अमेरिकीका हुलाक ठेगानामा चीनबाट ‘रहस्यमयी’ बिउका प्याकेट आएपछि…
केही दिनयता अमेरिकाका विभिन्न ठाउँका नागरिकका हुलाक ठेगानामा केही प्याकेटहरू आएका छन्।
ती प्याकेटमा बाहिर खेलौना र गहना भनिएको भए पनि भित्र केही बालीका बिउहरू छन्। ती प्याकेटमा चीनबाट आएको लेखिएको छ।
दुई देशबीचको सम्बन्धमा तनाव चुलिएको बेला चीनबाट आएका भनिएका ती बिउलाई अमेरिकीहरूले निकै चासोका साथ अनुसन्धान गरिरहेका छन्।
अमेरिकामा बिउका प्याकेटबारे चर्चा भएपछि बेइजिङले अनुसन्धानमा सघाउने प्रस्ताव गरेको छ।
मंगलबार, चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनविनले नियमित प्रेस ब्रिफिङमा चिनियाँ पोस्टल अफिसले अमेरिकी पोस्टल अफिसलाई नक्कली मेलहरू चीनलाई फर्काउन आग्रह गरेको साउथ चाइना मर्निङ पोष्टले लेखेको छ।
‘चिनियाँ पोस्टल अफिसले अमेरिकी पोस्टल सेवालाई नक्कली मेल चीनलाई फर्काउन भनेको छ किनकी चीनले यसबारेमा अनुसन्धान गर्न सकोस्,’ उनले भने।
प्रवक्ता वाङले प्याकेटमा भएका लेबलहरू झुठा भएको समेत बताए। चिनियाँ पोस्टल सेवाले जाँच गर्दा त्यसमा हुने जानकारी गलत भएको पाइएको उनले बताए।
चीनबाट आएका भनिएका ती रहस्यमयी बिउहरू कस्ता प्रजातिका बिरूवाका हुन् भन्ने पत्ता लागिसकेको छैन। अमेरिकाका कृषिका अधिकारीहरूले ती बिउका अमेरिकाका स्थानीय बालीनाली र फलफूललाई हानिकारक हुन सक्ने भन्दै ती बिउ नरोप्न आग्रह गरेका छन्। यस्ता प्याकेट भेटिए अधिकारीहरूलाई सम्पर्क गर्नसमेत उनीहरूले अनुरोध गरेका छन्।