News

सार्वजनिक यातायातबाट घर-घरमा पुग्नसक्छ कोरोना

मान्छे राख्यो सिन्की झै कोचेर

बलियो छि¥यो कुहिनोले ठेलेर केटाकेटी आत्था र ऐया

दमको रोग छ त्यो बुढी मुमाको

बादल लाग्यो सिगरेटको धुँवाको

हामी पनि हुँइक्यौं बहिनी, साझा बसैमा’

हरिवंश आचार्यले सार्वजनिक बसलाई बिम्ब बनाएर मुलुकको हालत चित्रण गरेका थिए । तर, अहिले सार्वजनिक यातायातकै दूरावस्था र जोखिमलाई दर्शाउन पनि यी हरफहरु उपयुक्त छन् ।

किनभने यतिबेला पृथ्वीमा नै कोरोना भाइरस फैलिएको छ । हाम्रो जस्तो कमजोर स्वास्थ्य सेवा र पद्धती भएको मुलुकमा यसको फैलावट अरु भयानक हुने छाँट छ । यस्तो पृष्टभूमीमा सार्वजनिक यातायातले कोरोना भाइरस फैलाउने जोखिम अरु बढी देखिएको छ ।

सर्वसाधरणको दैनिकी असहज बन्दै गएपछि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न छुट दिएको छ । तर, यसमा केही सर्तहरु पालना गर्नुपर्ने उल्लेख थियो । जस्तो कि, एक–अर्का यात्रुबीच पर्याप्त भौतिक दूरी हुनुपर्ने । मास्क अनिवार्य प्रयोग गर्नुपर्ने । गाडी चढ्दा सेनिटाइजर लगाउनुपर्ने । अर्थात पूर्णत सुरक्षित विधी अपनाएर मात्र सार्वजनिक यातायात चलाउनु पाइने व्यवस्था गरिएको थियो ।

गाडीका सबै सिटमा यात्रु राख्न नपाउने, जथाभावी यात्रु कोच्न नपाउने जस्ता सर्तहरुमा सहमति भएपछि सार्वजनक यातायात चलाउन छुट दिइएको थियो । यसका लागि यात्रुबाट चलनचल्तीको भन्दा पचास प्रतिशत भाडा असुल्ने निर्णय गरियो ।

अहिले अन्य बेला भन्दा पचास प्रतिशत मात्र होइन, दोब्बर भाडा तिरेर नै सर्वसाधरण सार्वजनिक यातायातमा यात्रा गरिरहेका छन् । तर, के यात्रुहरु सुरक्षित छन् ?

यस्तो छ स्थिति

–दोब्बर भाडा असुलेर पनि सार्वजनिक यातायातले यात्रुको लागि पर्याप्त सिट उपलब्ध गराएको छैन ।

–भेटेजति यात्रु कोचेका छन् । गाडीभित्र भिडभाड, ठेलमठेल छ । गाडीभित्र भौतिक दुरी कायम गरिएको छैन ।

–मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षाका विधीहरु बेवास्ता गरिएको छ ।

–चालक-सहचालकले सामान्य मास्क प्रयोग गर्नेबाहेक सुरक्षाका विधी अपनाएका छैनन् ।

यसकारण खतरनाक

–सार्वजनिक यातायातमा जो–कोही यात्रा गर्न सक्छन् । हरबखत त्यतीका यात्रु कोचेर चलाइने सार्वजनिक यातायातमा कुनै न कुनै बेला संक्रमित व्यक्ति चढेका हुनसक्छन् । वा संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्ति चढेका हुनसक्छन् ।

–एकअर्कामा टाँसिएर बस्नुपर्ने, बोल्नुपर्ने भएकाले अर्को व्यक्तिमा संक्रमण भए आसपासका अधिकांशमा भाइरस सर्ने जोखिम हुन्छ ।

–संक्रमितले बसेको सिट, समाएको ढोका अन्य यात्रुले पनि प्रयोग गर्न र छुने भएकाले भाइरस सर्न सक्छ ।

–सहचालकले पूर्णत सुरक्षा नअपनाएका कारण उनमा संक्रमणको भय बढी हुन्छ र उनीसँग बोल्नुपर्ने, पैसा लेनदेन गर्नुपर्ने यात्रु पनि सुरक्षित रहन सक्दैनन् ।

–अधिकांश यात्रुले स्तरिय मास्क लगाएका छैनन् । सुरक्षित ढंगले लगाएका छैनन् । कमसल मास्क, त्यो पनि खेलाची ढंगले लगाएका छन् । कतिपयले मास्क नै लगाएका छैनन् ।

स्वास्थ्य विज्ञहरु चेतावनी दिइरहेका छन्, भिडभाड, सार्वजनिक स्थलबाट कोरोना सर्न सक्छ । कोरोना फैलिएमा त्यसको नियन्त्रणमा हाम्रो ल्याकतले भ्याउने छैन । भोलि यसको संक्रमण अरु बढ्दै गए अस्पतालको क्षमताले भ्याउने छैन । त्यसमाथि कोरोनाको लागि कुनै निश्चित उपचार र औषधि तयार भएकै छैन ।

तर, सार्वजनिक यातायातका स्टाफ, यात्रा गर्ने यात्रुहरु सुरक्षाका सामान्य विधी समेत पालना गरिरहेका छैनन् । यसबाट के निश्चित हुन्छ भने, सार्वजनिक यातायातले कोरोना भाइरसको जोखिम अरु तिब्र रुपमा बढाउने छ ।

कोरोनाबाट बच्नका लागि अहिले एउटै मात्र उपाय भनेको भौतिक दूरी कायम राख्नु, सही स्तरको मास्क सही ढंगले लगाउनु, सरसफाईमा ख्याल राख्नु । तर, सार्वजनिक यातायातमा यी तीन वटा कुरा नै पालना भएको छैन ।

खासगरी काठमाडौंका गाडीमा जोर बिजोर प्रणाली लागु गरिएको छ । यसले गाडीको संख्या त घटाएको छ, तर यात्रुको चाप बढाएको छ । सार्वजनिक यातायातमा यात्रु खचाखच छन् । कुनै सुरक्षाको विधी पालना गरिएको छैन । जबकी यस्तो भद्रगोल स्थितिमा पनि सम्बन्धित निकाय मौन धारण गरेर बसेको छ ।

Related Articles

Back to top button
Close