News

चिनियाँ लगानीकर्ता भन्छन्– ‘नेपालमा लगानी गर्न सही समय’

बेइजिङ — नेपालमा लगानी गरिरहेका चिनियाँ लगानीकर्ताले विभिन्न उतारचढावका बाबजुद यहाँ लगानी गर्ने उपयुक्त वातावरण रहेको बताएका छन् ।

लामो समयदेखि नेपालको हाइड्रोपावर, विमानस्थललगायत क्षेत्रमा लगानी गरिरहेका उनीहरूले भूकम्प, नाकाबन्दीलगायत केही अप्ठ्यारो अवस्था भोगे पनि नेपालमा लगानी गर्नु सन्तोषजनक हुने भनेर अन्य चिनियाँ लगानीकर्तालाई हौस्याए । निर्माणस्थलमा स्थानीय जनसमुदायसँग भिजेर काम गर्नुपर्ने अवस्था रहेकाले यो पनि एउटा विचारणीय पक्ष भएको उनीहरूले बताए ।

चीनका लागि नेपाली दूतावासले बिहीबार बेइजिङमा आयोजना गरेको नेपालमा लगानीरत चिनियाँ कम्पनीका प्रतिनिधिसँगको अन्तर्क्रियामा पाँचवटा चिनियाँ कम्पनीले आआफ्ना अनुभव सुनाए । अन्य तीन दर्जन चिनियाँ व्यवसायीमाझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे विस्तारमा खटिएको एभिक केडीएन एयरपोर्ट इन्जिनियरिङ कम्पनीका उपाध्यक्ष टीन छन्, पावर चाइना इन्टरनेसनल समूहका प्रमुख वित्तीय उपअधिकृत थान स्याओफङ, चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसनकी एसिया प्रवर्द्धनकी महाप्रबन्धक ली चिच्यान लेई, नेपाल र हिमालय एयरलाइन्सका चिनियाँ अफिस व्यावसायिक विभागका उपप्रमुख आउ थाइलीलगायतले आफ्ना काम तथा प्रगतिबारे विवरण प्रस्तुत गरेका थिए ।

लगानीकर्तामध्ये केहीले नेपालमा वैदेशिक मुद्रामा गरिने लगानी फिर्ता पाउने सवाल भने झन्झटिलो रहेको बताए । केहीले भने लगानीमैत्री वातावरण पनि स्थिर नभएकोतर्फ ध्यानाकर्षण गराए । अन्तर्क्रियामा चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चिनियाँ कम्पनीलाई नेपालमा लगानी गर्न अनुरोध गरे ।

Related Articles

Back to top button
Close