News

पर्सामा १८ वर्षीया किशोरीमा मृत्युपछि कोरोना पुष्टि

आइतबार मृत्यु भएकी पर्सा पोखरियाकी १८ वर्षीया किशोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उनमा मृत्युपछि कोरोना पुष्टि भएको नेसनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसेनले जानकारी दिए।

उनलाई आइतबार राति साढे चार बजे पोखरिया अस्पतालबाट नेसनल मेडिकल कलेज रिफर गरिएको थियो।

डा. हुसेनले भने, ‘उहाँलाई वान्ताको समस्या भएपछि पोखरिया अस्पतालले गम्भिर अवस्थामा यहाँ रिफर गरिदिनुभएको थियो तर उहाँलाई हामीले ‘ब्रट देथ’ अर्थात ल्याउँदा ल्याउँदै मृत्यु भएको घोषणा गर्यौं।’

मृत्यु भएपछि स्थानीय प्रशासनले अस्पताललाई किशोरी कोभिडको शंकास्पद हुन् भन्ने खबर आएपछि उनको शव अस्पतालमै राखेर कोरोना परीक्षण गर्न स्वाब पठाइएको थियो।

डा. हुसेनले मंगलबार राति किशोरीमा संक्रमण पोजेटिभ देखिएको बताए।

किशोरीलाई अस्पताल ल्याएका कुरुवाले भने उनमा पहिले कुनै पनि रोग नभएको जानकारी गराएका छन्।

युवतीको ट्राभल हिस्ट्री विवरण भने खुल्न बाँकी छ।

अहिले किशोरीको शव व्यवस्थापनका लागि अस्पतालले सेनालाई खबर गरिसकेको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ।

Related Articles

Back to top button
Close