News

‘चेपाङका घरमा आगो लगाउँदा कम्युनिस्ट सरकारका निधारमा कलंक लाग्यो’

मन्त्री बस्नेतले भने, ‘अन्यत्रकै फोटो संजाल र सञ्चारमाध्यममा भाइरल बनाइयो, घर र गोठबारे मलाई सिकाउनु पर्दैन’
घोंगी टिप्न निकुञ्जभित्र प्रवेश गरेपछि गस्तीमा गएको टोलीले राजकुमार चेपाङलाई पक्राउ गरेको हो : निमित्त महानिर्देशक कँडेल

काठमाडौँ — सत्तारुढ नेकपाका सांसदहरूले चितवन कुसुम खोलामा बस्दै आएका चेपाङ समुदायका घर जलाएको घटनाले कम्युनिस्ट सरकारको निधारमा कलंक लागेको बताएका छन् । उनीहरूले तल्लो वर्ग, सुकुम्बासी, गरिब जनताका मुद्दा उचालेर झन्डै दुई तिहाई मतका साथ सत्तामा पुगेको कम्युनिस्ट पार्टीको शासनकालमा सुकुम्बासी चेपाङका घरमा राज्यकै निकायले आगो लगाउनु र हात्ती लगाएर घर भत्काइएको घटनाले कम्युनिस्ट सरकारको निधारमा कलंक लागेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

चितवन कुसुमखोलास्थित चितवन राष्ट्रिय निकुञ्जको जग्गामा बस्दै आएका चेपाङका ८ घर तथा गोठमा साउन २ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका कर्मचारी र निकुञ्ज सुरक्षामा खटिएको सेनाको टोलीले आगो लगाएको थियो । केही घर भने हात्ती लगाएर भत्काइएएका थिए ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा नेकपाका सांसदहरूले चेपाङका घरमा आगो लगाउने र हात्ती लगाएर भत्काउँदा कम्युनिस्ट पार्टीको सरकाको निधारमा कलंक लागेको बताएका हुन् । ‘यो घटनाको जतिसुकै निन्दा गरे पनि कम हुन्छ,’ नेकपा सांसद भूमि त्रिपाठीले भने, ‘कलंकको टीका वर्तमान सरकारको प्रधानमन्त्री, मन्त्री र सांसदहरूको निधारमा लागेको छ ।’

नेकपाकै सांसद राधा ज्ञवालीले भनिन्, ‘यो घटना वर्तमान सरकारको निधारमा लागेको कलंक हो । यो कलंक धेरै लामो समयसम्म हाम्रो इतिहासमा लेखिनेछ ।’

नेकपा सांसद तथा पूर्वसभामुख ओनसरी घर्तीले चेपाङका घरमा हात्ती लगाउने र आगो झोस्ने कार्य निकुञ्जको नियम विपरीत भएको बताइन् । बर्षाको बेला मानिस बसिरहेको घरमा आगो लगाउने र विकल्प नदिई घरबास उठाउने काम अमानवीय भएको भन्दै उनले विरोध जनाएकी थिइन् ।

‘दुई तिहाईको कम्युनिस्ट सरकारको पालामा यस्तो घटना हुनु लज्जाको विषय हो,’ सांसद शान्तिमाया पाख्रिनको भनाइ थियो ।

चेपाङका घरगोठ जलाएर र हात्ती लगाएर भत्काएर वर्तमान सरकारको बदनाम गरिएको पनि केही सांसदहरूको भनाई थियो । सांसद त्रिपाठीले प्रश्न गरे, ‘यो घटना देखाएर कम्युनिस्ट पार्टीलाई बदनाम गर्ने, कम्युनिस्ट नेतृत्वको सरकारको बदनाम गर्ने काम भएको त छैन ?’

निकुञ्ज प्रशासनले जनताका घरगोठमा आगो लगाएको र भत्काएको घटनाबारे संसदीय समितिमा छलफल हुन नहुने धारणा सांसद पोल्देन छेपाङ गुरुङको थियो । उनले अनुसन्धान प्रतिवेदन आएपछि मात्रै बैठक राखेको भए उचित हुन्थ्यो भन्ने धारणा राखेका थिए । ‘यो सरकारलाई बदनाम गर्नलाई यस्तो गरेको जस्तो छ,’ उनको आशंका थियो ।

नेकपा सचेतकसमेत रहेकी सांसद शान्ता चौधरीले चेपाङका घर जलाउने कार्यको दोषी वन तथा वातावरणमन्त्री शक्ति बस्नेत भएको आरोप लगाइन् । ‘त्यही समुदायको अधिकार र उन्मुक्तिका लागि बन्दुक बोकेको मान्छे नेतृत्वमा भएको बेला यस्तो घटना भएको छ । यसको दोष मन्त्रीलाई जान्छ,’ उनको माग थियो, ‘यसमा मन्त्रीले गम्भीरतापूर्वक छानबिन गरेर जिम्मेवारहरूलाई कडा कारबाही गर्नुपर्छ ।’

आफू कमलरीबाट मुक्त भएपछि राष्ट्रिय वनको जग्गामा घर बनाउँदा सरकारी कर्मचारीले भत्काइदिएको स्मरण गर्दै चौधरीले भनिन्, ‘कोरोना भाइरस (कोभिड- १९), बाढी र पहिरोले कहर मच्चाएको बेला र साउने वर्षा भइरहेका बेला घरमा आगो लगाउनेका हात कस्ता थिए ? कस्तो मानवता हो यो ?’ वैकल्पिक व्यवस्था नहुँदै घर जलाउनु र उठीबास गर्नु गलत भएको उनको पनि धारणा थियो ।

मन्त्री बस्नेत र विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले मानवीय त्रुटिले घटना भएको भनेर दिएको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएका थिए ।

कँडेलले निकुञ्जका अधिकारी र सेनाका कमाण्डरले छलफल गरेर उक्त ठाउँ खाली गर्न लगाएको त्यसक्रममा मानवीय स्वभावका कारण केही व्यक्तिले आगो लगाएको हुनसक्ने बताएका थिए । उनले मानवीय त्रुटि भएको भन्दै समितिमा क्षमायाचना गरेका थिए । सांसदहरूले भने अपराधिक कार्य भएको भन्दै माफी मागेर नहुने बताएका थिए । नेकपाका अधिकांश सांसदले उक्त कार्य दण्डनीय भएको भन्दै कानुनी कारबाही हुनुपर्ने धारणा राखेका थिए ।

‘कम्युनिस्ट सरकारमा भएका बेला गरिबले त्यसरी ज्यान गुमाउनुपर्ने ?’

सांसदहरूले राजकुमार चेपाङको मृत्युबारे पनि प्रश्न उठाएका थिए । साउन १ गते सेनाले पक्राउ गरेर कुटपिट गरेको र उपचारका क्रममा ८ गते मृत्यु भएका राजकुमारको विषय के भइरहेको छ भनेर सांसदहरूले मन्त्री र सरकारी अधिकारीहरूलाई प्रश्न गरेका थिए । चौधरीले भनेकी थिइन्, ‘भन्न मिल्ने कि नमिल्ने हो, कम्युनिस्ट सरकार भएको अवस्थामा त्यसरी ज्यान गुमाउनुपर्ने हो गरिबले ?’

कँडेलले उक्त घटना सेना र निकुञ्जका अधिकारीले नियमित गस्ती गर्ने क्रममा राजकुमारलगायत ५ पुरुष र २ महिला पक्राउ परेको बताएका थिए । ७ जना राप्ति पार गरेर घोंगी टिप्न निकुञ्जभित्र प्रवेश गरेपछि गस्तीमा गएको टोलीले पक्राउ गरेको जानकारी आफूलाई प्राप्त भएको बताए । तीनजना सेना रहेको टोलीले उनीहरूलाई पक्राउ गरेको र जरिवाना तिर्ने पैसा नभएपछि छोडिएको जानकारी आएको बताए । पीडित पक्षले भने पुरुषहरूलाई पक्राउ गरेर कुटपिट भएको र महिलाहरूलाई कुटपिट नभएको बताएका थिए । उक्त कुटपिटबारे साउन ७ गतेसम्म कसैलाई जानकारी नभएको र राजकुमार अस्पताल भर्ना भएपछि मात्रै घटना सार्वजनिक भएको कँडेलको भनाइ थियो । राजकुमारको ८ गते भरतपुर अस्पतालमा मृत्यु भएको थियो । उनको शवको पोष्टमार्टम भएको छैन ।

मन्त्री बस्नेतको स्पष्टीकरण – गोठ र घरको परिभाषामा म अस्पष्ट छैन

चेपाङ समुदायको घर जलाउनु र हात्ती लगाएर भत्काउनु दुःखद् र अनुचित भएको मन्त्री बस्नेतको भनाइ थियो । कुसुमखोलाका २ सय १ चेपाङ परिवारमध्ये १ सय ९३ लाई स्थानान्तरण गरिसकिएको र बाँकी ८ परिवारलाई स्थानान्तरण गर्ने क्रममा उक्त घटना भएको उनको भनाइ थियो । उनीहरूलाई अर्को ठाउँमा जान भनेको तर नमान्दा निकुञ्जका कर्मचरीले उक्त अनुचित कार्य गरेको उनको स्पष्टीकरण थियो ।

चेपाङ बस्तीका तस्बिर भनेर सन् २०१९ मा खिचिएका र अन्य सहरका तस्बिर सामाजिक संजाल र संचारमाध्यममा ‘भाइरल’ भइरहेको भन्दै बस्नेतले ‘अवस्थालाई उत्तेजित पार्ने र राजनीतिक लाभ लिन सकिन्छ कि भन्ने शक्ति लागेको’ आशंका व्यक्त गरे । उनले सांसदहरूलाई सामाजिक संजाल र संचारमाध्यममा आएका तस्बिरका आधारमा धारणा नबनाई आफ्नो जिम्मेवारी पूरा गर्न सुझाव दिएका थिए ।

साउन ११ गते प्रतिनिधिसभाकै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा चेपाङका घर नभई गोठ जलाइएको भनेर उक्त घटनाको बचाउ गरेरेर चर्को आलोचना खेपेका मन्त्री बस्नेतले बुधबारको बैठकमा भने आफूलाई घर र गोठको परिभाषा सिकाउन आवश्यक नभएको बताए । ‘घरको र गोठको परिभाषा के हो भन्नेमा म अस्पष्ट छैन । जुन ठाउँमा चुलो बल्छ, स्थायी रूपमा चुलो बल्ने ठाउँ घर हो । आकार कत्रो छ, ठाउँ कति ठूलो छ भन्नेले प्रभाव पार्ने होइन,’ उनले भने । चुलो नबल्ने ठाउँ जति ठूलो भएपनि गोठ भएको उनको परिभाषा थियो । माओवादी सशस्त्र द्वन्द्वका क्रममा धादिङको रुवीभ्यालीदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म हिँडेर गएको भन्दै उनले घर र गोठको बारेमा आफू जानकार रहेको प्रष्टीकरण दिए ।

मन्त्री बस्नेतले सरकारको तर्फबाट चेपाङका घर जलाइएको बारेमा छानबिन भइरहेको भन्दै गल्ती ढाकछोप नहुने बताए । उक्त घटनामा संलग्न वार्डेन र सहायक वार्डेनलाई फिर्ता बोलाइएको उनले जानकारी दिए ।

छिटो आवास निर्माण गर्न समितिको निर्देश

कृति समितिले चेपाङ समुदायका लागि छिटोभन्दा छिटो आवास निर्माण गर्न निर्देशन दिएको छ । समिति सभापति पूर्णकुमारी सुवेदीले सामाजिक वञ्चितीकरणमा परेर निकुञ्जलाई आश्रयस्थललाई बनाएकालाई चेपाङको बस्तीमा आगो लगाउनु र हात्ती लगाएर भत्काउनु निन्दनीय भएको भन्दै उनीहरूको आवास निर्माण गरी छिटोभन्दा छिटो व्यवस्थापन गर्न निर्देशन दिएको बताइन् ।

चेपाङ बस्तीमा आगो लगाउने र हात्ती लगाएर घर भत्काउने अधिकारीलाई कानुनी कारबाही गरेर पीडितलाई उचित क्षतिपूर्ति दिन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

सम्बन्धित समाचारः

कुसुम खोलावासीलाई सधैं कष्ट
चेपाङ बस्तीमा आगो र हात्ती लगाउनु गल्ती भन्दै विभागले माफी माग्यो
मानवीय त्रुटिले घर जले : मन्त्री बस्‍नेत
एउटा गोठ र गुन्द्रीमात्रै जलेको हो : वनमन्त्री बस्‍नेत

Related Articles

Back to top button
Close