International

३ जना संक्रमित भेटिँदा ८० हजार जनालाई शहरबाट हटाइँदै

काठमाडौं। भियतनामले आफ्नो चर्चित रिसोर्ट शहर दा नाङबाट ८० हजार जनालाई हटाउने भएको छ । हटाइनेमध्ये अधिकांश स्थानीय पर्यटक छन् । यहाँका ३ जना स्थानीय कोरोनाभाइरस संक्रमित भेटिएपछि भियतनामले यस्तो गर्न लागेको हो । गत शनिबार भियतनामा सय दिनपछि स्थानीय स्तरमा फैलिएको संक्रमणको पहिलो केस भेटिएको थियो । यससँगै यहाँको सरकार सम्भावित नयाँ प्रसार रोक्न निकै कडाइ गरिरहेको छ ।

पछिल्लो पटक शनिबार संक्रमित भेटिएका ५७ वर्षका पुरुषको कुनै अन्तर्राष्ट्रिय ट्राभल हिस्ट्री छैन । उनी गत महिनादेखि दा नाङमै बसिरहेका छन् । यसको भोलिपल्ट अन्य दुई केस भेटिएका थिए । संक्रमण भेटिएसँगै प्रधानमन्त्री गुएन जुआन फुकले कन्ट्याक्ट ट्रेसिङलाई ठूलो परिमाणमा तीब्रता दिन र शहरमा ठूलो परिमाणमा परीक्षणको दायरा बढाउन निर्देशन दिएका थिए । सरकारी वक्तव्यलाई उद्धृत गर्दै सीएनएनले लेखेअनुसार सोमबार सरकारले ८० हजार जनालाई शहरबाट निकाल्ने निर्णय गरेको थियो । यो प्रक्रियामा करिब ४ दिन लाग्ने सरकारले जनाएको छ।

यहाँ आन्तरिक उडान संचालनमा छन् र दैनिक देशका ११ शहरमा १०० उडान चलिरहेका छन् । दा नाङबाट निकालिने ८० हजार जनालाई क्वारेन्टाइनमा राख्नको लागि बाक गियाङ र बाक निन्ह प्रान्तमा व्यवस्थापन गरिएको छ । दा नाङ भियतनामको चर्चित पर्यटकीय स्थल हो । २०१९ मा यो शहरमा ८७ लाख पर्यटक आएको तथ्यांक छ जसमध्ये ५२ लाख पर्यटक आन्तरिक थिए ।

Related Articles

Back to top button
Close