International

टीस्टा नदी परियोजनामा चीनले बंगलादेशलाई सहयोग गर्ने भएपछि भारत थप तनावमा

नयाँ दिल्ली (एजेन्सी)। भारत र चीनबीच हालका दिनहरुमा सम्बन्ध राम्रो छैन। खास गरेर गएको जुन १५ मा लद्दाखमा भएको हिंस्रक झडपामा २० जना भारतीय सैनिक मारिएपछि तनाव झन बढेको छ। यो तनावको प्रभाव द्वीपक्षीय सम्बन्धका अन्य आयामहरु पनि परेको छ।

भारतमा चिनियाँ उत्पादन बहिस्कारको लहर चलेको छ भने चीले पनि भारतका परम्परागत मित्र देशहरुसँग सहयोग बढाएर भारतको चिन्ता बढाएको छ। यसैबीच हालै चीनले टीस्टा नदी परियोजनाका लागि बंगलादेशलाई एक अर्ब डलर सहयोग दिने घोषणा गरेको छ।

भारत र बंगलादेशबी टीस्टा नदी सन्धिका लागि लामो समयदेखि चलिरहेको प्रयासले सफलता नपाइरहेका बेला टीस्टा नदी मामिलामा चीनले देखाएको रुचीले भारतीयहरुलाई झस्काइ दिएको छ।

हिमालयबाट भारतको सिक्किम, पश्चिम बंगाल हुँदै बंगलादेश पुग्ने यो नदीको पानी भारत र बंगलादेश दुबैका लागि बरदान हो। तर, यसको उपयोगको विषयलाई लिएर भारत र बंगलादेशबीच कुनै सहमति बन्न सकेको छैन।

बंगलादेशले आफूलाई समस्या नपर्ने गरीमात्र भारतले सो पानी उपयोग गर्नुपर्ने बताएको छ भने भारतले आफूलाई आवश्यक पर्ने पानी उपयोग गर्ने बताएको छ। टीस्टा नदी परियोजनामा चिनियाँ सहयोगको विषयलाई लिएर भारतीय प्रोफेसर स्वर्ण सिंह भन्छन्, ‘चीनले बंगलादेशलाई ६ं४ अर्ब डलर सहयोग गर्ने घोषणा गरेको थियो, त्यस मध्ये एक अर्ब डलर टीस्टामा खर्च गर्ने कुरा आएको छ। टीस्टा नदी एक संवेदनशील मुद्दा हो। यसमा चीनले लगानी गर्न लागेको छ।’

उता पश्चिम बंगलामा क्रियाशील पत्रकार निर्माल्य मुखर्जी चीन भारतमाथि दबाव बढाउनका लागि बंगलादेशमा सक्रिय रहेको बताउँछिन्। यो मामिलामा पश्चिम बंगलाकी मुख्यमन्त्री ममता बनर्जीले पहिला नै भारतको केन्द्र सरकारमाथि दबाब बनाएकोले चीनले पछिल्लो घोषणाले भारतमाथि झन दबाब बढ्ने उनले बताइन्।

हालका वर्षहरुमा भारतको सबै छिमेकी मुलुकहरुसँग सम्बन्ध ठिक अवस्थामा छैन। नेपाल, पाकिस्तान र चीनसँग उसको सम्बन्ध ठिक छैन। अझ बंगलादेशसँग पनि यो टीस्टा मुद्दाले सम्बन्धमा चिसोपना ल्याउन सक्ने जोखिम बढेको छ।

Related Articles

Back to top button
Close