ? काम गरिनँ भने परिवारै भोकै बस्नु पर्छ ।’

विराटनगर — वृद्ध बाआमासहित ७ सदस्यीय परिवारको एक्लो सहारा हुन्, निर्माण मजदुर ३५ वर्षीय जहाँगीर अन्सारी । सारा महानगरवासी घरभित्र बसिरहेको बेला विराटनगर–६ का उनी कामको खोजीमा सडकमा निस्कन्छन् ।

उनी कामकै खोजीमा विराटनगरको सुनसान मेनरोडमा भौंतारिइरहेका हुन्छन् । ‘रोग लाग्ला भन्ने डर त छ तर के गर्नु ? काम गरिनँ भने परिवारै भोकै बस्नु पर्छ,’ उनले भने, ‘सर्वत्र बन्दाबन्दीले गर्दा तीन सातामा दुई पटक मात्र काम पाएँ, घरखर्च पुऱ्याउन गाह्रो छ ।’
कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि महानगरपालिकाले १६ साउनदेखि ५ भदौसम्मका लागि विराटनगरभर लकडाउन गर्यो । महानगरपालिकाकै आग्रहमा जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरभर, रंगेली नगरपालिका, कटहरी र बुढीगंगा गाउँपालिकाको केही भागमा ५ भदौको मध्यरातिदेखि पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

तर, दैनिक ज्यालादारी गरेर साँझ बिहानको छाकका लागि संघर्षरत वर्गको बारेमा तीन तहकै सरकार मौन छ । यस्तोमा भोजनकै बन्दोबस्तीका लागि सडकमा आउनु जहाँगिर जस्तोको रहर होइन, बाध्यता हो जसलाई कसैले पनि बुझिदिँदैनन् ।

महानगरमा ठेला गुडाएर जीवन धान्ने समूह पनि अहिले अप्ठेरोमा छन् । ‘बजार बन्द भएकाले काम पाउनै मुस्किल छ,’ ठेला चालक युवा मिथिलेस कामतले भने,‘समान ढुवानीको फाट्टफुट्ट काम भेटिहाल्छ कि आशमा बजार आउँछु ।’ सरकारले सुरुसुरुमा लकडाउन गर्दा राहत वितरण गरेकाले धेरै मद्धत पुगेको उनले सुनाए । विराटनगर–२ का कामतले लामो लकडाउनले घरायसी स्थिति सम्हालिनै नसकिने गरी खराब भइरहेको बताए

‘लकडाउन/निषेधाज्ञा गरेर घरमा सुरक्षित बस्न भनिरहेका छन् तर हामी जस्ता मजदुर वर्गको बारेमा कसैले सोचेको छैन,’कामतले भने,‘अब महानगरपालिका कार्यालयलाई गुहार्नुबाहेकको विकल्प श्रमिकसँग छैन ।’ प्रहरी प्रशासनले मुख्य सडक एवं चोकमा भेला हुन नदिने हुनाले यी ज्यालादारी मजदुरलाई गाह्रो भइरहेको छ ।

‘दैनिक सय रुपैयाँ पनि आम्दानी हुन छाडेको छ,’रिक्सा चालक ५४ वर्षीय शंकर रजकले भने । १४ वर्षको उमेरदेखि रिक्सा गुडाइरहेका उनले अहिलेको जस्तो दु:खद अवस्था कहिल्यै नभोगेको बताए । उनी विराटनगर–७ स्थित सुनसान गेहेली मार्गमा पिपलको बोट मुनि रिक्सामा बसेर यात्रु कुरिरहेका हुन्छन् । रजकले भने,‘प्रहरीले मेनरोड र चोकचोकमा बस्न नदिने हुनाले यहीँ यात्रु कुरेर बस्छु, जरुरी कामले निस्केका दुई/चार यात्रु भेटिन्छन् ।’

सामान्य दिनमा दिनहुँ औसत ७ सय रुपैयाँ कमाउने उनलाई लामो लकडाउनले आर्थिक रुपले शिथिल पारेको छ । ‘अहिलेको आम्दानीले तरकारी किन्ने पैसा पनि पुग्दैन, रासनपानी उधारोमै किनिरहेको छु,’उनले भने । विराटनगर सीमासँग जोडिएको मोरको कटहरी–१ बाट बारीकै उत्पादन लिएर बजारसम्म आइपुग्ने अञ्जनी चौधरी अहिलेको अवस्था देखेर खिन्न छिन् ।

आफ्नै बारीको तरकारी ल्याएर बेच्न धौधौ पर्छ, मास्क लगाएर बेचिरहेका हुन्छौं, त्यही पनि महानगरको प्रहरीले देखी सहन्न,’ उनले भनिन्, ‘ठूलाठूला गाडी र ठूलाठूला मान्छेलाई कसैले केही भन्दैनन् ।’ तरकारी बेचेरै घरखर्च चलाउनु पर्ने भएकोले बन्दाबन्दीले आउजाउमा समस्या भइरहेको चौधरीले सुनाइन् ।

चियाखाजा बेचेर चार परिवारको गुजारा गरिरहेका स्थानीय विराटनगर–रंगेली सडकका अनोद भुजेलले यस्तो तरिकारले जीवन कहिलेसम्म चल्छ भन्ने गुनासो गर्छन् । ‘घरभित्र बसेर यो महामारीबाट बच्नु पर्छ भनेर माइकिङ गर्दा सम्पूर्ण नगरवासीको आर्थिक अवस्थाको बारेमा पनि सोच्नु पर्छ,’ उनले भने, ‘टन्न पुग्ने घरमा बस्लान्, नपुग्ने भोकभोकै मरुन् त ?’

लकडाउन/निषेधाज्ञापछि तरकारी किसान एवं व्यवसायीलाई विराटनगर प्रवेशमा प्रतिबन्ध लगाउँदा स्थानीयलाई कठिन भएको छ । ‘घरभित्र बसौं भन्ने प्रहरीको माइकिङले ज्येष्ठ नागरिक र बालबालिकाको इम्युनिटी बढ्ने होइन, त्यसका लागि हरियो एवं ताजा तरकारी पनि चाहियो,’ विराटनगर तीनपैनीकी गृहिणी सुमित्रा रायले भनिन् । प्रहरी प्रशासनकै निगरानीमा सम्पूर्ण सतर्कता अपनाएर व्यवस्थित ढंगले अत्यावश्यक बस्तुको आपूर्ति प्रबन्ध मिलाउनु नागरिक हितमा हुने उनले बताइन् । विराटनगरमा शनिबार बिहानदेखि तरकारी बजार लाग्न दिइएको छैन । खोल्न नदिइएकाले सटरमा तरकारी पसल गरेकाहरुले लुकेर बेचिरहेका छन् ।

स्वयंसेवकका रुपमा खटिने नरेश बरालले भोकसँगै संघर्ष गरिरहेकालाई खुवाउने दायित्व राज्यको भएको बताए । अहिलेको अवस्थालाई चाहिनेभन्दा बढी डरलाग्दो ढंगले प्रस्तुत गर्नुभन्दा नागरिकलाई सही सूचना दिने कर्तव्य तीन तहककै सरकारको भएको उनले बताए । ‘संक्रमितहरुको बीचमै बस्दा पनि सचेत र सावधान नागरिक सुरक्षित छन्, नबुझ्ने मान्छे वा बुझन नचाहनेहरु नै संक्रमित भइरहेका छन्,’ उनले भने ।

Related Articles

Back to top button
Close