News

यस कारण रन्कियो खोकना

जुलुससहित भेला भएकाहरूले खोकनाको खुडोलमा यो शनिबार फेरि रोपाइँ गरे। यसपालि रोपाइँ थाल्नुअगावै प्रहरीहरू फर्किएकाले झडप हुन पाएन। अनिष्ट टर्‍यो।

दुई साताअघि भने काठमाडौं–तराई फास्ट ट्रयाकको यो ‘जिरो किलोमिटर’ मा दुवै पक्षबीच दोहोरो भिडन्त हुँदा धेरै जना घाइते भएका थिए।
यस्तो किन भइरहेको छ? यसरी भिडन्त चलिरहँदा जनप्रतिनिधिहरू किन सामुन्ने आइरहेका छैनन्?

यसको पृष्ठभूमि बुझ्न रोपाइँको सिजन सुरू हुनुभन्दा अगाडि फर्कनुपर्ने हुन्छ।

खुडोलको खेतीयोग्य ठूलो फाँटमा तीन किसिमका जग्गा छन्- सेनालाई प्यारासूट जम्प गराउन २०३४ सालमै सरकारले अधिग्रहण गरेको जग्गा, केही स्थानीयले हकभोग गर्दै आएको जग्गा र पछिल्लो समय फास्ट ट्रयाक बनाउन थप अधिग्रहण गरिएको जग्गा।
पछिल्लो समय अधिग्रहण गरिएका थुप्रै जग्गाको अहिलेसम्म मुआब्जा नै नलिएको स्थानीयको दाबी छ। नेपाली सेना भने सिकाली मन्दिरभन्दा उत्तरतर्फ सिँगो खुडोल फाँटमा फास्ट ट्रयाक बनाउन आवश्यक सम्पूर्ण जमिन आयोजनाको स्वामित्वमा आइसकेको दाबी गर्छ।

सेनाको भनाइअनुसार अब सिकालीभन्दा पारितर्फ १६५ रोपनी जग्गा मात्र अधिग्रहण गर्न बाँकी छ। खुडोलतर्फ कुनै विवाद नरहेको सेना बताउँछ।

यसैबीच खोकनाका कृषकले यसपालिको रोपाइँ सिजनमा खुडोलको जग्गामा धान रोप्न चाहेको वडाध्यक्ष रविन्द्र महर्जन बताउँछन्। सेनाले अधिनमा राखेका कतिपय जग्गाको मुआब्जा जग्गाधनीले नलिएको दाबी गर्ने महर्जनका अनुसार ‘मुआब्जा लिएको वा नलिएको जुनसुकै जग्गा भए पनि किन बाँझो रहन दिने?’ भन्ने सोचअनुसार गाउँलेहरूको टोली लिएर उनी खुडोलस्थित सैनिक क्याम्प पुगेका थिए।

‘यसपालि कोभिड-१९ ले खाद्यान्न संकट बढ्लाजस्तो छ। त्यसैले यहाँका जमिनलाई त्यसै खेर जान नदिएर रोपाइँ गर्न अनुमति दिनुपर्‍यो,’ उनले क्याम्पका सैनिकहरूलाई भने।
जवाफमा सेनाले पनि ‘राम्रै कुरा हो’ भन्दै ‘यसका निम्ति लिखित रूपमै एउटा चिठी पत्राचार गरिदिनुस्’ भनेर जवाफ दिए।

त्यसैअनुसार आफूले वडा समितिबाट पत्र लेखेर सेनालाई पठाएको वडाध्यक्ष महर्जन बताउँछन्।

‘त्यसरी पत्र पठाएको १५ दिनसम्म केही भएन,’ उनले भने, ‘त्यसपछि जनताले ट्याक्टर लगेर आफैं जोत्न सुरू गरे। उताबाट रोक्ने काम भयो।’

विवाद जिल्ला प्रशासन कार्यालय पुग्यो। प्रशासनले ठाडै ‘सरकारी जग्गामा रोपाइँ गर्न पाइँदैन’ भनेर जवाफ फर्कायो। विवादकै बीच असार १५ गते खोकनावासीले खुडोलमा पुगेर रोपाइँ सुरू गरे।

मुठभेड हुने अवस्था आयो।

‘जनता र प्रहरीबीच झडप भएर अनर्थ ननिम्तियोस् भन्दै हामी पनि त्यहाँ गयौं,’ वडाध्यक्ष महर्जन भन्छन्, ‘बल्लतल्ल स्थिति शान्त भयो।’
त्यसै दिन बेलुकी चार बजे ललितपुर जिल्ला प्रशासन कार्यालयले यसबारे बैठक बस्न सूचना पठायो। सिडिओ, सेनाका अधिकृत, महानगर प्रमुख चिरिबाबु महर्जन, सांसद पम्फा भूषालदेखि वडाध्यक्ष महर्जनसमेत बैठकमा सरिक थिए।

बैठकमा उपस्थित सैनिक अधिकारीहरूका अनुसार जनप्रतिनिधिले ‘अहिले संकटको बेला छ, त्यसैले जति खेतमा रोपाइँ भयो त्यसलाई रहन दिउँ। रोपाइँ गरेको किसानलाई उसको बाली काटेर खाने बेलासम्म बाधा अवरोध नगरौं। बदलामा अब थप जग्गामा रोपाइँ गर्न स्थानीयवासीलाई रोक्छौं। यसो गर्दा दुवै पक्षको ‘विन-विन सिचुएसन’ हुन्छ’ भनेर प्रस्ताव राखे।

तीन घन्टासम्म बैठक बसेपछि असार १५ गते बेलुकी त्यो सहमति कायम भएको स्वयं वडाध्यक्ष महर्जन स्विकार्छन्।

उक्त बैठकमा अबउपरान्त वडा कार्यालयहरूले कुनै पनि पत्राचार गर्नुपरे सोझै नगरप्रमुखलाई पत्र लेखेर पठाउने र त्यसअनुसार नगरप्रमुखले सिडिओसहित सम्बन्धित मन्त्रालयमा कुरा पुर्‍याउने सहमति पनि भएको थियो।

तर, असार २० गते फेरि स्थानीयवासीले खुडोलमा गएर खेती गर्न खोजे। प्रहरीले रोक्ने प्रयास गर्‍यो र झडप भयो। ‘त्यहाँ सम्झौता उल्लंघन भएको सत्य हो,’ वडाध्यक्ष महर्जन स्विकार्छन्।

सेना भने यही व्यवहारले परिस्थिति जटिल बन्दै गएको बताउँछ।

‘जनप्रतिनिधिहरूले हामीसँगको बैठकमा एक किसिमको सहमति गर्ने र उता सहमतिविपरीत काम गर्ने प्रवृत्तिले अप्ठेरो भइरहेको छ,’ उनीहरू भन्छन्, ‘यस्तो अवस्थामा अब कसले कसको कुरा पत्याउने?’

यता जनप्रतिनिधिहरू पनि कम्ता चेपुवामा परेका छैनन्।

असार २० गते झडप भएपछि आक्रोशित गाउँलेले आफ्ना नेताहरूको पुतला मात्र जलाएनन्, वडा कार्यालयमै ताल्चा लगाइदिएका छन्। खोकनाका चोकहरूमा ‘पम्फा भूषाल निषेधित क्षेत्र’ भनेर पोस्टर टाँसेका छन्। भूषाल त्यहाँकी निर्वाचित सांसद हुन्। आफूहरू खेतमा रोपाइँ गर्न जाँदा यी नेता घटनास्थलमा उपस्थित नभइदिएको आक्रोश स्थानीयको छ।
म रुद्रायणी मन्दिरछेवैको त्यसै चोकमा उभिएको थिएँ, जहाँ यी सारा गतिविधि मात्र होइन, भर्खरै गाउँलेहरूको कोणसभा चलिरहेको थियो। त्यहाँ फास्ट ट्रयाक लगायत खोकनामा प्रस्तावित आयोजनाहरूको विरोधसँगै आफ्नै जनप्रतिनिधिहरूलाई धुन्धान गाली गरिँदै थियो।

त्यसै कोणसभामा एकैछिन झुलुक्क देखिएका थिए, खोकनाका ४६ जना जीवित देउतामध्ये एक माइलाकाजी महर्जन।

म उनीसँग खोकनाको धर्म, परम्परा र कृषिकर्म आपसमा कसरी जोडिएका छन् भन्ने बुझ्न चाहन्थेँ। हामीले खोकनाको जनजीवन, परम्परा र रीतिथितिको गहिराइ ननापेसम्म उनीहरूको आक्रोशको अर्थ उधिन्न सक्दैनौं।

तर, माइलाकाजी एकछिनमै हराए। भोलिपल्ट पनि खोकना पुग्दा उनी भेटिएनन्। बरू उनीजस्तै जीवित देउताका पुत्र रामहरि महर्जन फेला परे। पाटनस्थित निस्ट कलेजबाट स्नातक गरेका रामहरि मलाई खोकनाका बारेमा बुझाउन तयार भए।

‘मेरो बुवा ‘केँ’ (ट्याम्का जस्तो बाजा) बजाउने देवगण हो,’ उनले भने, ‘यो देउता बन्ने दायित्व हाम्रो परिवारमा परम्परादेखि चल्दै आएको छ।’

उनका अनुसार रुद्रायणी गुठीसँग आबद्ध यी ४६ वटै देउताहरू तोकिएका निश्चित परिवारबाटै आउने गर्छन्। हरेक पुस्ताका जेठा सन्तानले पिताले गर्दै आएको कामलाई निरन्तरता दिनुपर्ने हुन्छ।

यो दायित्व सम्हाल्न सजिलो भने छैन। कतिपय तिथिहरूमा पानीसमेत नपिएर दिनभरि बस्नुपर्ने हुन्छ। वर्षमा एकपटक नौ दिनसम्म भोकै बस्नुपर्छ। त्यसैगरी कुखुरा वा बंगुरका मासु, अन्डा, लसुन, प्याज केही खान पाइँदैन।

‘कुखुरा त यो सिंगो बस्तीकै निम्ति वर्जित छ,’ उनले भने, ‘त्यसैले यहाँ आएका मानिस जताततै हाँस मात्रै देखेर अचम्म मान्छन्।’

रुद्रायणी देवीलाई कुखुरा बलि वा कुखुराको अन्डा स्विकार्य नभएकाले यस्तो अवस्था आएको हो। कसैले झुक्किएर कुखुरा चढाइहालेछन् भने पनि अनर्थ हुने विश्वास गाउँलेहरूमा छ। बरू हाँस चाहिँ देवीलाई स्विकार्य भएकाले सिंगो गाउँलेले पाल्दै आएका छन्।

विशेषतः जात्रामा नाचगान गर्ने यी देवगणले लामा-लामा कपाल पालेका हुन्छन्। सेतो पोसाक उनीहरूको पहिरन हो। ४६ जनामध्ये १४ जनाको त कामै नृत्य गर्ने हुन्छ। उनीहरू मुखौटा लगाएर नाच्छन्। बेग्लाबेग्लै देवताका बेग्लाबेग्लै मुखौटा तोकिएको छ। बाँकी देवगणले बाजा बजाउनेदेखि जात्रा र भोजभतेरका विभिन्न दायित्व सम्हाल्छन्। यसरी ४६ जना देवगण हुनुको अर्थ सम्पूर्ण परम्परागत आवश्यक काम सम्पन्न गर्ने एउटा सेट हो।

‘मेरो बुवा त्यसैमध्ये एक हो,’ रामहरिले भने, ‘बुवापछि यो दायित्व मेरो जेठो दाइमा सर्छ।’

यसरी दायित्व सरेपछि पिताले बजाएकै बाजा उनले पनि बजाउनुपर्नेछ। त्यस निम्ति निश्चित अवधिको तालिम रुद्रायणी देवगण गुठीले नै उपलब्ध गराउनेछ।

पितापछि देवगणको दायित्व निर्वाह गर्नुपर्ने उनका दाइले १२ कक्षासम्म पढेका छन्। अहिलेसम्म परम्परालाई लिएर कुनै बाधा विरोध नगरेका हिसाबले पितापछि सहजै दाइमा यो दायित्व आउने विश्वास रामहरिले लिएका छन्।

‘नत्र मैले भए पनि यसलाई निर्वाह गर्नैपर्ने हुन्छ,’ उनले भने, ‘हामीले संस्कृति चाहिन्छ भनेपछि त्यसलाई मान्नै पर्छ र निरन्तरता दिनै पर्छ।’

नाचगानदेखि भोजभतेरको बन्दोबस्त गर्ने मानिसलाई देउता चाहिँ किन भनिएको हो?

‘हामीले ढुंगालाई त पूजा गरेर देउता मानिरहेका छौं,’ उनले भने, ‘परम्परा चलाएर धर्मको त्यत्रो सेवा गर्ने मानिसलाई उहिलेदेखि देउता नै भनिँदै आएकोमा हामीले त्यसैलाई मान्दै आएका छौं।’

यसरी निर्धारण गरिएका देवगणको एक मात्र मुख्य काम जात्रा-परम्परालाई अघि बढाउनु हो।

‘हाम्रो सबभन्दा ठूलो जात्रा चाहिँ बाह्र वर्षमा एकपटक आउने गर्छ,’ उनले भने, ‘त्यति बेला हाम्रा देउताहरूलाई पाटन, काठमाडौं, मच्छेगाउँ सबैतिर लगेर नचाइन्छ।’

अबको दुई वर्षपछि त्यो बाह्रवर्षे जात्रा आउने रहेछ। त्यति बेला उपत्यकाका सबैजसो दरबार क्षेत्रमा खोकनाका नृत्य देखाइने छन्। ४६ जना देवगणसहित ठूलै टोली सबैतिर पुग्छन्।

‘त्यो मेला अवधिभर खोकनामा अन्य कुनै पनि बाजागाजा बजाउन निषेधित गरिएको हुन्छ,’ उनले भने, ‘टिभीधरि हेर्न पाइँदैन।’

त्यसैगरी मानिसहरूले नुहाउन, लुगा धुन, कपालमा तेल लगाउनदेखि छालाका जुत्ता, चप्पल केही लगाउन पाउँदैनन्।

‘पर्यटक बनेर कोही आए पनि जुत्ता फुकालेरै पस्नुपर्छ,’ उनले भने, ‘बरू हामीले नै उनीहरूका निम्ति परालको चप्पल व्यवस्था गरिदिएका हुन्छौं।’

यसरी यी सारा परम्परालाई निरन्तरता दिइरहनुका पछाडि कुनै लाभभन्दा आस्था मात्रै कारण रहेको रामहरिले बताए। उनका अनुसार कसै-कसैले भने गुठीको जग्गा कमाएर खानसम्म पाइरहेका छन्।

रामहरिका अनुसार त्यो बाह्रवर्षे मेलाबाहेक वर्षको तीनपटक यी देवगणले नाच्नुपर्ने जात्रा आउने गर्छ। दसैं बेला एकपटक सिकालीमा र दुईपटक तल, दसैंपछि पूर्णिमामा एकपटक र गाईजात्रामा एकपटक।

दसैंको प्रसंग आउनेबित्तिकै उनले आँखीभौं उचाले।

‘हामी दसैं मान्दैनौं नि!’

यति भनेपछि उनले एकछिनसम्म मेरो अनुहारको प्रतिक्रिया नियाले।

‘किन?’

‘हामी नेपाल भाषामा मनी नखः भन्छौं,’ उनले थपे, ‘त्यो बेला मन पूजा हुन्छ।’

नेपालका बाँकी ठाउँमा जति बेला टीका र जमरा लगाएर मानिसहरू आफन्त भेट्दै हिँड्छन्, त्यति बेला खोकनावासी कालो टीका लगाउँदा रहेछन्।

‘टीका जमरा भन्ने त हुँदै हुँदैन,’ उनले भने, ‘बरू नौरथाकै बेला सिकाली जात्रा हुन्छ

घटस्थापनाको भोलिपल्टदेखि सुरू हुने सिकाली जात्रा फूलपातीसम्मै चल्छ। त्यति बेला गाउँभरिका मानिस आधा घन्टा पर ढिस्कोमा रहेको सिकालीको चउर पुग्छन्। जाँदाखेरि पनि बाटोमै चिबा (किराँतकालीन चैत्य) छ। सिकाली उक्लेपछि कालीको अर्को मन्दिर छ।

‘जात्राभरि त्यहीँ थुप्रै गतिविधि हुन्छन्,’ रामहरिले थपे, ‘हाम्रो दसैं यिनै ठाउँमा जात्रा मनाएर सम्पन्न हुन्छ।’

रामहरिका अनुसार अन्यत्रका नेवारले पनि बाह्य समाजसँगको घुलमिलले मात्रै टीका-जमरा लगाउन थालेका हुन्।

आफूहरूले अन्यत्रजस्तो दसैं नमान्नुका पछाडि पृथ्वीनारायण शाहको प्रभाव यो गाउँमा नपरेकाले हो भन्ने रामहरिको धारणा छ। काठमाडौंको छेउमै भए पनि पछिसम्म एक्लिएर बाँचेको खोकनामा यो भनाइ पत्यारलाग्दो पनि देखिन्छ।

‘बाँकी नेपालले दशमीदेखि पूर्णिमासम्म टीका लगाइरहँदा हामी सिना ज्या गर्छौं,’ उनले भने, ‘त्यति बेला हाम्रा खेतीकै औजारहरूको पूजाआजा हुन्छ। त्यसैको टीका लगाउँछौं र समयबजी खान्छौं।’

अर्थात् खोकनामा परम्परादेखि आजसम्मै गढेर बसेको प्रभाव भनेकै केवल कृषि परम्परा हो, जुन खोकनामा कति गहिरो छ भन्ने कुरा मैले वडाध्यक्ष रविन्द्र महर्जनसँगका कुराकानीमा पनि महशुस गरेको थिएँ।

अबको दुई सातामै जनैपूर्णिमा आउँदैछ। त्यसको भोलिपल्ट मुलुकभर गाईजात्रा मनाइन्छ। तर, खोकनामा? अहँ…

‘जनैपूर्णिमाको दिन त हामीले भ्यागुतालाई पूजा गर्ने दिन हो,’ वडाध्यक्ष महर्जनले भने, ‘हाम्रो खेतीमा सघाइदिएबापत् खेत-खेतमै पुगेर उनीहरूलाई खुवाउने।’

‘ब्याँ जा नकिगु पुन्हीः’ अर्थात् भ्यागुतालाई भात खुवाउने पूर्णिमा।

सम्पूर्ण जीवन प्रणाली कृषिबाटै अघि बढेको खोकनाको चाडपर्वदेखि लिएर सिंगो अस्तित्व कृषिसँगै जोडिएको छ।

‘सुरूमा त पानी मागेर खेत रोप्न सहयोग गरिदिएबापत्,’ उनले भ्यागुता पूजा गर्नुका कारण खुलाए, ‘त्यसपछि धान सप्रिउन्जेल खेतबारीमा लागेका कीरा फट्यांग्रा पनि उनीहरूले नै खाएर नियन्त्रण गरिदिन्छन्।’

यसरी गुण लगाइदिएबापत् कृषकहरूले ‘धन्यवाद’ दिन खोकनामा जनै पूर्णिमा होइन, त्यसै दिन भ्यागुता पूजा पर्व मनाइन्छ।

‘असारको मध्यदेखि रोपाइँकै चटारो चलिरहन्छ,’ महर्जनले भने, ‘पूर्णिमाको दिन पारेर बल्ल फुर्सदको अनुकूल समयमा हामी भ्यागुतालाई त्यो गुणको बदला गुणले तिर्छौं।’

त्यस दिन खोकनाभर प्रत्येक घरमा मानिसले आफूले खाना खानुअघि भ्यागुताका निम्ति भाग छुट्याउने गरिन्छ। त्यसरी भाग नछुट्याएर खाने परिवार आज पनि खोकनामा नपाइने वडाध्यक्ष महर्जनको दाबी छ।

‘त्यसपछि आ-आफ्ना खेतमा गएर छुट्याइएको भाग भ्यागुतालाई चढाइन्छ,’ उनले थपे, ‘त्यसैगरी मठ-मन्दिरमा पनि चढाइन्छ।’

वडाध्यक्ष महर्जनका कुरा सुनिरहँदा मलाई भ्यागुताको बयान गरेर कहिल्यै नथाक्ने इतिहास तथा संस्कृतिविद् गौतमबज्र बज्राचार्यको सम्झना भयो। इतिहास संशोधन मण्डलका विद्यार्थी उनी ३० वर्षसम्म अमेरिकाको मेडिसनस्थित विस्कन्सिन विश्वविद्यालयमा पढाएपछि हाल ‘प्रोफेसर एमेरिट्स’ छन्।

बज्राचार्यले अमेरिकाकै प्रसिद्ध रुबिन म्यूजियमको निम्ति तयार पारेको पुस्तक ‘रेन्स एन्ड रिचुअल्स’ मा मात्र होइन, आफ्नो जीवनकै महत्वपूर्ण बताउने पुस्तक ‘फ्रग हिम एन्ड रेन बेबी’ पनि भ्यागुतामाथि नै लेखेका छन्।

‘श्रावण शूक्ल पूर्णिमाभन्दा झन्डै अढाइ महिना अगाडिदेखि ट्वारट्वार गर्ने भ्यागुताको चरित्रलाई ऋग्वेदसँग जोडेर बुझियो भने अझ रोचक बन्न पुग्छ,’ गत वर्ष नेपाल आएका बेला यो संवाददातालाई उनले भनेका थिए, ‘त्यसैगरी श्रावण शुक्ल पूर्णिमाको दिन भ्यागुता कराउन सुरू गर्दा वैदिकहरूले मन्त्रोच्चरण सुरू गर्ने वर्णन ऋग्वेदमै उल्लिखित छ।’

यो हिसाबले नै भ्यागुता पूजा गरेकै क्षण ब्राह्मणहरूले जनै परिवर्तन गर्नु सान्दर्भिक हुन आउने उनको ठहर छ। ‘किनभने जनै पनि वेदसँग जोडिएको हिन्दु पवित्र सूत्र हो,’ उनले भनेका थिए।

यसरी बाँकीको ‘वैदिक’ नेपालले जनैपूर्णिमा मनाइरहँदा खोकनाका ‘कृषक’ वासिन्दा भने भ्यागुताको पूजामा मग्न हुने गर्छन्।

‘अरू पनि धेरै कुराले हामी बाँकी नेपालभन्दा बेग्लै छौं,’ वडाध्यक्ष महर्जनले भने, ‘सबैतिर जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा मनाइन्छ, जबकि हामी त्यसै दिन ‘धँ ज्या जात्रा’ मनाउँछौं।’

यो धँ ज्या जात्राको दिन रुद्रायणीलाई निकालेर खटमा राखिन्छ। त्यसपछि उत्सवका रूपमा खट उचालेर सिकाली पुर्‍याइन्छ।

यसरी देउता निकाल्ने, खटमा राख्ने र सिकालीसम्म लैजाने जात्राको अगुवाइ देउताको मुख्य हेरचाह गर्ने गुठीका मुख्य नाइकेहरूले गर्छन्। तिनै गुठीयारहरूलाई पछ्याउँदै गाउँलेहरू पनि साथसाथै जान्छन्।

सिकाली लगेर पूजाआजा गरिसकेपछि त्यो मूर्तिलाई त्यसै साँझ फेरि खोकना फर्काइन्छ। यसरी फर्काएको मूर्तिलाई तल रुद्रायणी स्कुलको छेउमा रहेको अर्को पोखरीमा विराजमान गराउने र स्नान गराउने काम हुन्छ। त्यसै दिन ब्रत बसेकाहरूले पूजा पनि गर्छन्। त्यसपछि फेरि खटमा राखेर कोयलाक्षीमा ल्याइन्छ। त्यहाँ फेरि जात्रा हुन्छ। त्यसपछि बल्ल कोयलाक्षीकै जितापुर मण्डपभित्र राखिन्छ।

त्यहाँ वडा कार्यालयका तर्फबाट पूजा दिनुपर्छ। पहिले गाविसले दिने त्यो पूजालाई ‘सरकारी पूजा’ भन्ने गरिएको छ।

‘त्यति बेला हामी गाउँका जननिर्वाचित प्रतिनिधिहरूले लश्करै समूहमै गएर पूजा दिनुपर्ने चलन छ,’ वडाध्यक्ष महर्जन भन्छन्, ‘वडाकै तर्फबाट बलि पनि दिइन्छ।’

यति गरिसकेपछि खोकनाका ४६ जना देउताहरू पूजा गर्न जान्छन्।

यो पूजा गरिसकेपछि पनि जात्रा सकिँदैन। किसानहरूको आखिरमा सबभन्दा ठूलो भरथेग त उही कृषिका सामग्री र औजारहरू हुन्।

‘त्यसपछि कृषिका औजारहरूको पूजा हुन्छ,’ वडाध्यक्ष महर्जन भन्छन्, ‘गाउँभरि जे-जति सामग्री प्रयोग गरेर खेती गरिएको छ, ती सबैको घरघरै पूजा गर्नुपर्ने हुन्छ।’
महर्जनका अनुसार यसरी कृषिका औजार र सामग्रीहरूको पूजा गर्ने उत्सव खोकनामा वर्षभरि पटक-पटक आउने गर्छ।

त्यसपछि तेस्रो दिन भने बल्ल खोकनामा गाईजात्रा मनाइन्छ। देशभरि अघिल्लै दिन मनाइएको यो जात्रा बेला पितृहरूको सम्झनामा झाँकी निकाल्ने उही काम यहाँ पनि गरिन्छ। तर, त्यतिमा मात्रै सीमित हुँदैन।

त्यसै दिन यहाँको रुद्रायणीसँगै रहेको मुख्य पोखरी ‘दे पुखु’ मा बाख्रा डुबाएर मार्ने अर्थात् ‘चोले च्वँ’ पर्व मनाइन्छ। खोकनामा रहेका यस्ता छवटा पोखरी भित्रभित्रै मल्लकालीन भूमिगत राजकुलोबाट जोडिएको स्थानीय बताउँछन्। अध्येताहरूले खोजी गर्दा त्यसरी जोड्ने संरचनाको अस्तित्व भने भेटिएको थिएन। यद्यपि सिँचाइका निम्ति ल्याइएको मुलुककै पुरानोमध्येको कुलो जोडिएको ठाउँ खोकना पनि एक हो।

विगतमा कृषिदेखि धार्मिक, सांस्कृतिक, घर-घरायसीसम्मका निम्ति प्रयोग हुने यी पोखरीमा प्राचीन कालमा धमाधम बच्चा डुबेर मर्न थालेपछि बाख्रालाई त्यसरी अर्पित गर्नुपरेको तर्क खोकनावासी अगाडि सार्छन्। ‘दुष्ट आत्माको चित्त बुझाउन यसो गरिएको’ भनिन्छ। जबकि, अहिले त एकातिर यी पोखरीले प्रदूषणको मात्रा नाघ्न थालेपछि र अर्कातिर पानीका अन्य विकल्प पनि थपिँदै गएपछि यस्तै परम्परागत जात्रालाई निरन्तरता दिनुबाहेक यी पोखरीसँग मानिसको सम्बन्ध विस्तारै टाढिँदै गइसकेको देखिन्छ।

यस्तो अवस्थामा आजको युगमा पनि प्राणीलाई लुछेर मार्नेजस्तो परम्परा खोकनामा जीवितै छ। यसलाई पछिल्लो समय बाह्य समाजले निन्दा गर्न थालेको छ।

खोकनाका यी तमाम परम्परा गुठीहरूले नै गर्दै आएका छन्। त्यसनिम्ति गुठीका आफ्नै सम्पत्ति छन्। आमजनताले पनि भरथेग गरिदिन्छन्। यो सबैको आधार चाहिँ उही कृषि हो।

कुनै बेला बल्खुबाट फर्पिङ जाने पक्की बाटो बनेको थिएन। त्यति बेला सिंगो काठमाडौं उपत्यका यही खोकना भएर दक्षिणकाली दर्शन गर्न जान्थ्यो। अझ अगाडिको कुरा गर्ने हो भने काठमाडौं उपत्यकालाई भारतसँग जोड्ने प्राचीन बाटो पनि यही कृषक बस्ती भएर दक्षिणतर्फ लाग्ने गरेको बताइन्छ।

आज फेरि सिंगो मधेससँग द्रुत गतिमा जोडिन काठमाडौंले यतैबाट निकास खोजिरहेको अवस्था छ।

परम्परागत यात्रीहरूजस्तै भोलि तीव्र गतिमा मधेसतर्फ हुइँकिनेहरूले पनि खोकनाका तिनै पहेँलपुर तोरीका फाँट हेर्दै यात्रा गर्न पाउलान्? अबको श्रृंखला यिनै प्रश्नहरूमा प्रवेश गर्नेछ।

शृंखला १- एक्लिएको गाउँमा जब ‘विकास’ पस्यो
शृंखला २- ‘सारा खोकना लड्न-भिड्न तयार देखिएला, तर हाम्रो कथा अर्कै छ’

Related Articles

Back to top button
Close