News

भदौ १६ देखि खुल्ने नियमित उडानबाट सरकारी अनुमति पाएका यात्रुमात्र आउन पाउने

सरकारले भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सेप्टेम्बर १ देखि नियमित तथा चार्टर्ड उडानबाट विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो।

सरकारले गरेका निर्णयहरुको बारेमा जानकारी दिंदै सरकारका प्रवक्ता डा युवराज खतिवडाले उडान तालिका र त्यसको अनुमति संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयले दिने जानकारी दिए।

अहिलेसम्म विदेशका सबै ठाउँमा चार्टर्ड उडानबाटमात्र उद्धार हुँदै आएको थियो। सरकारले भदौ १६ देखि नियमित उडान खुला गर्ने निर्णय गरे पनि सबैतिर लागू हुने छैन।

सरकारले नियमित उडानबाट आरडिटी-पिसिआर परीक्षण नगरेका यात्रुहरु आउन पाउने छैनन्। परीक्षणको नतिजा नेगेटिभ भएकाहरु मात्र त्यस्तो उडानबाट नेपाल फर्किन पाउने खतिवडाले जानकारी दिए।

‘हामी एउटै जहाजभित्र संक्रमित र स्वस्थ मान्छेलाई सँगै ल्याउन सक्दैनौं। त्यसले जोखिम बढाउँछ,’ उनले भने।

सरकारको यो निर्णयसँगै कोरोना परीक्षणको सहज व्यवस्था भएका देशहरुमा मात्र यस्तो उडान सम्भव हुने छ। सरकारले कुन कुन देशबाट नियमित उडान हुनसक्छ भनेर अनुमान गरेको छ।

मलेसिया, यू.ए.इ., दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्‍ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाटमात्र नियमित उडान हुनसक्ने छ। सामन्यतया भदौ १६ देखि यी देशहरुमा मात्र नियमित उडान सुरु हुने छ।

यसरी नियमित उडान गर्ने एयरलाइन्सले अनुमति लिनका लागि थप प्रक्रिया पुरा गर्नुपर्ने छ। त्यस्तो एयरलाइन्सले ल्याउने यात्रु सबैले उडान अघिको ७२ घण्टाभित्र आरडिटी-पिसिआर नेगेटिभ भएको प्रमापणत्र हुनुपर्छ। त्यस्तै सिसिएमसीको वेबसाइटमा नेपाल आउनेले भर्नुपर्ने फारम भरी त्यसको बारकोड वा प्रिन्टेड कपी र सात दिन होटल क्वारेन्टिनमा बस्नेगरी बुकिङको प्रमाणसहित नेपाल नागरिक उड्डयन प्राधिकरणमा पेस गर्नुपर्ने छ। त्यति भएपछमामत्र सरकारले नियमित उडान अनुमति दिने छ।

परीक्षण रिपोर्ट नेगेटिभ प्रमाणपत्र भएका यात्रु सबैलाई दर्ता र स्वास्थ्य परीक्षणको कार्य सकिएपछि होटल क्वारेन्टिन बसिराख्नुपर्ने बाध्यता हुने छैन। कम्तीमा १४ दिन होम क्वारेन्टिन बस्नेगरी जान दिइने छ।

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा बाहेक आएका यात्रुहरुको होटल क्वारेन्टिन बस्ने खर्च पनि एयरलाइन्स आफैले टिकटबाट काट्नुपर्ने छ। त्यस्तो होटललाई एयरलाइन्सले नै भुक्तानी गर्नुपर्ने छ।

नियमित उडानमा आरडिटी-पिसिआर परीक्षण नगराएका, होटल बुकिङ्ग नगरेका वा अन्य शर्त पूरा नगरेका कुनै यात्रुहरू लिएर आएको वा अन्य कुनै अनियमितता गरेको पाइएमा सम्बन्धित वायुसेवा कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रचलित कानूनबमोजिम कारबाही गर्ने सरकारले निर्णय गरेको छ।

नियमित उडान लिइनका एयरलाइन्सहरु इच्छुक हुनसक्ने अर्को कारण पनि छ। सरकारले उडान खुला गरेपनि यात्रु ल्याउन भने सरकारले अनुमति दिएकाहरुलाई मात्र पाउने छन्। सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरू, संयुक्त राष्ट्र संघ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गर्नदिने सरकारले निर्णय गरेको छ।

परीक्षण सहज नभएका मुलुकहरु जस्तै साउदी अरव, कुवेत, कतार वा अन्य मुलुकबाट नियमित उडानबाट यात्रुहरू ल्याउन नपाइने। त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर उडान गरिने भएको छ।

सरकारले विदेशमा बेखर्ची भएका श्रमिकका लागि कल्याणकारी कोषको रकमबाट उद्धार गर्ने निर्णय यसअघि नै गरिसकेको छ। सरकारले बनाएको कार्यविधिअनुसार दुतावासको सिफारिसमा आउने त्यस्ता नेपाली नागरिकका लागि भने सरकारले उपत्यकामा बन्ने एकीकृत क्वारेन्टिनमा राखिने छ। उनीहरुले त्यहाँ बस्दा भएको खर्च कल्याणकारी कोषको रकमबाट खर्च हुने छ।

एउटै उडानमा पिसिआर नेगेटिभ र परीक्षण नै नभएकाहरुलाई मिसाएर ल्याउन पाइने छैन। यदी ल्याएमा सबै यात्रु होटल क्वारेन्टिनमा बस्नु पर्ने र होटल क्वारेन्टिनमा लागेको खर्च सम्बन्धित एअरलाइन्सले नै व्यहोर्नु पर्ने छ।

उद्धार उडानबाट पिसिआर परीक्षण नगरी अन्य परीक्षण गरेर नेपाल आएका व्यक्तिहरू आफ्नै खर्चमा कम्तीमा सात दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा जिल्ला कोभिड-१९ सङ्‌कट व्यवस्थापन केन्द्रबाट सूचीकृत होटलमा अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्नेछ यसरी आएका व्यक्तिहरूलाई क्वारेन्टिनमा बसेको ५ दिनपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउने छ। नेगेटिभ आएमा थप सात दिन होम क्वारेन्टिन बस्ने गरी जान दिइने छ।

Related Articles

Back to top button
Close