Intresting

पिपिई र मास्क लगाएरै अस्पतालभित्र नर्सहरूले मनाए तीज (भिडिओ)


बुधबार साँझ शरीरमा गाउन, पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिई) र मास्क लगाएर हालेका तीजका भाकाले अस्पताल नै गुञ्जिएको थियो।

विगत पाँच महिनादेखि कोरोना संक्रमितसँगै नियमित उपचारका लागि आउने बिरामीको सेवामा खटिएका उनीहरूले बुधबार अस्पताल परिसरमै सन्देशमूलक तीज गीत गाएर रमाए।

यसभन्दा अघिका वर्षहरूमा तीजमा आलोपालो गरी माइत जाने नर्सहरूले यो पटक बिदा पाएनन्। कोरोना भाइरसको ग्राफ र उनीहरूको व्यस्तता एउटै लयमा बढेको छ।

देशभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण वर्ष दिनमा आउने तीज पर्वमा परिवार, आफन्तसँग रमाइलो गरी मनाउन नपाए पनि लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरूले भने सन्देशमूलक गीतसहित तीज मनाएका हुन्।

कोरोना महामारी नियन्त्रण गर्न देशका धेरै जिल्लामा लकडाउन तथा निषेधाज्ञा गरिएको छ। मानिसहरू सबै घरभित्रै बसिरहेका छन्।

तर, कोरोना संक्रमितको उपचार तथा सेवामा अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मी बढी व्यस्त छन्। उनीहरू निरन्तर संक्रमितको उपचारमा खटिइरहेका छन्।लुम्बिनी प्रादेशिक अस्पताले कोरोना संक्रमितहरुको उपचारको लागि बुटवलमा कोरोना विशेष आइसोलेसन अस्पताल सञ्चालन गरेपछि आफूहरूको धपेडी बढेको नर्सिङ इन्चार्ज ज्योति पौडेल बताउँछिन्।

अस्पताल र आइसोलेसन दुवैतर्फको इन्चार्जको जिम्मेवारी निभाउँदै आएकी ज्योति त्यहाँ कार्यरत् नर्सहरूको ड्युटी मिलाउने, बिरामीको उपचारमा विशेष ध्यान पुर्‍याउँदै दिनभर खटिरन्छिन्।

यस्तै, धपेडीका बीच पनि कोरोना संक्रमणबारे सन्देश पुगोस् भनेर आफूहरूले गीत गाएको ज्योति भन्छिन्।

नर्सिङ स्टाफहरुले अस्पतालभित्रै गाएको सन्देशमूलक गीतको भिडियो सामाजिक विकास मन्त्रालयले बिहीबार मिडिया ब्रिफिङमार्फत सार्वजनिक गरेको थियो।

गीतमा उनीहरूले गीतमा यस वर्षको तीज कोरोनाको कारण मनाउन नपाए पनि अर्को वर्ष कोरोनालाई जितेर रमाइलो गरि मनाउँला भन्ने भावसमेत समेटेका थिए।

त्यस्तै, सरकारको प्रयासले मात्र कोरोना नियन्त्रण हुन नसक्ने भन्दै बिना काम घरबाहिर ननिस्कन, बाहिर निस्किनै परे मास्क लगाउन र साबुन पानीले हात धोइरहन गीतमार्फत् आग्रह गरे।

यस्तो छ गीतको शब्द

तीज तीज आयो नाच्ने गाउने रहर छ
के गर्नु र कोरोनाको ठूलो कहर
सधैंजस्तै तीज पर्व घुम्दै फिर्दै आको छ
विश्वभरि कोरोनाले सातो खाको छ

स्वदेशबासी विदेशबासी सबैको नाममा
७७ साल तीजको शुभकामना

कति भा’छन् संक्रमित कति मृत्युवरण
अझैसम्म पत्तो छैन के हो कारण

फैलिन त कोभिड-१९ विश्वभरी फैलिएछ
पाँच नम्बर प्रदेशको चासो लाइरा’छ

एक दुई जना भन्दा भन्दै समुदायमा आ’को छ
अझै कति फैलिने हो डर ला’को छ

नौ सय ६० सक्रिय संक्रमित १६ मृत्यु भएको
भदौ ३ सम्मको रिपोर्ट आएको

थुकका छिटा हाच्छिँउ गर्दा यो रोग सर्दछ
सामाजिक दुरीको खाँचो पर्दछ

बिनाकामले लखर-लखर बाहिर-बाहिर नडुलौं
हिड्नँ परे मास्क लाउन कहिले नभुलौं

यति कुरा ख्याल राखौं बाहिर गई आएर
राम्रोसँग हात धुनु साबुन लाएर

भिटामिन सी र डी पौष्टिक आहार लिनुहोस्
खानपिन सरसफाइमा ध्यान दिनुहोस्

मनोबल उच्च राखौं नकारात्मक भगाऔं
आफू पनि सुरक्षित भई अरु जोगाउँ

यसपालि भोज भतेर माइत पनि नजाउँ है
बाहिरको जे पायो त्यही कोही नखाउँ है

रोक्नु पर्‍यो सारा इच्छा यी मनका भावना
स्वास्थ्य नै हो जीवनको ठूलो गहना

तीज आयो भनेर मनपरी नगरौं
आफ्नो आनीबानीलाई आफैं सुधारौं

जबसम्म जनताको भित्री भाव जाग्दैन
सरकारको प्रयासले छेउ लाग्दैन

हामी एकजुट हुनुपर्छ यो कोरोना भगाउन
सरकारलाई मात्र हुन्न दोष लगाउन

समयमै सजग भए बल्ल हामी बाँचिन्छ
अहिलेको मेख मारेर आइसाल नाचिन्छ

कति छन् नि मनका इच्छा कति थिए भावना
कोभिड मुक्त विश्व बनोस् शुभकामना!!!

Related Articles

Back to top button
Close