News

कोरोना कहरमा वीरगञ्जको बिडम्वना, कुशल नेतृत्वको अभाव

व्यवस्थापन अरुबाट काम लिन सक्ने कला हो ।’ हारोल्ड कुन्टज नामका विज्ञले भनेका छन् । कुशल व्यवस्थापकले अरुबाट काम लिन्छ, त्यसका लागि काम गर्ने मानिसलाई विभिन्न किसिमले उत्प्रेरित गर्छ ।

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा व्यवस्थापन पढ्दै गर्दा पत्रकारिता थालेको थिँए । पढेका धेरै कुरा विर्सिए पनि कतिपय कुरा दिमागमा अझै छ । जानेका कुरा कतै न कतै काम त लागि हाल्छ ।

नेपालमा कोरोना जित्नेको संख्या १३ हजार ८ सय ७५ रहेछ । त्यसमध्येको एक म । कोरोना संक्रमित भई नारायणी अस्पतालको आइसोलेसन बसे । देखे भोगेका कुरा लेखिसकेको छु । यो आलेख वीरगञ्जसँग सम्बन्धित छ । त्यो वीरगञ्ज जसलाई वीर समशेरले बसाए । अहिले आर्थिक नगरी, ट्रान्जिटको सहर अझ ‘गेट वे अफ’ नेपाल भनरे चिनिन्छ ।

जुन वीरगञ्ज अहिले कोरोनाको कहरले थलिएको छ । जहाँ प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । लक्षणसहितका कोरोना संक्रमितको संख्या निरन्तर बढेको छ । कोरोना अस्पतालमा राख्ने ठाउँ छैन, स्कुलमा अटाइरहेको छैन । ४८ जना जति संक्रमित घरतिरै छन् । अझै राति ३० भन्दा बढी संक्रमित थपिएको जानकारी आएको छ ।

उनीहरु के गरिरहेका छन् ? कसरी बसिरहेका छन् ? निगरानी गर्ने कोही छैन । कोरोना लागेपछि कसरी बस्नुपर्छ ? बताउने कोही छैन । संक्रमितका बारेमा सोच्ने फुर्सद सरोकारवाला कसैलाई छैन । संक्रमित कुन मानसिक अवस्थाबाट गुजि्ररहेका हुन्छन् । सायद अहिलेसम्म उनीहरु स्वयं संक्रमित नभएर पो हो कि ? सायद उनीहरुका परिवारका सदस्यमा संक्रमण देखिएको छैन होला । कसैले सोचेको अनि बोलेका भए पनि त्यो काम छैन । किनकि अहिले अगाडि सरेर गरेर देखाउने बेला हो । जो स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सरकारी कर्मचारी तथा जनप्रतिनिधि घर परिवार नभनी खटेका छन् । उनीहरुलाई ‘स्याबास’ भन्ने पनि कोही छैन ।

संक्रमणबाट मृत्यु भएकाको शव दाह संस्कार गर्दा स्थानीयले विरोध गर्छन । त्यहाँ सम्झाउने भन्दा उचालेर राजनीति गर्ने बढी छन् । मध्यरातमा नेपाली सेनासहितको सुरक्षाकर्मीले लगेर शब गाडेर आउँछन् । चारजनाको शव तीन ठाउँमा दाह संस्कार भयो । जलाउने परम्परा भएकाको शव पनि गाडिएको छ ।

एम्बुलेन्सको समस्या त्यस्तै छ । एउटा अस्पतालबाट अर्को अस्पताल जाने एम्बुलेन्स नपाउँदा बिरामी छटपटिएर बस्छन् । जिल्ला प्रशासन कार्यालयले २८ वटा एम्बुलेन्सको लिष्ट सार्वजनिक गरेको छ । त्योभन्दा निकै बढी संख्यामा एम्बुलेन्स पर्सामा छ । यस्तोमा काम लाग्दैनन भने किन सञ्चालन अनुमति दिने ? मंगलबार मुख्यमन्त्री लालबाबु राउत गद्दीकै सामु एसपी गंगा पन्तले एउटा गम्भीर कुरा राखिन् । शव व्यवस्थापनका लागि प्रहरीले एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यो पनि अवैध कारोबारमा प्रयोग भएका कारण बरामद गरिएको । चालकलाई दिने पैसा कतैबाट मिलिरहेको छैन । प्रहरीले नै चामल लगायतको कुरा दिएर काम चलाइरहेको छ ।

मुख्यमन्त्रीको राउतको गृहनगर वीरगञ्जले उनीबाट अपेक्षा बढी राख्नु स्वभाविक हो । उनी मैले यस्तो गरें, उस्तो गरे भनेर भाषण गर्छन् । गरेका पनि होलान् । तर, कोरोना संक्रमितलेे त्यसको अनुभूति गर्न पाएकै छैनन् । स्वयं आइसोलेसनमा बसेका कारण यो कुरा दाबाका साथ भन्न सक्छु । आइसोलेसन बस्दा उनी मेरो अभिभावक हुन भनेर कहिल्यै महसुस भएन ।

मंगलबारको कुरा, मुख्यमन्त्री राउत वीरगञ्ज आएका रहेछन् । वीरगञ्जको समस्या कसरी समाधान गर्ने भन्ने बारे छलफल गर्न सर्वपक्षीय बैठक राखिएको रहेछ । एउटा सहकर्मीबाट अलि ढिलै थाहा पाँए । हल्का पानी परिरहेकै थियो । साईकल कुदाईहाले । पुग्दा वीरगञ्ज उद्योग वाणिज्य संघको हल भरिभराउ मानिस थिए । कुनै ठोस निर्णय हुन्छ होला भनेर अरु काम छोडेर गएँ । त्यहाँ त भाषणबाजी गर्ने, एकले अर्कोलाई दोषी देखाउने अनि सल्लाह र सुझाव दिने बाहेक केहि भएन । मुख्यमन्त्री ज्यू, विधमान समस्याको समाधान कसले र कसरी गर्ने ? तपाईसँग केहि योजना छ ? प्रश्न गर्ने मन थियो । तर पटक पटक आग्रह गर्दा पनि कार्यक्रम सञ्चालकले त्यो समय दिएनन ।

हो, संविधानतः महामारी नियन्त्रण, रोकथाम र उपचारको जिम्मेवारी संघिय सरकार कै हो । उ कुर्सी कसरी जोगाउने भन्ने खेलमा छ । सीमा बन्द गर्नुपर्ने समयमा खुल्लै राख्छ, संक्रमित देशभित्र फैलिसकेपछि तयारी गर्छ । लकडाउन गर्नुपर्ने बेलामा खोलिदिन्छ । समस्या एकातिर हुन्छ, उपचार अर्कोतिर गर्छ । जनस्वास्थ्य विज्ञसँग परामर्श लिन्छ, त्यसलाई हावामा उडाइदिन्छ ।

चीनको वुहानबाट कोरोना महामारी विस्तारै फैलिरहेको थियो । नेपाल जोखिममा थियो । वीरगञ्ज सबैभन्दा बढी जोखिममा । सबैभन्दा पहिला सीमा बन्द गर्नुपर्ने । जनस्वास्थ्य विज्ञहरुले सल्लाह दिईरहे । हामीले लेखिरहृयौं । तर सुनुवाईमा ढिलाई भयो । राज्य महामारीसँग लड्ने कुनै योजना थिएन, अहिले पनि भएजस्तो देखिँदैन । किनकि अहिलेपनि लुकीछिपी भारतबाट मानिस आउने क्रम रोकिएको छैन ।

सीमावर्ती राज्य बिहारमा कोरोना संक्रमणबाट भटाभट मानिस मर्न शुरु भइसकेको छ । त्यसो भए के नागरिकलाई मर्न दिने त ? वीरगञ्जमा मात्रै ५ जना आइसोलेसनमा छन् । संक्रमणको चेन ब्रेक गर्न नसक्ने हो भने भूसको आगो जसरी समुदायमा संक्रमण फैलि रहन्छ । किनकी यहाँका नागरिक सचेत छैनन् । जो सचेत छन्, ती पनि अटेरी गर्छन् । महामारी नियन्त्रणका लागि सरकारी नीति र नागरिकको व्यवहार मिल्नुपर्छ । जसले जेसुकै दावी गरे पनि नेपालमा दुवै मिलिरहेको छैन ।

वीरगञ्ज महानगरका नगर प्रमुख तोकिएको जिम्मेवारी भन्दा एक कदम अगाडि बढेर काम गर्छन् । अस्थायी कोरोना अस्पताल चलाएका छन्, नगरबासीसँग चन्दा उठाएर पीसीआर मेसिन नारायणीलाई बुझाएका छन् । क्वारेन्टिन र आइसोलेसनका लागि खानेकुराको बन्दोबस्ती मिलाएका छन् । कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक स्वास्थ्यकर्मीलाई राख्न होटलको प्रबन्ध मिलाएका छन् ।

क्वारेन्टिन व्यवस्थापनमा प्रदेशका अन्य ठाउँको तुलनामा वीरगञ्जमा राम्रै भएको मान्नुपर्छ । तर उनको समन्वय र सहकार्यको पाटो कमजोर छ । भित्र भित्र त धेरै दिनदेखि आरोप प्रत्यारोप चलिरहेकै थियो ।

प्रशासनको ‘मास टेष्टिङ’ र महानगरको ‘एक घर एक परीक्षण’ले उदांगो पारिदियो । प्रदेश, केन्द्र, सांसद, प्रदेश सभासद मात्रै हैन, पर्साका अन्य पालिका र प्रशासनले समेत आवश्यक सहयोग नगरेको गुनासो गरिरहन्छन् । किन हो, कसैसँग कुरा मिलिरहेको हुन्न । स्थानीय एफएम रेडियोहरुमा दिएका अभिव्यक्तिका कारण विवादमा परिरहन्छन् ।

यस्तो अवस्थामा मुख्यमन्त्रीले नै नेतृत्व लिनुपर्ने हो । हुन त प्रदेशका ८ वटै जिल्लाको नेतृत्व उनको काँधमा छ । तर, उनको गृहनगर र मुलुकको प्रवेशद्वार भएकाले यसलाई विषेश महत्व दिइनुपर्छ । वीरगञ्ज कोरोनामुक्त नभएसम्म देश सुरक्षित हुँदैन । तर, मंगलबार राजनीतिक दल एक भएर अगाडि आउनुपर्ने भन्दै उनी पन्छिए । धेरै अधिकार प्रशासनसँग छ, अधिकार नगरप्रमुखसँग छ । केही अधिकार अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसँग होला । सोही अनुसार उनीहरुको जिम्मेवारी छ ।

उनीहरुलाई जिम्मेवारीको बोध गराउने काम अब राजनीतिक दल वा नागरिक समाजले गर्नुपर्ने भएको छ । फेसबुकमा स्टाटस लेखेर वा चार जनाको बीचमा चर्का कुरा गरेर वीरगञ्जले पार पाउने अवस्था छैन । संघीय समाजवादी पार्टीका नेता राम नरेश यादवले मंगलबारकै कार्यक्रममा भनेको वाक्य सम्झन्छु । ‘वीरगञ्जमा स्रोत साधनको कमी छैन, समन्वय र सहकार्यको कमी छ ।’
सही हो । तर, तपाईकै पार्टीको नगर प्रमुख, तपाईकै पार्टीको मुख्यमन्त्री, तपाईकै पार्टीका सांसद र प्रदेश सभा सदस्य धेरै छन् । समन्वय र सहकार्य गर्न कसले दिएन ? किन दिएन ?

ढिलै भए पनि केही दिनदेखि नेकपा, नेपाली कांग्रेस र संघीय समाजवादीका जिल्ला नेतृत्व एक ठाउँमा छन् । उनीहरु सक्रियताका साथ छलफल चलाइरहेका छन् । उनीहरु मध्येकै एकजना नेताले एउटा निजी अस्पतालका सञ्चालकलाई अस्पताल दिनुपर्‍यो भनेर भनेछन् । उनले ठाडै दिन सक्दिन भनिदिएछन् । नेतृत्वको पहुँच, कार्यक्षमता र कार्य कुशलता बुझ्न यत्ति नै काफी छ । तैपनि आशावादी हुनैपर्छ । महामारी चुनौति मात्रै हैन, नेतृत्वको कार्य क्षमता र दक्षता हेर्ने अवसर पनि हो ।

पहिलो विश्वयुद्ध ताका वृटिशहरुले सैनिक भर्ती गर्ने विज्ञापनको पोष्टरमा ‘महायुद्धमा के के गर्नुभयो ? ‘ भनेर प्रश्न गरेका थिए रे । खोज पत्रकारिता केन्द्रका अध्यक्ष एवं बरिष्ठ पत्रकार चन्द्रकिशोर पहिलो विश्वयुद्धमा जस्तै भविष्यमा हामीसँग महामारीमा तपाईले के-के गर्नुभयो ? सोधिने बताउँछन् ।

समस्या छ, चुनौती छ, कठिनाई नभएको हैन । तर, युद्धको मोर्चाबाट भाग्न भएन । नेतृत्व टिका लगाएर दिने कुरा हैन, लिने हो । कोभिड महामारीमा त युवा नेतृत्व अगाडि आउनुपर्छ । उनीहरुका लागि यो अवसर मात्रै हैन, नेतृत्व क्षमताको परीक्षा दिने ठाउँ पनि ।

व्यवस्थापनमै पढाइन्छ, समस्या समाधान गर्ने तरिका पनि । जुन एकदमै सरल छ । पहिला, समस्याको पहिचान गर्ने, त्यसपछि समाधानका उपायहरु खोज्ने, स्रोत साधनले भ्याउने उत्तम विकल्पको छनौट गर्ने । यसरी समस्या समाधान गर्न सक्ने वा नसक्ने नेतृत्वको निर्णय क्षमतामा भर पर्छ । महामारीको समयमा नेतृत्वले आफ्ना कुरा लाद्नु हुँदैन । जनस्वास्थ्य विज्ञसँग राय सल्लाह गर्नुपर्छ ।

‘छाडेर काम सारा एक काम रोजिरहेछु, यो देशमा म एउटा मानिस खोजिरहेछु ।’ शिशिर योगीले गाएको गीतको शब्द हो यो । वीरगञ्जले पनि कोरोनाको कहरमा समस्या सिर्जना गर्ने हैन, समस्या समाधान गर्ने नेतृत्व खोजिरहेको छ ।

Related Articles

Back to top button
Close