News

जब पत्रकारमाथि किन अभद्र व्यवहार भन्दै स्थानीय आक्रोशित भए

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रुपन्देहीको सालझण्डी चोकमा बा२झ १८७३ नम्बरको सरकारी हाईलक्स पिकअप गाडीको सिट र फ्लोरिङसमेत ओल्टाइपल्टाइ खानतलासी हुँदै थियो।

केही सुरक्षाकर्मी हतियारसहित नजिकै उभिएका थिए भने केहीले गाडीभित्रै बसेर खानतलासी गर्दै थिए।

सोमबार मध्याह्न पौने १२ बजेतिर हामी त्यहाँ पुग्दा उक्त गाडी रोकेर खानतलासी सुरू गरेको लामो समय भएजस्तो देखिँदैन थियो। गाडीबाट सेतो सर्ट लगाएका एक अधवैंशे पुरुष हातमा ल्यापटप छोपेर बाहिर निस्किँदै थिए। तीन-चार जना सादा पोसाकमा गाडी खानतलासीमै व्यस्त थिए।

बजार आसपासका स्थानीय घटना देखेर जुट्दै थिए। तर कसैलाई पनि के भइरहेको छ भन्ने जानकारी थिएन।

हामी त्यति बेला रिपोर्टिङका लागि कपिलवस्तुको सर्पदंश उपचार केन्द्र गोरुसिंगे जाँदै थियौं। राजमार्गको चोकमा सरकारी गाडीलाई सुरक्षाकर्मीले खानतलासी गरेको दृश्यले हाम्रो ध्यान तान्यो।

पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे र अरू दुई जना साथीहरू सँगै हुनुहुन्थ्यो। हामी रोकियौं। त्यति बेलासम्म ४०-५० जना स्थानीय जुटिसकेका थिए।

म क्यामरा हातमा लिएर गाडी खानतलासी भएको स्थानमा पुगेँ। गाडीको पछाडि खुल्ला डिक्कीमा केही थान बिरुवा थिए। पछाडिको चक्कानिरै एकजोडी हाँस बोराभित्र राखिएका थिए। बोरा बाहिर निकालिएको हाँसको ठुँडले पानी खोजिरहेको थियो।

त्यो दृश्य हेर्दा ती हाँसले लामो समयदेखि पानी खान नपाएको बुझ्न सकिन्थ्यो। एक जना नेपाली सेनाका अधिकृतले बोतलको पानी खुवाउन खोज्दै थिए, तर तराई क्षेत्रको मध्यदिनको चर्को गर्मीका कारण लत्राकलुत्रुक परेका हाँसको मुखमा भन्दा पानी भुइँमा पोखियो।

हामीले खानतलासी भइरहेको गाडी कसको हो भन्ने बुझ्ने प्रयास गरेपछि भिडबाटै कसैले बाँके राष्ट्रिय निकुञ्जको गाडी भएको बतायो। निकुञ्जको गाडीमा ओसारपसार गर्न निषेध गरिएको कुनै वस्तु वा लागुऔषध लुकाइएको हो कि भन्ने शंकामा मैले क्यामराले भिडियो खिच्न थालेँ।

स्थानीय केही व्यक्तिहरूले पनि मोबाइलमा भिडियो खिच्दै थिए। कतिपयले सरकारी नम्बर प्लेट राखेर हतियार ओसारपसार त भएको छैन भन्ने शंका गरिरहेका थिए। सार्वजनिक सडक, बजारको मुख्य चोक र सरकारी गाडी सुरक्षाकर्मीबाटै खानतलासी भइरहँदा स्थानीयले घटनाबारे थाहा पाउन खोज्नु अस्वाभाविक थिएन।

सुरक्षाकर्मीहरूले धमाधम गाडीमा भएका झोला पालैपालो सडक किनारको प्रहरी बिटमा लगिरहेका थिए। मैले यही दृश्य क्यामराले खिचिरहेकी थिएँ, एक्कासि कालो चस्मा र मास्क लगाएको एक जना व्यक्ति भिडियो नखिच्न भन्दै मेरो क्यामरा झम्टिन आइपुगे। मैले परिचयपत्र देखाउँदै ‘म पत्रकार हुँ तर तपाईं मेरो क्यामरा खोस्ने को हो’ भनेर सोधिरहेकी थिएँ।

क्यामराको लेन्स ती व्यक्तिले तानिरहेका थिए भने मैले पनि दह्रो गरी छोपेकी थिएँ। मैले आफ्नो परिचय बताइरहे पनि सार्वजनिक स्थानमा सरकारी गाडीमाथि भइरहेको खानतलासीको दृश्य खिच्न र जान्न पाउने हक खोसिँदै थियो।

उनले क्यामरा खोस्न प्रयत्न गर्ने र मैले क्यामरा सुरक्षा गर्ने क्रम लामो समय चलिरह्यो। तर क्यामरा खोस्न खोज्नेले आफ्नो परिचय दिएनन्।

उनले मेरो क्यामरा तान्दै गरेको भिडियो स्थानीयसँगै पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डेले समेत खिच्दै हुनुहुन्थ्यो। उनले त्यो देख्नासाथ पाण्डेसँगको मोबाइल पनि खोसेर लगे।

हामीमाथिको ज्यादती हेरिरहेका स्थानीयवासी पत्रकारमाथि किन यस्तो अभद्र व्यवहार भन्दै आक्रोशमा आए। स्थानीय आक्रोशित भएपछि क्यामरा तानिरहेका ती व्यक्ति क्यामरा छाडेर पछाडि हटे।

उनले क्यामरा तान्न छाडे पनि कब्जामा लिएको मोबाइल तत्काल फिर्ता गरेनन्। मोबाइल नदिई हिँड्न लागेका उनको पटक-पटक परिचय माग्यौं तर आफ्नो परिचय दिएनन्। बरू उपाध्यक्ष पाण्डेलाई धकेलेर गाडी चढ्न खोजे।

सार्वजनिक स्थानमा के भइरहेको छ र त्यो कसले गरिरहेको छ भन्ने थाहा पाउनुपर्छ भन्ने मेरो बुझाइ हो। मैले थाहा नपाएसम्म नागरिकलाई कसरी सूचना दिने? तर म त्यहाँ के भइरहेको छ र अचानक यस्तो परिस्थिति कसरी उत्पन्न भयो अन्यौलमै थिएँ।

त्यसैबीच घटनास्थलमा देखिएका इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारलाई हामीमाथि गरिएको खेदजनक व्यवहारको जवाफ तपाईंले दिनुपर्छ भन्यौं।

कालो चस्मा र मास्क लगाएर खानतलासी गरिरहेका ती व्यक्ति अख्तियारबाट खटिएका प्रहरी अधिकृत रहेछन् भन्ने प्रहरीबाटै थाहा भयो। उनले यो कुरा पहिल्यै खुलाएर हामीलाई उक्त दृश्य नखिचिदिन अनुरोध गर्न सक्थे। तर, उनी ठाडै हाम्रो क्यामरा झम्टिन आए र आफ्नो परिचय पनि दिएनन्।

एक त त्यसरी क्यामरा झम्टिनु नै गलत थियो, अर्को सञ्चारकर्मीलाई परिचय दिन नहुने कस्तो अपरेसन थियो त्यो!

अख्तियार मात्र होइन, प्रहरीले समेत छानबिन र अनुसन्धान गरिरहेका कतिपय गम्भीर घटनाबारे समाचार सार्वजनिक गर्दा अनुसन्धानमा प्रभाव पर्छ भन्ने कुरा एउटा पत्रकारलाई पनि जानकारी भएकै कुरा हो। तर, यो खानतलासी र अनुसन्धान कुनै कार्यालयको कोठाभित्र, व्यक्तिको घरभित्र वा गोप्य स्थानमा गरिएको थिएन। खानतलासी भइरहेको ठाउँबाट सय मिटर दुरीमा इलाका प्रहरी कार्यालय छ, तर त्यो खानतलासी सार्वजनिक सडक, बजारको मुख्य चोक र सर्वसाधारणको भिडको बीचमा गरिएको थियो।

त्यसैले अख्तियारका ती अधिकृतलाई मेरो प्रश्न छ- मैले खिचेको भिडियोले खानतलासी र अनुसन्धानमा कहाँ बाधा पुर्याएको थियो?

Related Articles

Back to top button
Close