News

वीरगन्जमा लक्षणसहितका संक्रमित भेटिन थाले, निषेधाज्ञाकाे तयारी

वीरगन्जमा लक्षणसहितको कोरोना भाइरसको संक्रमित फेला पर्न थालेपछि अवस्था भयावह हुँदै गएको छ। दैनिक जसो कोरोनाको संक्रमित थपिँदै गएपछि पर्सा जिल्ला फेरि कोरोनाको उच्च जोखिममा परेको हो।

केही समययता पर्साको समुदाय, स्वास्थ्यकर्मी, चिकित्सक र अस्पतालमा उपचारत बिरामीमा समेत कोरोना संक्रमण फेला पर्न थालेपछि अवस्था भयावह बन्दै गएको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए।

वीरगन्जका संक्रमितमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण देखिएको उनले बताए। ‘वीरगन्जमा लापरबाही बढेकाले कोरोनाले भयावह स्थिति हुनसक्छ, सर्तक रहन जरुरी देखिएको छ । आज बिहीबार ४ बजे अकास्मिक बोर्ड बैठक बोलाइएको छ,’ उनले भने।

‘अहिले तत्काल वीरगन्जलाई तुरुन्त सिल गर्नुपर्ने अवस्था आएको छ। कसैको सम्पर्कमा पनि नरहेका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा संक्रमण फैलिएको अनुमान गर्न थालिएको छ । यसलाई स्थानीय प्रशासनले परीक्षण र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन,’ मेयर सरावगीले भने।

वीरगन्ज खुला सीमा भएको हुनाले रक्सौलबाट सयौंको संख्यामा व्यापार व्यवसाय गर्नेहरूले निर्वाध रूपमा वीरगन्ज आउने, पसल खोल्ने र बेलुका रक्सौल फर्कने गरेका छन् । ‘उनीहरू निर्वाध रूपमा लकडाउन र सीमा बन्दका बेलामा कसरी वीरगन्ज आउने गरेका छन् त्यसबारेमा स्थानीय प्रहरी प्रशासनको क्षमतामाथि प्रश्नचिन्ह खडा भएको छ,’ मेयरले भने ।

उनले देशभर कोरोना संक्रमण घटेको होइन, परीक्षणको दायरा घटेकाले संक्रमितको संख्या घटेजस्तो देखिएको जिकिर गरे । उनले भने, ‘वीरगन्जमा पुनः कठोर कदम चाल्नुपर्ने अवस्था देखिएकाले यसमा केन्द्र सरकार र प्रदेश सरकार तुरुन्त सचेत बन्नुपर्ने देखिएको छ।’

फेरि वीरगन्जमा निषेधाज्ञा

पर्साका समुदायमा संक्रमण फैलिएसँगै निषेधाज्ञा लगाउने तयारी गरिएको छ। पर्सा कोभिड–१९ कमाण्ड पोस्टको बैठकमा निषेधाज्ञा लगाउने विषयमा छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

आज बिहीबार अकास्मिक बैठकमा निषेधाज्ञाको विषयमा छलफल भएको उनले बताए।

उनले निषेधाज्ञा जारी गर्ने र परीक्षण तीव्र बनाउने विषयमा एक चरणको छलफल भइसक्यो तर निर्णय भने भइनसकेको बताए। ‘अब दोस्रो चरणको बैठक बेलुका बसेपछि मात्र लागू गरिनेछ,’ उनले भने।

राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीलगायत अन्य सरोकारवालासँग छलफल गरेर कुन मोडालिटीमा जाने हो र कहिलेबाट निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा निर्णय भइसकेपछि मात्र निषेधाज्ञा जारी हुने सहायक प्रजिअ बस्नेतले बताए।

वीरगन्ज र आसपासका क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमण देखिइसकेको छ। देशको मुख्य प्रवेशद्वार अनि खुला सीमाका कारण जति नै कडाइ गरे पनि मानिस आउने क्रम रोकिएको छैन। चोरबाटो भएर आउँदा सीमा वारिपारि गरिरहेकाले आम नागरिकले पनि रोक्नु पर्नेछ।

‘ग्रामीण क्षेत्रबाट आउँदा प्रहरीले यकिन गर्न सक्दैनन्। स्थानीय हो कि बाहिरबाट आएको मानिस हो त्यसका लागि स्थानीयले सूचना दिएर कोरोना फैलिनबाट बचाउनु पर्छ,’ उनले भने, ‘सीमा क्षेत्रमा आवागमनसँगै वीरगन्जमा लकडाउनमा कडाइ गर्नपर्छ। हामीले लापरवाही गर्यौं भने संक्रमण झनै फैलन्छ।’

अहिलेको अवस्थामा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नहुने अवस्था देखिएको छ।

Related Articles

Back to top button
Close