News

वीरगन्जमा कोरोना संक्रमण समुदायमा सल्किरहेको छ, भारतसँगको सीमा कडा गर्नुपर्‍यो

गत सोमबार एउटा छलफलको लागि भनेर वीरगन्जबाट काठमाडौं आएको थिएँ। उपत्यकाबाहिरबाट आएकाले कोरोना परीक्षणको लागि मेडिसिटी अस्पतालमा स्वाब दिएको थिएँ।

बिहीबार बिहान रिपोर्ट आउँदा मलाई कोरोना पोजेटिभ देखियो। अहिले म काठमाडौंस्थित आफ्नै घरमा होम आइसोलेसनमा बसिरहेको छु। स्वास्थ्य अवस्था सामान्य छ। लक्षण केही देखिएको छैन।

मलाई कोरोना पोजेटिभ देखिएपछि छलफलमा सहभागी सबैलाई जानकारी मैले गराइसकेको छु। उहाँहरू पनि सर्तक हुनुहुन्छ। परिवारका सदस्यहरूको पनि परीक्षण भइरहेको छ।

यसअघि पनि वीरगन्जमै हुँदा एक पटक कोरोना परीक्षण गराएको थिएँ। त्यो बेला एउटा मुस्लिम बस्तीमा परीक्षण गर्न कसैले पनि स्वाब दिनु मान्नु भएको थिएन। अनि म आफैं उहाँहरूको बीचमा गएर स्वाब दिएँ। त्यो देखेर उहाँहरूले पनि स्वाब दिनुभयो। त्यसपछि झन्डै तीन सय व्यक्तिको परीक्षण गर्‍यौं।

संक्रमण पुष्टि भएपछि मैले अरू केही सोचिनँ। मनमा कुनै डर पनि भएन। झन् यसको अनुभवले जनताको भोगाइ बुझ्न थप सहज हुन्छ भनेर सोचेको छु। किनभने अहिले धेरै जनताले यसको पीडा भोगिरहनु भएको छ।

पछिल्लो समय वीरगन्जको अवस्था दयनीय छ। संक्रमण समुदायमा सल्किरहेको छ। आफू काठमाडौंमा छु तर मन वीरगन्जमै छ। विगत पाँच महिनादेखि नै कोरोना नियन्त्रणमा खटिरहेको छु। अहिले आफैं संक्रमित भएर जनताको काम गर्न नपाउँदाचाहिँ मन धेरै रुँदो रहेछ।

अहिले पनि फोनबाटै वीरगन्जको अवस्थाबारे जानकारी लिइरहेको छु। यहाँबाटै खटनपटन गरिरहेको छु तर त्यही भएको जस्तो हुँदैन रैछ। त्यसैले निको भएर कहिले वीरगन्ज पुगौं भन्ने लागेको छ। सुरूदेखि नै जनताको काममा खटिरहेको छु त्यसैले छिटो निको भएर फेरि जनताको काममा फर्किन पाउँछु भन्ने लागेको छ।

वीरगन्जको अहिलेको अवस्था नाजुक छ। दिनहुँ मानिसहरू मरिरहेका छन्। अब स्थानीय स्तरले मात्र यसलाई नियन्त्रण गर्न सक्दैन। मैले महानगरपालिकाको तर्फबाट दिलो ज्यान दिएर काम गरें। तर अब योमात्र पर्याप्त छैन। प्रदेश र केन्द्रले तत्काल आवश्यक कदम चाल्नुपर्छ।

सुरूवातीदेखि नै वीरगन्जमा आवश्यक भेन्टिलेटर छैन। अन्य स्वास्थ्य पूर्वाधार छैन भनेर मैले पटक-पटक भन्दै आएँ तर प्रदेशदेखि केन्द्रले हुन्छ हुन्छ भनेर आश्वसनमात्र दिए। अहिले पनि केही बिग्रेको छैन। तीनै तह मिलेर काम गर्‍यो भने संक्रमण नियन्त्रण गर्न सकिन्छ।

त्यसका लागि दुइटा मुख्य कुरा गर्नु पर्छ। पहिलो, भारतसँगको खुला सीमा कडाइ गर्नुपर्‍यो। अहिले पनि मानिसहरूको आवतजावत भइरहेको छ। संक्रमणको जोखिम बढ्नुको मुख्य कारण यही नै हो।

भारतको पछिल्लो अवस्था सबैलाई थाहा छ। संक्रमण उकालो लागेको लाग्यै छ। यस्तो अवस्थामा वीरगन्जजस्ता खुला सीमा जोडिएका ठाउँमा बढी जोखिम छ। मानिसहरू सयौंको संख्यामा लुकिछिपी आइरहेका छन्। कम्तिमा उनीहरूलाई आउन दिए पनि व्यवस्थित तरिकाले ल्याएर क्वारेन्टिनमा राख्नसके संक्रमण अन्यत्र फैलिने जोखिम रहन्न।

यसमा केन्द्र सरकारको ध्यान गएको छैन। सुरूदेखि नै म यसबारे कराउँदै आएको छु। तर आगो लागेपछि बल्ल दमकल किन्न जाने हाम्रो बानी छ।

दोस्रो, आम मानिसले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्‍यो। संक्रमण फैलिनुमा जनताबाट पनि कमजोरी भएका छन्। सबैले मास्क प्रयोग गरेका छैनन्। भौतिक दूरी कायम भएको छैन। हामी पटक-पटक सचेतनाको कार्यक्रम गर्दा पनि केही मानिसहरूले अझैं अटेर गरिराख्नुभएको छ। त्यसैले हामीले पनि हाम्रो जिम्मेवारी के हो त्यो बुझ्नुपर्छ।

अहिले त म काठमाडौंमै उपचार्थ अवस्थामा छु। घरमै बसेर सतर्कता अपनाइरहेको छु। अवस्था सामान्य भएकाले अहिले नै अस्पताल भर्ना हुनुपर्छ भन्ने लागेको छैन। तर केही समस्या आउनुवित्तिकै अस्पताल भर्ना हुने हिसाबले आफूलाई तयार पारेको छु।

अब छिट्टै निको हुन्छु भन्ने त ठूलो आत्माबल छ। निको हुनेबित्तिकै वीरगन्ज जान्छु र जनताको काममा फर्किन्छु।

(मेयर सरावगीसँग सेतोपाटीका विवेक राईले गरेको कुराकानीमा आधारित।)

Related Articles

Back to top button
Close