News

आफ्ना मतदातालाई मास्क लगाउन गगन थापाको अपील, घरघरमा मास्क पठाउँदै

लकडाउन खुलेपछि देशैभरि चहलपहल बढेको छ।

पट्यारलाग्दो लकडाउन खुलेपछि मानिसहरू घरबाहिर निस्केका छन्, जसले भीडभाड भएको छ।

ठूला सहर अझै कोरोनाभाइरस संक्रमणको जोखिममा छन्। मानिसले मास्कको प्रयोग राम्रोसँग गरेका छैनन्। सरकारले मास्क नलगाई बाहिर निस्कनेलाई १०० रुपैयाँ जरिवाना तिराइरहेको छ।

मास्क नलगाउने कतिलाई यसको महत्व थाहा छैन कतिले हेलचक्रयाइँ गरिरहेका छन्।

काठमाडौं क्षेत्र नम्बर-४ का सांसद गगन थापाले भने मास्क लगाउन आग्रह गर्दै मतदाताका घरघरमा अपिल पत्र पठाउन थालेका छन्।

प्रत्येक घरका लागि १० थान मास्क र सुरक्षित स्वास्थ्य व्यवहार अपनाउन एक पन्नाको अपिल पठाएका हुन्।

‘लकडाउन खुलेपछि काठमाडौंमा झन् कोरोनाको जोखिम बढेको छ,’ सांसद थापाले भने, ‘सरकारले आफ्नो ठाउँमा काम गरिरहेको छ, गर्ला पनि। तर सुरक्षित स्वास्थ्य व्यवहारका लागि आफैंले ध्यान दिनुपर्छ भन्ने कुरा अपिलमा लेखेको छु।’

मास्क लगाउने, साबुन पानीले पटक-पटक हात धुने, सेनिटाइजर प्रयोग गर्नेजस्ता कुरा सरकारलाई देखाउनका निम्ति नभएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न उनले निर्वाचन क्षेत्रका जनतालाई आग्रह गरेका हुन्।

‘राजधानीमै बसोबास गर्ने एक परिवारलाई १० वटा मास्क ठूलो कुरा होइन,’ उनले भने, ‘सुरक्षित स्वास्थ्य व्यवहारलाई प्रोत्साहित गर्छ कि भन्ने अपेक्षासहित सुरूवात गरिएको यो एउटा अभियानजस्तै हो।’

आफ्नो सचिवालय, मानव स्वास्थ्य नामको संस्था, साथीभाइलगायतले मास्क खरिदमा सहयोग गरेको थापाले बताए।

‘मास्क जुटाउन त्यति गाह्रो भएन। तर घरघरमा कसरी पुर्‍याउने भन्ने चुनौती रह्यो,’ थापाले भने, ‘प्रत्येक टोलमा रहेको पार्टीको टोल समितिमार्फत् सम्बन्धित टोलका घरमा मास्क र अपिल पठाएका हौं।’

हुलहुज्जत नगरी सामाजिक दूरी कायम गरेर घरघरमा मास्क पुर्‍याइएको उनले जानकारी दिए।

‘यो क्षेत्रमा ३० हजारभन्दा बढी घर छन्। अब एक साताभित्र सबैको घरमा मास्क पुर्‍याइसक्छौं,’ उनले भने, ‘पाँच दिनदेखि साथीहरूले मास्क घरघरमा पुर्‍याइरहनु भएको छ। आज पनि त्यो काम जारी नै छ।’

मास्कसँगै पठाइएको अपिल मानिसहरूले पढेकोले यो अभियान सफल भएको पनि उनले बताए।

‘मास्कको अनिवार्य प्रयोग किन गर्ने? घरबाहिर जाँदा अनिवार्य मास्क प्रयोग गर्नुहोस् भन्ने अपिल गरेका हौं,’ उनले भने, ‘साबुनपानीले हात धुने र कुनै समस्या भए तुरून्तै उपचारका लागि स्वास्थ्य संस्था जान भनेका छौं।’

कोरोना संक्रमण फैलिएको खण्डमा फेरि लकडाउन गर्न पर्ने अवस्था आउन सक्ने र त्यस्तो बेला केही अप्ठेरो परे सम्पर्क गर्न आफ्नो र सचिवालयका साथीहरूको नम्बरसमेत अपिलपत्रमा उल्लेख गरेको थापाले जानकारी दिए।

थापाका अनुसार नेपालमा कोरोना संक्रमण देखिएको पहिलो साता निर्वाचन क्षेत्रका सबै स्वास्थ्य संस्थामा थर्ममिटरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराइएको थियो।

स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन नगर्दा जोखिम बढेको भन्दै यो अभियानले संयम र सतर्कता अपनाउन सन्देश दिएको उनले बताए।

Related Articles

Back to top button
Close