News

रौतहटमा ग्यास सिलिण्डर वितरणका क्रममा झडप, एक दर्जन घाइते

रौतहट — ग्यास सिलिन्डर वितरणका क्रममा बुधबार रौतहटको यमुनामाई गाउँपालिकामा झडप हुँदा एक दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् । घाइते अधिकांशको टाउकोमा चोट लागेको छ ।

ग्यास बाँड्दा पक्षपात गरेको भन्दै दुई पक्षबीच भनाभनले झडपको रुप लिएको हो । त्यस क्रममा घाइते हुनेहरुमा बालक पनि छन् ।
यमुनामाई ५ को झुनखुनवा टोलमा गरिब विपन्न र निम्न आय भएकाहरुलाई गाउँपालिकाले ग्यास सिलिन्डर वितरण गर्ने क्रममा विभेद गरेको भन्दै दुई पक्षबीचमा झडप भएको प्रहरीले जनायो ।

गाउँका एक दलितले ग्यास सिलिण्डर माग्दा नदिएको आरोप लगाए । ‘हामीले सिलिण्डर दिन अनुरोध गर्दा ढुंगामुडा गरे’,उनले भने,‘गाउँका ठूलाबडाले आफ्नो मानिसलाई मात्र सिलिण्डर बितरण गरेकोले झडपको अवस्था आएको हो ।’ त्यस वडाका दलितहरुले सिलिण्डर वितरणमा पक्षपात भएको आरोप लगाएका छन् । सोही विषयमा गाउँलेहरुबीच भनाभनपछि ढुंगामुडा भएको थियो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाका अनुसार पालिकाको योजनाअनुरुप गरिब तथा विपन्न वर्गलाई सिलिन्डर वितरण गर्ने योजना रहेकोमा एउटा टोलमा बुधबार र अर्कोमा बिहीबार बितरण गर्ने गरी मिलाइएको थियो । तर, सूचना अभावका कारण बिहीबार वितरण गर्ने भनिएको टोलका मानिसहरु आएको र उनीहरुले नपाउने भ्रममा परे पछि बिबाद निकालेपछि झडप भएको हो । ‘एक वडामा २ सय २५ थान ग्यास सिलिन्डर वितरण गर्ने योजना थियो । तर अनावश्‍यक विवाद निकालेर झडपको अवस्था सिर्जना भयो,’ उनले भने, ‘दुबै पक्षलाई राखेर ग्यास सिलिन्डर वितरण नगर्ने र पाउने व्यक्तिहरुको नामावली संकलन गरेर कुपन दिएर बिहीबार पुनः बाड्ने सहमति भएको छ ।’

नि:शुल्क ग्यास पाउने भएपछि दुईवटा वडाका मानिसहरु भेला भएका थिए । झडपको खबर पाउनासाथ ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी घटास्थलमा पुगेको थियो । अहिले स्थिति सामान्य रहेको र थप झडप हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपि रविराज खड्काले बताए । घाइतेको गौर अस्पतालमा उपचार भइरहेको छ । केहीलाई थप उपचारका लागी बाहिर पठाइएको प्रहरीले जनायो ।

Related Articles

Back to top button
Close