News

सडकसीमा मिचेर बनाइएका कालिकापथ सडकका घर डोजर लगाएर भत्काइयो

बुटवलको वडा नं ११ योगिकुटी देखि वडा नं ६ को कृषि थोक बजार उपजकेन्द्रसम्म निर्माणाधीन रहेको कालिकापथ सडक विस्तारको क्रममा अवरोध गरिएका घरहरू बुधबार बिहानै भत्काइएको छ ।

घरधनीले सडक सीमा मिचेर घर संरचना निर्माण गरेको भन्दै घरहरू भत्काइएको उपमहानगरपालिकाले जनाएको छ।

बुधबार बिहान ६ बजे नै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालको घर भत्काइएको उपमहानगरपालिकाले बताएको छ। वडा नम्बर ९ मा रहेको हमालको घर स्थानीय घर धनीहरुले भत्काउदा पनि भत्काइएको थिएन।

बुटवलको उज्यालो क्षेत्र र रात्रिकालीन समयमा समेत व्यवसायको प्रमूख केन्द्र बनाउने उद्देश्यका साथ विस्तार सूरु गरिएको कालिका पथ सडक निर्माण कार्य पछिल्लो केही महिनादेखि रोकिएको थियो।

उक्त कार्यको अगुवाइ समेत बुटवल उद्योग वाणिज्य संघकै अध्यक्ष हमालले गरेका थिए।

बुटवल उपमहानगरपालिकाको नालि विस्तारका लागि विनियोजित वजेट र प्रदेश सरकारको ६ लेनमा चौडा गर्नका लागि विनियोजन गरेको वजेटबाट निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरू गरिएको उक्त निर्माण कार्य रोक्न भन्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष अदालत गएपछि निर्माण कार्य रोकिने अवस्थामा पुगेको थियो।

उपमहानगरपालिकाको ९ र ११ नं वडा भएर उत्तर दक्षिण निर्माण हुने उक्त सडक विस्तारमा वडा नं ९ मा रहेका सडक किनारका सबै बासिन्दाले घर टहरा तथा पर्खाल भत्काएको भएपनि हमालले मात्र अटेर गर्दै आएका थिए।

बिहानै ठूलो संख्यामा प्रहरी सहित पुगेको बुटवल उपमहानगरपालिकाको डोजरले उक्त घर भत्काएको हो ।

हमालले सडकमा पर्ने आफ्नो घर नभत्काएका कारण उनकै घर छेउमा आएर नाली निर्माण कार्य अवरुद्ध भएको थियो। हमाल अहिले सडक निर्माण रोक्ने उदेश्यले सर्वोच्च अदालत गएका छन।

हमालले आफुले बुटवल उपमहानगरपालिकामा आफुले कालिका पथ सडक किनारमा घर बनाउदा ५० फुटमा घर बनाउने अनुमति पाएको र सोही बमोजिम नक्सा पास गरेकोले नगरपालिकाले ८२ फुट सडक बनाउँदा आफ्नो निजी सम्पति हानी नोक्सानी हुने भन्दै उक्त कार्य रोक्न अन्तरिम आदेश माग गर्दै अदालत गएपनि अदालतले हमालको माग बमोजिमको आदेश भने दिएन।

त्यस्तै वडा नम्बर ११ योगिकुटीका नेत्र भण्डारी, चुन्नुप्रसाद पौडेल, खेमराज भुसाल र रोशनी पाण्डे, राधिका पौडेल, कमल मालपानी, कृष्ण पाठक, गणेश रिजाल, पुरण भण्डारी, अमृत भण्डारी, जोगमाया चापागाईं र ईन्द्र चापागाईले पनि घर सडकमा परेका संरचना नभत्काएको वडा कार्यालयले जनाएको छ। ती संरचना पनि भत्काइने उपमहानगरपालिकाले जनाएको छ।

यसअघि ०५४ सालमा यो सडकलाई ८२ फुटको कायम गर्नेगरी तत्कालिन बुटवल नगरपालिकाले तयारी गरेपनी केही घरधनीले सडक विस्तारमा अवरोध सिर्जना गरेकाले काम सुरू हुन सकेको थिएन।

Related Articles

Back to top button
Close