International

अक्सफोर्डले बनाएको कोरोना खोप प्रभावकारी र सुरक्षित भएको दाबी

बेलायतले १० करोड डोज अर्डर गरिसक्यो
लन्डन — कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलता प्राप्त भएको बेलायतको अक्सफोर्ड विश्वविद्यालयले दाबी गरेको छ । विश्वविद्यालयले निर्माण गरेको खोप मानिसमा परीक्षण गर्दा सुरक्षित पाइएको दाबी गरेको हो।

खोपको परीक्षणमा कोरोनाविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता विकास भएको विश्वविद्यालयले बताएको छ । कोरोनाविरुद्धको खोप निर्माणमा विश्वभर भइरहेको प्रयासमा यो ठूलो सफलता प्राप्त भएको चिकित्सकहरु बताउँछन् ।

विश्वविद्यालयका अनुसार यो खोप परीक्षणमा एक हजार ७७ जनालाई सहभागी गराइएको थियो । परीक्षणमा सहभागी गराइएका व्यक्तिमा कोरोनाविरुद्ध लड्न सहयोग पुऱ्याउने ह्वाइट ब्लड सेल र एन्टीबडी विकास भएको पनि विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । तर यो खोपले कोरोना संक्रमण पूरै निको हुने नहुने भन्ने कुरा भने अहिले नै भन्न नसकिने चिकित्सकहरु बताउँछन् । अक्सफोर्ड विश्वविद्यालयले खोप सुरक्षित भएको बताएसँगै चिकित्सा विज्ञानमा खुसियाली छाएको बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स ग्यालाहर बताउँछन् ।

बेलायतले यसअघि नै यो खोपको १० करोड डोज अर्डर गरिसकेको पनि बीबीसीले उल्लेख गरेको छ ।

खोपले कसरी काम गर्छ ?

यो खोपलाई ChAdOx1 nCoV-19 नाम दिइएको छ । यसको निर्माण तीव्र रुपमा गरिएको बताइएको छ । ‘जेनेटिकल्ली इन्जिनियर्ड भाइरस’ को सहयोगमा यो खोप निर्माण गरिएको वैज्ञानिकहरु बताउँछन् । यो भाइरसले चिम्पान्जीमा सामान्य रुघाखोकी लाग्ने गर्दछ । यस भाइरसलाई निकै परिष्कृत गरिएको छ, ताकि यसले मानिसमा संक्रमण नहोस् भनेर सावधानी अपनाइएको छ ।

कोरोना भाइरसविरुद्धको खोप निर्माणमा धेरै ध्यान एन्टिबडीमा गएको छ, तर यो पनि हाम्रो शरीरको प्रतिरोधात्मक क्षमताको एउटा भाग भएको चिकित्सक बताउँछन् । एन्टिबडी मानिसको शरीरको प्रतिरोधात्मक प्रणालीद्वारा तयार स–साना प्रोटिन हुन् जुन भाइरसको सतहमा टाँसिएर रहेको हुन्छ ।

एन्टिबडीले कोरोना भाइरसलाई निष्क्रिय राख्ने क्षमता राख्दछ । ह्वाइट ब्लड सेलकै एक प्रकार रहेको ‘टी–सेल’ ले प्रतिरोधात्मक क्षमतालाई सहयोग पुऱ्याउँछ । यसले शरीरको कुन–कुन भागमा भाइरसको संक्रमण रहेको छ भन्ने कुरा पनि पत्ता लगाउने र त्यसलाई नष्ट गर्ने काम गर्दछ ।

सुरक्षित छ त ?

यो भ्याक्सिन सुरक्षित भए पनि केही साइड इफेक्टहरु भने हुने चिकित्सक बताउँछन् । तर यसको साइड इफेक्ट जोखिमपूर्ण भने नभएको बताउँछन् । परीक्षणमा सहभागीमध्ये ७० प्रतिशतलाई ज्वरो आउने र टाउको दुख्ने भएको अनुसन्धानकर्मी बताउँछन् । तर प्यारासिटामोल दिएर त्यसलाई समाधान गर्न सकिने पनि उनीहरु बताउँछन् ।

‘कोरोना निको हुनका लागि यसले शतप्रतिशत काम गर्छ भनेर हामीले घोषणा गर्नुभन्दा पहिले अझै धेरै काम गर्न बाँकी रहेको छ । तर सुरुवाति नतिजाले हामी निकै नै आशावादी रहेका छौं,’ अक्सफोर्ड विश्वविद्यालयकी प्रोफेसर सारा गिल्बर्टले भनिन् ।

अझै पनि यो खोप पूर्ण रुपमा सुरक्षित रहेको छ छैन भन्ने कुरा पत्ता लगाउन यसको परीक्षण बढाइने बताइएको छ । अर्को चरणमा बेलायतमा थप १० हजारभन्दा बढी व्यक्तिको यो खोपको परीक्षण हुनेछ । खोपको प्रभावकारिताबारे थप अध्ययन अनुसन्धानका लागि अमेरिकामा ३० हजार, दक्षिण अफ्रिकामा २ हजार र ब्राजिलमा ५ हजार जनामा यसको परीक्षण हुनेछ ।

कहिलेदेखि सर्वसुलभ रुपमा पाइन्छ त खोप ?

यसै वर्ष कोरोनाविरुद्ध यस खोपले काम गर्ने प्रमाणित भए पनि सर्वसुलभ रुपमा भने यो नपाइने चिकित्सकहरु बताउँछन् । सबैभन्दा पहिले बढी उमेरका र स्वास्थ्य अवस्था जटिल भएका संक्रमितलाई प्राथमिकता दिइने चिकित्सक बताउँछन् । सबैकुरा योजनाअनुरुप अघि बढेमा अर्को वर्षसम्म कोरोनाविरुद्ध खोप पाइन सक्ने उनीहरु बताउँछन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि यसै वर्ष वा अर्को वर्षसम्म कोरोना भाइरसविरुद्धको खोप विकास हुने कुरामा आफू शतप्रतिशत ढुक्क भएको बताएका छन् ।

Related Articles

Back to top button
Close