Intresting

अस्पताललाई सर्वस्व दान दिएर भाडामा बसेको दम्पती

पोखरा-३१ पचभैयाका ७५ वर्षीय रेवतीरमण पौडेल र उनकी श्रीमती ६९ वर्षीया शान्तादेवी पौडेलका छोराछोरी छैनन्। सन्तान जन्माउने आशाले उनीहरू अस्पताल नगएका होइनन्। गण्डकी प्रदेशकै ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्न गए पनि उनीहरूका सन्तान भएनन्।

रेवतीरमणका परिवारमा उनीमात्र नि:सन्तान भने होइनन्। चार भाइमध्ये कान्छाका मात्र छोराछोरी छन् भने बाँकी तीन भाइ नि:सन्तान छन्। बुढ्यौलीले छोप्दै जाँदा सन्तानको आशा नै मरेर गयो। बच्चा जन्मिने सम्भावना पनि रहेन।

धेरैले बुढ्यौलीको सहारा मान्ने छोराछोरी नभएकोमा उनीहरूलाई अहिले कुनै सन्ताप छैन।

‘अचेलका छोराछोरीले नपाल्न पनि त सक्छन् नि,’ शान्तादेवीले भनिन्।

पोखरामा परिवार पालिन पुग्नेभन्दा धेरै सम्पत्ति उनीहरूसँग छ। पचभैयामा १६ रोपनी जग्गा अहिले पनि उनीहरूकै नाममा छ। वृद्ध दम्पतीले अंशमा पाएको किनबेसीमा ४ रोपनी धानखेत र घर भने बिक्री भइसकेका छन्। त्यही धानखेत र घर बेचेको पैसाले उनीहरूले गुजारा चलाएका छन्।

किनबेसीको धानखेत र घर भने उनीहरूले बचेको होइनन्। पचभैयाको १६ रोपनी जमिन पनि उनीहरूले अरूलाई नै दान चढाइसकेका छन्।

‘सम्पत्ति राखेर के नै गर्नु छ र,’ शान्तादेवीले भनिन्।

शान्तादेवीका श्रीमान रेवतीरमणले कान राम्रोसँग सुन्न सक्दैनन्। कान सुन्न लगाउने मेसिन पनि अहिले बिग्रिएको छ। नयाँ किन्न जानु पर्नेछ। त्यसो त उनीहरू नजिकैको लेखनाथ सामुदायिक लायन्स अस्पताल निरन्तर गइराख्छन्। दिन बिताउन र बुढ्यौलीको अत्यास मेट्न जाने गन्तव्य नै उनीहरुका लागि अस्पताल परिसर हो। यही अस्पतालका लागि यो दम्पतीले सर्वस्व दान गरेका छन्।

लेखनाथमा केही वर्ष अघिसम्म एउटा पनि अस्पताल थिएन। लेखनाथ हेल्थ पोष्टबाहेक कुनै स्वास्थ्य संस्था नहुँदा उपचार गर्न पोखरा धाउनु पर्ने बाध्यता थियो। शहरीकरण बढे पनि सुविधा बढेका थिएनन्।

यत्तिकैमा लेखनाथ लायन्स क्लबले सामुदायिक अस्पताल चलाउन २०६० फागुन १७ देखि २४ गतेसम्म महायज्ञको आयोजना गर्‍यो। महायज्ञमा पण्डित नारायण पोखरेलले कथा वाचन गरेका थिए। महायज्ञमा आर्थिक संकलन गर्न आयोजक लायन्स क्लबले लेखनाथ र वरिपरिका घरघरसम्म पुगेर दान संकलन गरिरहेका थिए।

दान संकलनमा खटिएको एउटा टोली रेवतीरमण-शान्तादेवीको घर पचभैया पुग्यो। उनीहरूले अस्पताल चलाउन दान दिन आग्रह गरे। नि:सन्तान दम्पतीले सर्वस्व दान गर्ने निर्णय गरे। महायज्ञ सुरू भएको ३ दिनपछि मात्र दम्पतीले यस्तो निर्णय लिएका थिए। त्यसअघिसम्म उनीहरू महायज्ञ हेर्नसमेत गएका थिएनन्।

महायज्ञमा सर्वस्व दान दिने घोषणा पण्डित पोखरेलले गरेपछि उनका कान्छा भाइ नजिकै गए। मेरो ठूलो दाइको सेवा गर्न पाउँ भने। तर दम्पतीले सबै सम्पत्ति अस्पताल बनाउन दिने र आफूहरू बाँचुञ्जेल अस्पतालले नै भरणपोषण गर्ने गरी निर्णय दिइसकेका थिए। कान्छा भाइको आग्रह उनले स्वीकार गरेनन्।

त्यसपछि रेवतीरमण-शान्तादेवी घरबारविहीन बन्न पुगे।

अहिले उनीहरू लेखनाथको मोहोरियास्थित हिमालयमार्गमा ४ वटा कोठा भाडामा लिएर बस्छन्। कोठा भाडामा बस्न थालेको जम्मा २ साता पुगेको छ। यसअघि अस्पतालकै छतमा रहेको कोठामा यी दम्पती ओत लागेका थिए।

अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्न अस्पताल व्यवस्थापन समितिले वैशाख ७ गते निर्णय गरेको थियो। त्यसपछि असार ६ गते आकस्मिक साधारण सभा बोलाएर व्यवस्थापन समितिले गरेको निर्णय अनुमोदन गर्‍यो। यही अनुमोदनपश्चात वृद्ध दम्पतीलाई अस्पताल बाहिर कोठा खोजेर सारिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमानाथ पौडेलले बताए।

महायज्ञमार्फत स्वदेश र विदेशबाट आमनागरिकले दान दिएर चलाएको अस्पताल साउन १ गतेदेखि सरकारी भएको छ। अस्पताललाई प्रदेशले ‘संक्रामक तथा सरूवा रोग’ अस्पतालका रूपमा चलाउने निर्णय गरेको छ।

सरकारले अस्पतालको स्वामित्व लिँदा वृद्ध दम्पतीको पालन-पोषणको जिम्मेवारी पनि प्रदेशले लिने समझदारी पत्रमा उल्लेख भएको अध्यक्ष पौडेलले बताए।

रेवतीरमण-शान्तादेवी दम्पतीले दान दिएको सम्पत्तिमध्ये किनबेसीको धानखेत र घरसमेत गरी ४ रोपनी जग्गा झन्डै १५ वर्षअघि नै अस्पताल व्यवस्थापनले बिक्री गरिसकेको छ। जग्गा बिक्रीबाट आएको १८ लाख १२ हजार ५ सय ५८ रुपैयाँ बैंकमा खाता खोलेर राखिएको छ। उक्त रकम दम्पतीको बसोबास र जिविकोपार्जनमा खर्च गर्ने गरी राखेकोको व्यवस्थापनले जनाएको छ।

दम्पतीको कोठा भाडा अस्पतालले नै तिरिदिन्छ। यसका अलवा अस्पताल प्रशासनले मासिक १४ हजार रुपैयाँ दिने गरेको शान्दादेवीले बताइन्। त्यही पैसाले उनीहरू चामल, नुन, तेल, तरकारीलगायत अत्यावश्यक खाद्यान्न र अन्य सामग्री किन्छन्।

अस्पतालले दिने मासिक रकम जोगाएर शान्दादेवीले १० हजार रुपैयाँमा स्मार्ट फोन पनि किनेकी छिन्। घर चलाउन चाहिने भाँडाकुँडा र अन्य सामग्री पनि त्यही पैसाले किनिन्। वृद्ध दम्पती आफ्नो घर, खेतलगायत सम्पत्ति दान दिएर भाडामा बस्दा पनि उत्तिकै खुसी छन्।

कोठामा दिनभर बस्दा उनीहरूलाई न्यास्रो लाग्छ। त्यतिबेला उनीहरू अस्पताल हिँडेर जान्छन्। अस्पताल वरिपरि घुम्छन्, स्वास्थ्यकर्मी र अरू कर्मचारीसँग गफिन्छन्। वृद्ध दम्पती अस्पताल परिसर सधैंजसो आइराख्ने अस्पतालका प्रशासन प्रमुख केदारनाथ लामिछानेले बताए।

‘अस्पताल जान मन लाग्छ, छोराछोरी ठानेर दान दिएको हेरिराख्न मन लाग्छ,’ शान्तादेवीले भनिन्, ‘अस्पताललाई छोराछोरीकै रूपमा हेर्छौं हामी।’

सरकारले लिए पनि अझै राम्रो हुने कुरा आफूले सुनेको दम्पतीले बताएका छन्। ‘अस्पताल अझै राम्रो भएर चल्दिए हुन्थ्यो,’ शान्तादेवीले भनिन्, रोग लागेर कोही नमरे हुन्थ्यो।’

Related Articles

Back to top button
Close