News

कोसी प्रोजेक्टको १६ करोड राजस्व तिर्न भारतकाे आनाकानी

कोसी प्रोजेक्टको १६ करोड राजस्व तिर्न भारतले आलटाल गरिरहेको छ। तीन वर्षदेखि नेपाल सरकारलाई बुझाउन बाँकी रकम पटक-पटक ताकेता गर्दासमेत भारतले बुझाउन आनाकानी गरिरहेको नेपाली अधिकारीले बताएका छन्।

कोसी प्रोजेक्ट हेर्ने नेपाल सरकारका आधिकारिक प्रतिनिधि, सम्पर्क तथा भूआर्जन अधिकृत सन्तोष लिम्बूका अनुसार भारतले कोसी ब्यारेज निर्माण गर्दा नेपाली भूमिमा बनाएको बाँधको मर्मतको जिम्मा लिएको थियो।

सोही मर्मतका लागि विभिन्न शीर्षकमा भएका कामबापतको राजस्व नेपाल सरकारलाई बुझाउन नमानेको हो।

कोसी ब्यारेज बनेदेखि निरन्तर रूपमा वार्षिक कर बुझाउने गरेको भारतले तीन वर्षदेखि एक पैसा तिरेको छैन। बाँध मर्मत तथा बाँध स्थलसम्म आउजाउ गर्न बनाएको सडकमा आवश्यक पर्ने कच्चापदार्थ ढुंगा, मिसगिटी र बालुवाबापतको सरकारी कर भारतीय पक्षले नतिरेको हो।

नेपाली भूमिमा नेपाली सामग्री उत्खनन् गरेर प्रयोग गरेबापत भारत पक्षबाट काम गर्ने निर्माण व्यवसायीले १३ प्रतिशत कर राजस्व कार्यालयमार्फत नेपाल सरकारलाई दाखिला गर्नुपर्छ भने कोसीको भूआर्जन कार्यालयलाई ४ प्रतिशत रोयल्टी तिर्नुपर्ने नियम छ। तर, विभिन्न बहाना बनाउँदै नेपाल पक्षले ताकेता गर्दासमेत भारत सरकारका प्रतिनिधिले उक्त रकम बुझाएका छैनन्।

यति रकम पुगेको पुष्टि धरान राजस्व कार्यालय र विराटनगर राजस्व कार्यालयको पत्रको आधारमा भएको लिम्बूले जानकारी दिए। भारत पक्षले उक्त रकम विराटनगरको राजस्व कार्यालयमार्फत नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्छ।

कोसी प्रोजेक्ट हेर्ने नेपाल सरकारका प्रतिनिधि सन्तोष लिम्बूकोसी प्रोजेक्ट हेर्ने नेपाल सरकारका प्रतिनिधि सन्तोष लिम्बू
‘राजस्व तिर्न आलटाल गरेको विषयमा मैले सम्बन्धित निकायमा बुझिसकेपछि एक हप्ताको अल्टिमेटम दिएर चिठी लेखिसकको छु,’ लिम्बूले भने ‘त्यसपछि पनि नदिए के गर्ने भन्नेबारे सिडिओसँग बसेर छलफल गर्छौं। बाँध निरीक्षणका लागि हरेक दिन आउजाउ गर्ने भारतीय गाडीलाई रोकेर कदम चाल्नेछौं।’

लिम्बूले कोसी ब्यारेज हेर्ने चिफ इन्जिनियर प्रकाश दासलाई जानकारी गराउँदा अनलाइन सिस्टमको गडबडीका कारण राजस्व बुझाउन समस्या भएको बहाना बनाउँदै आएको जानकारी दिए। लकडाउनका बेला मुलुक आर्थिक रुपमा कमजोर भएको र त्यति रकम आएमात्र पनि सरकारलाई धेरै राहत हुने भन्दै आफूले निरन्तर ताकेता गर्ने लिम्बूले बताए।

विक्रम सम्वत २०११ साल वैशाख १२ गते नेपाल र भारतबीच कोसी सम्झौता भएको थियो। कोसी ब्यारेजदेखि सुनसरीको चतराछेउ पुल्ठे गौंडासम्मको कोसी बाँध हेर्ने जिम्मा भारतको हो भने यसको अनुगमन गर्ने काम नेपाल सरकारको हो।

१ सय ९९ वर्षका लागि नेपाल र भारतबीच सम्झौता भए पनि अहिले ६७ वर्ष बितेको छ। तर, भारतले नेपालप्रति हेर्ने दृष्टिकोण कोसी बाँधको हकमा भने परिवर्तन नभएको स्थानीय बताउँछन्।

Related Articles

Back to top button
Close