Intresting

हुम्लालाई नेपालसँग जोड्ने पत्रकार

आइतबार बिहानै एउटा समाचारले बिथोल्यो- ‘हुम्लाका पत्रकार जयबहादुर रोकाया रहेनन्।’

फोटो पत्रकार विकास रौनियार र अर्का पत्रकार कसमस विश्वकर्माका पोष्टहरू सामाजिक सञ्जालमा देखिए। कुनै समय हामी सबै ‘कान्तिपुर’ मा आबद्ध थियौं। मैले तत्काल सामाजिक सञ्जालमै दुःख प्रकट गरेँ। त्यतिले चित्त बुझेन। हुम्ला फोन गरेँ।

पक्षघातका कारण ६६ वर्षको उमेरमा शनिबार सिमकोटस्थित घरमै उनको निधन भएको रहेछ। सिमकोटबाट दुई घन्टा परको खार्पु दोभानमा आइतबार बिहानै अन्त्येष्टि पनि भइसकेको जानकारी पाइयो।

नेपालमा दुर्गम भेगबाट गरिने पत्रकारिताको अग्रपंक्तिका योद्धा थिए, जयबहादुर।

करिब २५ वर्षअघि म वीरगन्जबाट कान्तिपुरको डेस्कमा काम गर्ने गरी सरुवा भई काठमाडौं आइपुगेको थिएँ। त्यसअघि म आफैं पनि जिल्लाको संवाददाता थिएँ भने अब चाहिँ मेरो जिम्मेवारी पहिले मैले पठाउनेजस्तै जिल्लाबाट आउने समाचारहरूको व्यवस्थापन गर्नु थियो।

हिजोआजजस्तो कम्प्युटरमा टाइप गरेर इमेलबाटै सर्लक्क मिलेका समाचार आउने त कल्पनाभन्दा परको कुरा थियो। सहर बजारका संवाददाताले लेखेका समाचार फ्याक्सबाट पठाउँथे। त्यो नै अत्याधुनिक मानिन्थ्यो। कतिपयले ताजा समाचारका निम्ति टेलिफोन गर्थे। नत्र अधिकांश समाचारको स्रोत कुरियर सर्भिस हुन्थ्यो।

हाम्रो कामै त्यस्ता कुरियरबाट आएका खाम खोल्ने, अनेक बान्कीका अक्षर झेल्ने, समाचार सम्पादन गर्ने र कम्प्युटर कोठामा पठाउने हुन्थ्यो। दिनभरि आएका समाचार टाइप भइसकेपछि बेलुकी फेरि त्यही कम्प्युटर कोठामा जानुपर्थ्यो। त्यहाँ ‘पेजमेकर’ मा अखबारका पाना तयार गरेपछि हाम्रो काम फत्ते हुन्थ्यो। हरेक दिन यसरी नै चल्थ्यो।

यी माथि उल्लेख गरिएका बाहेक अर्को एउटा माध्यमबाट पनि प्रायः समाचार आइरहन्थे। त्यो थियो, हुलाक सेवा विभागबाट आउने समाचार। त्यस्ता समाचार एकदमै बेग्लै हुन्थे। एक हिसाबले बेग्लै ग्रहबाट आएको समाचारजस्तो।

ती समाचार बोकेर आउने खाम नै हप्तौं वा महिनौं लगाएर काठमाडौंसम्म आइपुगेका हुन्थे। देख्दै दिक्कलाग्दो गरी कच्याककुचुक्क परेका। खोलेपछि पनि त्यसभित्रका समाचार झेल्नु अर्को महाभारत।

प्रायः दुर्गम भेगका समाचार बोकेर आउने त्यस्ता खामभित्र लेखिएका अक्षरदेखि सन्दर्भसम्म बुझ्न पनि कतिपय बेला गाह्रो हुन्थ्यो। बुझिहाल्यो भने पनि त्यसले अखबारका अघिल्ला पाना वा मोटो अक्षरका हेडलाइनमा विरलै ठाउँ भेट्थ्यो। त्यसैले ती खासै चासोमा पर्थेनन्।

यो सबको परिणाममा एक त त्यस्ता समाचार कमै छापिन्थे भने ती संवाददाता (स्ट्रिङ्गर) हरूले समाचार लेखेर पाउने पारिश्रमिक पनि असाध्यै झिनो हुन्थ्यो। उनीहरू वर्ष–दुई वर्षमा एकपटक काठमाडौं आउँथे। पुस्तकालयमा आफ्ना कुन कुन समाचार छापिए भनेर खोजी गर्थे। निधार खुम्च्याउँथे। र, थोरै भए पनि जे जति रकम छ बुझेर जान्थे। तै पनि उनीहरूले अटुट रूपमा काम गर्न छाड्थेनन्। आफ्नो संघर्षलाई बढाइरहेकै हुन्थे।

दुर्गमका यस्तै जब्बर संवाददाताहरूमध्ये एक थिए, हुम्लाका जयबहादुर रोकाया।

‘मानिस भीरबाट लडेको’, ‘खाद्य संस्थानले बाँडेका चामल कुहिएको’, ‘स्कुलमा महिनौंदेखि शिक्षक नभएको’, ‘स्कुलको भवनभित्रै भट्टी थापिएको’, ‘विदामा गएको डाक्टर फर्केर नआएको’, ‘उपचारको जिम्मेवारी झाँक्रीहरूले सम्हालेको’, ‘मन्दिर बनाउने पैसा हिनामिना गरेको’ … प्रायः यी र यस्ता समाचार नै बढी हुन्थे।

हुम्लीहरूले विकासको गतिविधि देख्न थालेकै सन् १९९३ पछि हो भनेर जयबहादुर सुनाउँथे। सिमकोटदेखि हिल्सा जोड्ने बाटो निम्ति भएका प्रयास अर्थ्याउनेदेखि त्यसैसँग जोडिएको ‘कामका लागि खाद्यान्न कार्यक्रम’ का थुप्रै गतिविधि उनका समाचारका हिस्सा हुन्थे। त्यो बाटोको ट्रयाक खुलेसँगै सिमकोट भएर कैलाश मानसरोवर जाने पर्यटक आउन थालेको बताउने जयबहादुरले त्यस्ता पर्यटकका समाचार पनि पठाउँथे।

यता काठमाडौंको पत्रकारितालाई त्यस्तो समाचारको खासै आवश्यकता पर्दैन थियो। अखबारको पानामा कुनाकाप्चाका खाली ठाउँ भर्न त्यस्ता ‘छोटकरी समाचार’ उपयोग हुन्थे।

यति हुँदाहुँदै पनि बिर्सन नहुने कुरा चाहिँ यसरी मुलुकका कुनाकाप्चासम्मै संवाददाताहरूको पहुँच बनाउने काम त्यो बेला अग्रणी रूपमा कान्तिपुरले नै गरेको थियो। हुम्ला जिल्लामै पहिलो पत्रकारका रूपमा उदाएका जयबहादुरले दुई दशकसम्म दुर्गम भेगबाटै व्यावसायिक पत्रकारिता गरे।

पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहोराका अनुसार जयबहादुरभन्दा पहिले त्यहाँ कसैले पत्रकारिता गरेको रेकर्ड छैन।

‘यो जिल्लामा पत्रकार महासंघको स्थापना पनि उहाँले नै गर्नुभएको थियो,’ बोहोराले आइतबार यस संवाददातालाई भने, ‘अन्त धेरै सम्भावना हुँदाहुँदै उहाँले पत्रकारिताप्रतिको एकोहोरो निष्ठा कहिल्यै त्याग्नुभएन।’

कान्तिपुरको दुर्गम भेगका संवाददातामध्ये जयबहादुरसँगको मेरो सम्बन्ध विशेष थियो। करिब २० वर्षअघिको मेरो हुम्ला भ्रमणले हामीलाई अझ नजिक्याएको थियो।

‘नेपाल ट्रस्ट’ नामको एउटा संस्थाले उत्तरी हुम्लाको लिमीस्थित हाल्जी गुम्बा जिर्णोद्धार गरिरहेको थियो। हजार वर्षभन्दा पुरानो इतिहास भएको त्यो हिमाली भेगकै अत्यन्त सम्पन्न गुम्बाबारे रिपोर्टिङ गर्न म त्यता पुगेको थिएँ।

हिजोआज तस्बिरहरूमा सिमकोट गतिलै बजारमा रूपान्तरण भएको देख्दा मलाई रमाइलो लाग्छ। त्यो बेलाको सदरमुकाम सिमकोट यस्तो थिएन। साँझ पर्नेबित्तिकै अँध्यारो र असाध्यै कम चहलपहल हुन्थ्यो।

विमानबाट सिमकोट ओर्लिनेबित्तिकै म रोकायालाई खोज्दै उनको घर पुगेको थिएँ। माटोले बनेको फराकिलो घर थियो जस्तो लाग्छ। घरको पछाडि विशाल बगैंचामा टन्नै स्याउका रूख थिए। राताम्मे देखिने गरी लटरम्म फलेका स्याउले हाँगाहरूसमेत भार थाम्न नसकेर भुइँमै नुहिएका देखिन्थे।

अहिले सम्झँदा हाँसो उठ्छ। मैले भेट्नासाथ रोकायासँग पहिलो जिज्ञासा नै ‘त्यो बोटको स्याउ टिपेर खान मिल्छ?’ भनेर राखेको थिएँ।

उनले अनुहारमा अचम्म र हाँसो एकसाथ दौडाउँदै ‘किन नहुनु? इच्छा लागेजति टिप्नुस्’ भनेका थिए। म कुदेर त्यता गएको थिएँ।

किरानाजस्तै देखिने उनको पसलमा महिनौं पुराना पत्रिकाहरू राखिएका थिए। त्यो पसलकै कारण उनी हुम्लाकै उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत हुन् भन्ने थाहा पाउँदा मलाई अर्को आश्चर्य लागेको थियो।

‘हिजोआजका पत्रिका छैनन्?’ मैले सोधेको थिएँ।

रोकायाले त्यति बेला महिनौं दिन लगाएर मात्र, त्यसमा पनि कुनै कुनै अंकका अखबार मात्र सिमकोट आइपुग्ने गरेको बताएका थिए।

कुराकानीकै क्रममा उनले त्यहाँ बसेर पत्रकारिता गर्दाका समस्याहरू पनि खोलेका थिए।

‘हुलाकबाट पठाएको समाचार कहिले पुग्यो भन्ने त परको कुरा,’ उनी भन्दै थिए, ‘छापियो कि छापिएन भन्ने जानकारी पनि नेपालगन्ज वा काठमाडौं पुगेरै थाहा पाउनुपर्ने हुन्छ।’

सुन्दा त यो सामान्य लाग्छ। तर, एकछिन सोचिहेरौं त, आफूले मेहनत गरेर लेखी पठाएको समाचार कति साता वा महिना लगाएर पुग्छ थाहा छैन। अनि छापियो कि छापिएन भन्ने जानकारी नहुँदा नहुँदै पनि एकोहोरो लेख्ने काम गरिरहनुपर्छ। कस्तो अत्यासलाग्दो!

त्यस्तो अवस्थाबीच जयबहादुरले हुम्लाबाट पत्रकारिता गरिरहेका थिए।

‘समाचारकै कारण सिडियो र हाकिमहरूसँग दुश्मनी भइरहेको हुन्छ,’ उनले थपेका थिए, ‘अनि सरकारी कार्यालयबाहेक एउटै फोन नभएको अवस्थामा कुनै महत्वपूर्ण समाचार टेलिफोनबाट टिपाउन उनै हाकिमलाई अनुनय विनय गर्नुपर्दा कहिलेकाहिँ त ज्यूँदै मरेजस्तो हुन्छ।’

यस्तो परिस्थितिसँग जुधेर हुम्लालाई बाँकीको नेपालसँग जोडेका थिए जयबहादुरले।

एक-दुई दिनको बसाइँलगत्तै मेरो पदयात्रा सुरू भएको थियो। एक साता उत्तरतर्फ पैदल हिँडेपछि बल्ल पुगिने लिमी उपत्यकाको हाल्जी गाउँ।

‘लिमी पुग्ने तपाईं पहिलो पत्रकार बन्नुहुनेछ,’ छुर्पी डडाएर झ्वाइँय पारेको छ्यांगमा चौरीको नौनीले झानेको पेय (छ्याङ्कोल) पिउँदै गर्दा त्यस साँझ रोकायाले मलाई भनेका थिए, ‘म स्वयंले पनि आजसम्म सपना देख्दै आएको त्यो ठाउँ पुग्न पाएको छैन।’

मैले रोकायालाई आफूसँगै हिँड्न अनुरोध गरेँ।

‘यसरी मौका पाएका बेला जाने इच्छा त थियो,’ उनले भनेका थिए, ‘तर, तल बसेका माओवादीले मलाई भेटे भने दुःख दिन्छन्। त्यसैले जान्न।’

केही समयअघि खोज्यार गुम्बाको मूर्ति चोरीमा तत्कालीन जिल्ला जनसरकार प्रमुखको संलग्नताबारे समाचार लेखेकै कारण आफू माओवादीको कारबाही सूचीमा परेको रोकायाले बताएका थिए। नभन्दै सिमकोटबाट हिँडेकै साँझ धारापानीमा र करिब चार दिनपछि यारी गाउँमा हतियारधारी माओवादीहरूबाट घेरिँदा मलाई ‘धन्न रोकायालाई ल्याइएनछ’ भन्ने मनमा परेको थियो।

म हुम्ला पुगेर फर्केपछि रोकायाको मसँगको व्यवहारै अर्को भएको थियो। उनी जतिपटक काठमाडौं आउँथे, कार्यालयमा आउनासाथ मलाई भेट्थे।

‘एकपटक हुम्ला आएको मानिसले हामीलाई बुझ्छ क्या!’ उनी भन्थे।

उनी काठमाडौं आएका बेला हामी कार्यालयभित्र मात्र होइन, बाहिर पनि उत्तिकै भेट्थ्यौं।

‘मलाई कुनै दिन फेरि हुम्ला पुगेर वृत्तचित्र बनाउने इच्छा छ’ भन्दा उनी फुरुंग पर्थे। साधारण क्यामराले खिचेका हुम्लाका अनेक भिडियो फुटेज मलाई ल्याएर दिन्थे।

पछि हामी कान्तिपुरबाट अलग भयौं। यसरी बेग्लै संस्थामा आबद्ध भइसके पनि उनी काठमाडौं आएका बेला फोन गर्ने वा भेट्ने गरिरहन्थे। विस्तारै पातलिँदै गएको त्यो सम्पर्क पछिल्लो समय भने थामिएको थियो।

आज अचानक निधनको खबरले मलाई रोकायासँगका यिनै सम्झनाले फेरि उथलपुथल बनायो।

कष्टकर समयमा दुर्गम भेगका कथा संसारसामु सुनाउने उनी र उनीजस्ता थुप्रै कलमजीवीहरू सदा स्मरणीय रहनेछन्।

Related Articles

Back to top button
Close