News

सप्तरीमा कोरोनाकाे जस्तै लक्षण देखिएका ३ जनाको मृत्यु

सप्तरीमा कोरोनाभाइरसकाे जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ।

मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जना र छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो।

जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा ४५ दिन पहिले मलेसियाबाट आएका ४५ वर्षीय पुरुषलाई मंगलबार एक्कासी ज्वरो आएको र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो।

त्यहाँ उनको उपचार सम्भव नभएपछि धरान पठाइएकोमा मंगलबार राति नै बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए।

छिन्नमस्तामा मृत्यु भएका दुई जनामध्ये एक जनाको शव अस्पतालमै छ। अर्का एकजनाको शव अस्पतालले परिवारको जिम्मा लगाएको थियाे।

काेराेनासँग मिल्दाे लक्षण देखिएर मृत्यु भएका उनकाे परिवारले घर लगेकाे शवबारे अस्पतालले स्थानीय प्रशासनलाई खबर गरेपछि अहिले प्रहरीले नियन्त्रणमा राखेको छ।

मृतक तीनै जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए।

Related Articles

Back to top button
Close