Intresting

१२८ वर्ष पुरानो अंग्रेजी कविता, जसमा छ काठमाडौंको चर्चा

यो स्टोरी यही साउन १० गते कान्तिपुर ‘कोसेली’ मा प्रकाशित तीर्थबहादुर श्रेष्ठको ‘काठमाडौंका रैथाने’ शीर्षक लेखको दोस्रो भाग हो। वा, यसलाई त्यसैको ‘एडप्टेसन’ का रूपमा लिए पनि हुन्छ।

वनस्पतिविद् श्रेष्ठले आफ्नो लेखमा प्रसिद्ध अंग्रेजी लेखक रड्यार्ड किप्लिङको ‘नियोलिथिक एज’ कविताको एउटा पंक्ति उद्धृत गर्दै काठमाडौं उपत्यकाका रैथाने वन, वृक्ष र वनस्पतिबारे चर्चा गरेका छन्।

किप्लिङ बेलायती उपनिवेश बेला भारतमा जन्मेका र यतैको भूगोलबाट प्रभावित लेखक हुन्। उनका ‘जंगल बुक’ र ‘किम’ जस्ता किताब चर्चित छन्। मैले उनलाई चिनेको यिनै दुई किताबबाट हो।

उनले आजभन्दा झन्डै १२८ वर्षअघि सन् १८९३ मा लेखेको उक्त कविताले नवप्रस्तर युगबाट आधुनिक युगसम्म आइपुग्दा संसारभरि देखिएका आशालाग्दा परिवर्तनहरूको वर्णन गर्छ। त्यही क्रममा काठमाडौं उपत्यकाको जैविक विशेषतालाई बेलायतको क्यूस्थित शाही वनस्पति उद्यानसँग दाँज्दै उनले भनेका छन्, ‘क्यूको अतिरञ्जित सपना काठमाडौंको वास्तविक यथार्थ हो।’

हुनलाई यो जम्मा एक पंक्तिको वर्णन हो। तर, जसरी एक अञ्जुली पानीमा सिंगो सूर्यको प्रतिबिम्ब अटाउँछ, त्यस्तै यो एक पंक्तिमा काठमाडौंको विशाल जैविक विविधताको झलक छ।

यही पंक्ति उद्धृत गर्दै श्रेष्ठले कोसेलीमा लेखेका छन्, ‘अनुपम विश्वको वानस्पतिक वैभव समेट्ने सपना बोकेको बेलायतको राजकीय वनस्पति उद्यान ‘क्यू’ को अतिरञ्जित सपना (वाइल्डेस्ट ड्रिम) काठमाडौंको वास्तविक यथार्थ (फ्याक्ट्स अफ काठमाडौं) हो भन्ने उद्गारले यस उपत्यकाको मौलिक विशेषता उजागर गर्छ।’

म यो कुरा अहिले यस कारण सान्दर्भिक देख्छु, किनकि हामी टुँडिखेलसहित सहरका विभिन्न भागमा खुला सार्वजनिक पार्कको परिकल्पना गर्दैछौं। त्यस्ता सार्वजनिक पार्क होस् वा रिङरोड लगायत सडक छेउछाउ नयाँ वृक्ष वा वनस्पति लगाउने योजना नै किन नहोस्, वनस्पतिको छनौट महत्वपूर्ण हुन्छ। हराभरा सहरको परिकल्पनामा सम्भव भएसम्म हामीले आफ्नै रैथाने वृक्ष वा वनस्पति नै किन नलगाउने?

यही कारणले मलाई श्रेष्ठको लेख पढेपछि त्यसबारे थप कुराकानी गर्ने र दोस्रो भाग लेख्ने हुटहुटी जागेको हो। मैले सानेपास्थित उनकै घर पुगेर अनुमति मागेँ। उनले अनुमति दिएपछि हाम्रो कुराकानी सुरू भयो।

मैले उनलाई सोधेँ, ‘रड्यार्ड किप्लिङको आसय के थियो?’

‘यसको निम्ति सबभन्दा पहिला क्यू बगैंचाको महत्व बुझ्नुपर्छ,’ श्रेष्ठले भने, ‘त्यसपछि बल्ल क्यूलाई काठमाडौंसँग तुलना गर्नु किन ठूलो कुरा हो भन्ने थाहा हुन्छ।’

क्यू गार्डेन बेलायतको स्वप्न बगैंचा हो, जहाँ संसारभरका वनस्पतिको संकलन र अनुसन्धान हुन्छ।

यसको स्थापना त्यो समय भयो, जब अंग्रेजहरू आफ्नो साम्राज्यको झन्डा बोकेर संसार जित्न हिँडेका थिए। उनीहरू जुन–जुन देश पुगे, त्यहाँको भूमि, नदी, ताल, तलैया, जीव र जीवाशेषमा मात्र आफ्नो अधिकार जमाएनन्। त्यहाँ पाइने प्राकृतिक वनस्पतिहरूलाई पनि खोजी खोजी आफ्नो बनाए।

उनीहरू ती वनस्पतिका नमूना बेलायत लग्थे, अनुसन्धान गर्थे र त्यसलाई क्यू बगैंचाको शोभा बनाउँथे। आर्थिक लाभ देखिएका कतिपय वनस्पतिको व्यावसायिक खेती पनि गरिन्थ्यो, जसले अंग्रेजको ढुकुटी भर्ने काम गर्थ्यो।

जसै जसै खेती फैलियो, बेलायती साम्राज्यको सीमा महासागर र महादेश नाघेर पर पर सर्दै गयो।

अंग्रेजहरूले मलेसियामा रबर चिने, त्यसलाई श्रीलंका लगायत अरू थुप्रै औपनिवेशिक मुलुकहरूमा फैलाए।

इथियोपियाको कफी संसारलाई चिनाए।

भारतको कपासलाई कुना–कुनामा पुर्‍याए।

‘रबर क्रान्ति, कफी क्रान्ति, कपास क्रान्ति भनेको हामी सुन्छौं नि, यी सब क्यू बगैंचाको अनुसन्धानबाटै सुरू भएको हो,’ श्रेष्ठले भने, ‘क्यू बगैंचामा संसारभरिका वनस्पति जम्मा गर्ने अंग्रेजको अतिरञ्जित सपना थियो।’

‘के त्यही सपनालाई रड्यार्ड किप्लिङले काठमाडौंसँग दाँजेका हुन् त?’ मैले सोधेँ।

‘भारत आफैंमा विशाल जैविक स्रोत भएको मुलुक हो। त्यहाँ पाइने वन, वृक्ष र वनस्पतिको दाँजोमा हामीकहाँ पाइने वन, वृक्ष र वनस्पतिको तुलनै हुँदैन। तै पनि भारतमा जन्मेका कविले क्यू बगैंचालाई मध्यप्रदेशको बान्धवगढसँग दाँजेनन्। उनले चाहेका भए क्यूको अतिरञ्जित सपना बान्धवगढको वास्तविक यथार्थ हो पनि भन्न सक्थे नि! उनले त्यसो भनेका भए यो त मिल्दै मिलेन भनेर कसले भन्थ्यो? तै पनि उनले क्यूलाई काठमाडौंसँगै दाँजे।’

उनले अगाडि भने, ‘भारतको विशाल क्षेत्रफलका तुलनामा काठमाडौं बदाम बराबर हो। यही बदाम बराबरको क्षेत्रमा यति धेरै जैविक स्रोत फेला पर्नु कविलाई अकल्पनीय लाग्यो होला।’

किप्लिङले क्यू र काठमाडौंको तुलना गर्नुका पछाडि विगतमा केही पश्चिमी अन्वेषकहरूले यहाँ गरेका खोज नै मुख्य कारण हुनसक्छ।

श्रेष्ठले मलाई काठमाडौं उपत्यकाको जैविक स्रोतमाथि भएका केही खोजको फेहरिस्त सुनाए, जसले यहाँका रैथाने वृक्ष र वनस्पति संसारलाई चिनायो।

सबभन्दा ठूलो जस उनी फ्रान्सिस वाच्नानन् ह्यामिल्टनलाई दिन्छन्। यी स्कटिस अन्वेषक सन् १८०२ र १८०३ मा इस्ट इन्डिया कम्पनीको राजनीतिक मिसनअन्तर्गत नेपाल आएका थिए। उनले त्यति बेला काठमाडौं उपत्यकामा पाइने विभिन्न वनस्पतिको नमूना संकलन गरे र त्यसको विस्तृत विवरणसमेत राख्न थाले।

उनी आफू वनस्पतिविद् थिएनन्। त्यसैले नेपालमा पाइएका वृक्ष र वनस्पति कस्ता हुन् भन्ने उनलाई थाहा थिएन। उनी जे–जे भेट्थे, त्यसको नाम र नमूना बेलायती प्रयोगशालालाई बुझाउँथे। त्यहाँ विषयगत विज्ञहरूबाट ती नमूनामाथि जाँच–पड्ताल हुन्थ्यो।

यो अनुसन्धानपछि बल्ल थाहा भयो, ह्यामिल्टनले यहाँ भेटेका धेरै वनस्पति विज्ञानले चिनेकै थिएन।

त्यति बेला काठमाडौं उपत्यकामा मात्र संसारले नचिनेका लगभग दुई सय नयाँ प्रजाति पत्ता लागेको श्रेष्ठ बताउँछन्, ‘स्वयम्भू डाँडामै २७ वटा नयाँ प्रजाति फेला परेको रेकर्ड छ, अन्तको कुरै छाडौं।’

नेपालको प्राकृतिक स्रोत अन्वेषण गर्नेमा ह्यामिल्टनपछि डेनिस वनस्पतिविद् डा. नाथानिल वालिचको नाम आउँछ।

उनी ह्यामिल्टनको खोजबाट अत्यन्तै प्रभावित थिए। कलकत्ता बोटानिकल गार्डेनको सुपरिटेन्डेन्ट भएर भारत आएका बेला उनी सन् १८२० तिर नेपाल छिरे। प्राकृतिक इतिहासका ज्ञाता डा. वालिचको नेपाल अध्ययन अझ गहन रह्यो। यसअघि ह्यामिल्टनले नमूना संकलन गरेर पठाउने काम मात्र गर्थे, वालिचले भने त्यसको अध्ययन, वर्णन र प्रकाशनसम्म आफैंले गरे।

सन् १८४८ मा डाल्टन हुकरको नेपाल सर्वेक्षण पनि पश्चिमी संसारको निम्ति यहाँको जैविक विविधता चिन्ने अर्को महत्वपूर्ण आँखीझ्याल बन्यो।

यिनै आँखीझ्यालबाट काठमाडौं चियाएर हेरेका लेखक रड्यार्ड किप्लिङ यहाँको प्राकृतिक स्रोतबाट यति रोमाञ्चित भएछन्, उनलाई क्यू बगैंचाको ‘अतिरञ्जित सपना’ काठमाडौंको ‘वास्तविक यथार्थ’ हो भन्न कर लाग्यो।

पश्चिमी अन्वेषकहरूले काठमाडौंमा मात्र पाइन्छ भनी पत्ता लगाएका वनस्पति के–के हुन् त?

मेरो यो प्रश्नमा श्रेष्ठले केही नाउँ टिपाए — लप्सी, चिलाउने, लाँकुरी, मुसुरे कटुस, उत्तिस, पैयुँ, काफल, मयल, वनचाँप, अंगेरी, पुवाँले, रानीसल्ला, रातो शिरीष, बकैनो, सिमल, ओखर, हाडेबयर।

यो त उनले मसँग कुरा गर्दागर्दै सम्झेका नाम मात्र हुन्। रैथाने वनस्पति प्रवर्द्धन गर्न खोजीनीति गर्ने हो भने उनी पनि खोजीनीति गरेर यस्ता दसौं दर्जन नाउँ टिपाउन सक्छन्।

‘अहिले पनि काठमाडौंबाट लगिएका यी वनस्पतिका नमूना बेलायती संग्रहालय र क्यू बगैंचामा सुरक्षित छन्,’ श्रेष्ठले भने, ‘ह्यामिल्टनले नदेख्दासम्म संसारलाई लप्सी भनेको थाहा थिएन, चिलाउने भनेको थाहा थिएन, लाँकुरी भनेको पनि थाहा थिएन। जबकि काठमाडौं उपत्यकाका डाँडाकाँडामा यी सबै वनस्पति मज्जाले फुल्थे।’

संसारमै पहिलोपल्ट नेपालमा फेला परेका यस्ता थुप्रै वनस्पतिको वैज्ञानिक नामकरण रैथाने नामबाटै भएका छन्।

श्रेष्ठले केही उदाहरण सुनाए।

ह्यामिल्टनले काठमाडौं वरपरका जंगलमा सानो खालको नासपाती पत्ता लगाएका थिए, जसलाई नेपालीमा ‘मयल नासपाती’ भनिन्छ। फागुन–चैतमा सेताम्मे फुल्ने र असोज–कात्तिकमा लटरम्म फल्ने यो फल नेवारहरूको भाइटीकामा नभई हुँदैन। नेवार भाषामा यसको नाम ‘पासी’ हो। यही रैथाने नामबाट प्रभावित भएर ह्यामिल्टनले मयल नासपातीलाई ‘पाइरस पासिया’ का रूपमा संसारभरि चिनाए।

उनै ह्यामिल्टन पक्कै पनि चैत–वैशाख महिनामा यहाँका वनजंगल घुमे होलान्। हाम्रो आँखाको ठूलोनानीजत्रो रातो फलले वनै राताम्मे देखेर उनी रोमाञ्चित भए होलान्। त्यसमाथि जंगलका चराहरूले ‘काफल पाक्यो, काफल पाक्यो’ भन्दै गुँडबाट टाढा गएका आफ्ना माउलाई पुकारेको सुन्दा त उनको आश्चर्यको सीमा रहेन होला।

उनले आफूसँगै जंगल गएका साथीलाई सोधे होलान्, ‘के भन्छ यो चरा?’

साथीले भन्यो होला, ‘काफल पाक्यो भन्छ।’

‘काफल?’

त्यो साथी सायद यहाँको रैथाने नेवार थियो, उसले बुझायो होला, ‘हामी कोःबसी भन्छौं, अर्थात् कागको फल।’

संसारमा कतै नदेखेको फल भेट्टाएर पुलकित ह्यामिल्टनले यही ‘कोःबसी’ बाट प्रभावित भएर वैज्ञानिक नाम फुराए होलान्– कोबोसिया।

यी पश्चिमी अन्वेषकले असोज–कात्तिकमा काठमाडौंको वनैभरि ढकमक्क फुल्ने गुलाबी रङको फूल पनि देखे होलान्, जसलाई स्थानीय नेवारहरू ‘लुकुली स्वाँ’ भन्छन्। नयाँ प्रजातिको फूल देखेर चकित खाएका ह्यामिल्टनले यसलाई ‘मुसुन्डे लुकुलिया’ भनी न्वारन गरे।

लोक्ताकै कुरा गरौं न। नेपाली हातेकागज बन्ने यो वनस्पतिलाई नेवार भाषामा ‘भोँलु स्वाँ’ भनिन्छ। ‘भोँ’ भनेको कागज हो। यो काठमाडौं उपत्यका वरपरका वनजंगलमा मात्र होइन, २ हजार ९ सय मिटरसम्मको उचाइका भू–भागमा पाइन्छ। तर, वनस्पति विज्ञानले पहिलोपल्ट काठमाडौंमै देखेकाले यसको वैज्ञानिक नाम नेवार भाषाबाट प्रभावित भएर ‘डाफ्ने भोलुवा’ राखियो।

नेवार समुदायले मनाउने पाँचह्रे जात्रामा प्रयोग हुने ‘उराल स्वाँ’ अर्को उदाहरण हो। शिवपुरी, नागार्जुन र फूल्चोकी क्षेत्रमा लगभग एक मिटर अग्लो झाडीमा लटरम्म फुल्ने यो फूलको वैज्ञानिक नाम रैथाने नेवार भाषाबाटै सापट लिइएको छ– हाइपेरिकम उरालम।

काठमाडौंमा सुनाखरी प्रजातिको एउटा भुइँफूल हुन्छ, जसलाई वैज्ञानिक भाषामा ‘अर्किस छुसुवा’ भनिन्छ। यो नाम कसरी रह्यो भन्नेबारे श्रेष्ठले रोचक प्रसंग सुनाए।

ह्यामिल्टनले नमूना संकलन गर्दा जुन नेवार साथीसँग त्यसको नाम सोधे, उसलाई नाम थाहा रहेनछ।

त्यो साथीले आफूलाई थाहा नभएकाले ‘छु स्वाँ छु स्वाँ’ भनेर जवाफ दिएछ। नेवारीमा यसको अर्थ हुन्छ– ‘के फूल के फूल’।

ह्यामिल्टनलाई भने हो न हो, त्यसको नामै ‘छु स्वाँ’ हो कि भन्ने परेछ।

‘रैथाने नाम मात्र होइन, हुँदै नभएको नाम पनि वनस्पति विज्ञानमा प्रयोग भएको छ,’ श्रेष्ठले हाँँसो गरे र अगाडि भन्दै गए।

काठमाडौंका यी रैथाने वनस्पतिलाई पछिल्लो समय हाम्रै वन र बगैंचाले चिन्न छाडिसकेछन्। विदेशबाट ल्याइएका प्रजातिले रैथानेलाई धकेल्दै धकेल्दै उनीहरूकै ठाउँबाट हुत्याइदिन आँटिसकेछन्।

अर्काको ठाउँ ओगट्न र मिच्नमा त मान्छे र वनस्पति उस्ताउस्तै पो!

काठमाडौंका रैथाने मास्नेमा ज्याकारान्डा, धुपी, युकालिप्टस, कल्की, बर्मेली सल्लो, काँडेसल्ला, जिंको बाइलोबा सबभन्दा बेसी छन्। उत्तरी र दक्षिणी अमेरिका, युरोप तथा अफ्रिकाबाट ल्याइएका यी वनस्पतिकै सहरमा बढ्ता शोभा छ। यस्ता मिचाहा जातिलाई श्रेष्ठ ‘एक्जोटिक’ वनस्पति भन्छन्।

उनका अनुसार, काठमाडौंका बगैंचामा पाइने ९५ प्रतिशत फूलका बिरुवा रैथाने होइनन्। रैथानेलाई हुत्याएर ठाउँ ओगट्न आएका विदेशी मिचाहा हुन्। तिनीहरू काठमाडौं छिरेको रूट हेर्ने हो भने ‘हाई क्लास’ कै टिकट काटेको देखिन्छ। राणाहरूका दरबार सिँगार्न आइपुगेका ती वनस्पतिले विस्तारै विस्तारै हाम्रो सहरमा कब्जा जमाएका रहेछन्। कति त यहाँ हुर्कन–बढ्न थालेकै सय–डेढ वर्ष नाघिसक्यो। आफ्नो आँखाअगाडि देख्दादेख्दै हामीलाई को आफ्नो को पराई छुट्टयाउनधरि मुश्किल पर्छ।

श्रेष्ठका आँखा भने यो फरक छुट्टयाउन सिपालु छन्। त्यसैले त, देखादेखी रैथाने मासिएकोमा उनी दिक्दार मान्छन्।

‘रड्यार्ड किप्लिङले काठमाडौंको जुन प्राकृतिक स्रोत देखेर बेलायतको क्यू बगैंचासँग दाँजेका थिए, त्यसलाई हामी आफैंले निर्ममताका साथ मास्यौं,’ उनले भन्दै गए, ‘आजको काठमाडौंमा क्यूको अतिरञ्जित सपना यथार्थमा परिणत हुँदैन। त्यसलाई जीवित राख्ने हो भने हामीले आफ्ना रैथाने वनस्पतिहरूलाई प्राथमिकता दिएर भरणपोषण गर्नुपर्छ।’

सुरूआत हामी उपत्यका वरिपरिका डाँडाकाँडामा लोप भइसकेका रैथाने जाति पुनर्स्थापनाबाट गर्न सक्छौं। त्यसपछि टुँडिखेल लगायत हामीले खुला पार्कको परिकल्पना गरेका ठाउँ र सडक छेउछाउ पनि रैथाने वृक्ष र वनस्पतिहरू रोप्न सकिन्छ।

‘यहाँका हरेक डाँडाकाँडाको यस्तै वानस्पतिक महत्व छ। सहरभित्र पनि रैथाने वनस्पतिहरू उमारेर स–साना वाटिका बनाउन सकिन्छ,’ श्रेष्ठले भने।

कल्पना गर्नुस् त!

फूल्चोकी डाँडामा गुलाबी रङको लुकुली स्वाँ ढकमक्क छ। नागार्जुनमा हाम्रो पासी सेताम्मे फुलेको छ। कहीँ भोलु स्वाँ, कहीँ हराभरा ‘उराल स्वाँ।

हामीले परिकल्पना गरेको टुँडिखेल पार्क पनि रैथाने मसलाको बोट, काइँयोको बोट, कपुरको बोट, वरपिपल, लहरेपिपलले हराभरा भएको देख्न पाए कम्ता रमाइलो हुन्थ्यो! त्यस्तै रैथाने वृक्ष र वनस्पतिहरूले हाम्रो सडकको शोभा बढाए कस्तो हुन्थ्यो!

हुनलाई त किप्लिङले जम्मा एक पंक्तिमा काठमाडौंको विशेषता वर्णन गरेका हुन्। तर, जसरी एक अञ्जुली पानीमा सिंगो सूर्यको प्रतिबिम्ब अटाउँछ, त्यस्तै त्यो एक पंक्तिमा काठमाडौंको विशाल जैविक विविधताको झलक छ।

त्यो विशेषता कायम राख्ने कि खेर फाल्ने, त्यो जिम्मा चाहिँ अब हाम्रै!

Related Articles

Back to top button
Close