News

कोरोना संक्रमणबाट वीरगञ्‍जमा थप दुई जनाको मृत्यु

वीरगञ्‍ज, १६ साउन । वीरगञ्‍जमा थप दुई जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । एकजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने अर्का एकजनाको मृत्यु पश्चात संक्रमण पुष्टि भएको हो ।

वीरगञ्‍जको गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका ३५ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो आउने, श्‍वासप्रश्‍वासको समस्या लिएर मंगलबार आइपुगेका उनको स्वाबको नमुना लिएर इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बेलुकी निधन भएको हो ।

त्यसैगरी घरमै मृत्यु भएका एकजना ६५ वर्षीय वृद्धको भने मृत्यु पश्चात् परीक्षण गर्दा पोजेटिभ देखिएको हो । वीरगञ्ज-२ छपकैयाका पुरुषको घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर दिउँसो स्वाब संकलन गरेको थियो । बेलुका पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

मृतकसहित पर्सा, बारा र रौतहटमा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार अबेर राति आएको जानकारी अनुसार नारायणी अस्पतालमा कार्यरत २ स्टाफ नर्स, १ जना सफाईकर्मी, औषधि कम्पनीबाट पेड पीसीआर परीक्षण गराएकाहरु गरी १३ जना पर्साका छन् ।

त्यस्तै, बाराका २ जना र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Related Articles

Back to top button
Close