News

कलंकीको रुद्रबजार मलको सबै भाडा मिनाहा, ६ महिनासम्म ५० प्रतिशत छुट

काठमाडौं। पछिल्लो समय काठमाडौंमा घरबेटीका बारेमा विभिन्न समाचारहरु बाहिरिने गरेका छन्। कोरोना भाइरसको उच्च जोखिमबाट बच्नको लागि लामो समयदेखि निरन्तरता पाइरहेको लकडाउनको समयमा धेरै घरबेटीका समाचारहरु बाहिरिएका हुन्। कतिपय घरबेटीले कोठामा बस्नेलाई निकालेको समाचार आए, कतिपयले लकडाउनको समयमा सहयोग गरेर चर्चामा रहे।

यसरी भन्दा घरभाडाको बिषयले चर्चा पाएको छ। व्यापार व्यवसाय ठप्प छन्। दिनभर गरिएको व्यापारबाट तरकारी किन्न नपुग्ने व्यापारिले गुनासो गर्छन्। महामारीले समग्र सबैलाई प्रभाव त पारेकै छ। काठमाडौंका घरबेटीहरुले रुनु न हाँस्नु भएको बताउँदै आएका छन्।

एकातर्फ बैंकको ऋण, अर्को तर्फ सरकारले दिएको घरभाडा छुटको निर्णय दोधारमा परेकाबेला पनि कलंकीको मुख्य बजार मानिने रुद्र बजारमलका घरबेटीले भने यतिबेला ठूलो छाती बनाएर मलको सम्पूर्ण लकडाउन अवधिभरको भाडा मिनाह गरेका छन्।

‘व्यापार व्यवसाय बन्द छ। आम्दानी ठप्प छ। व्यवसायी चिन्तित छन्’, रुद्रबजारमलका घरबेटीले भने, ‘उनीहरुको अवस्था देखेर मलभाडा छुट गरिदिएको हुँ।’ मासिक ३ लाख भन्दा बढी घरभाडा उठाउने रुद्रबजारमल धनिले तीन महिनाको मलभाडा शतप्रतिशत छुट दिएका हुन्।

बाँकी ६ महिनासम्मको भाडामा ५० प्रतिशत छुट दिने भएको परिवारका एक सदस्यले बताए। ‘अहिलेसम्मको अझ भनाैं तीन महिनाको चाँहि पुरै छुट र बाँकी ६ महिनासम्म ५० प्रतिशत छुट दिने भएका छौं।’ केही समय अगाडि आफ्नो परिवारका सदस्य गुमाएका उनीहरुले स्वर्गीय वासूदेव केसीको सम्झनामा व्यवसायीलाई केही राहत होस् भन्ने उदेश्यले मलभाडा छुट दिएका हुन्।

प्रशंसायोग्य काम गरेका परिवार कतै आफ्नो कार्यको उच्च मुल्याङ्कन गरिएता पनि कतै भने मिडियामा देखिनकै लागि गरिएको सहयोग भनी टिप्पणी गरिने भएकाले यस बिषयमा धेरै बोल्न नचाहने बताउँछन्।

दर्जन भन्दा बढी व्यापार र बाँकी अन्य कार्यालय रहेको रुद्रबजारका व्यवसायी मलभाडा छुट पाएकोमा औधी खुशी देखिन्छन्। लकडाउनको कारण प्रत्यक्ष मारमा परेका सोही मलमा व्यापारव्यपसाय गर्ने व्यवसायी मलभाडा छुट दिएकोमा मल धनीप्रति कृतज्ञता व्यक्त गरेका छन्।

‘हामीहरु साँच्चै मारमा नै छौं। धन्य छ उहाँहरुलाई धेरै सहयोग गर्नुभयो।’ लामो समयसम्म ठप्प रहेको व्यापार व्यवसायबाट नै आफ्नो रोजिरोटी चलाउदै आएका उनिहरुलाई यस समयमा दुई छाक टार्न नै कठिन रहेको बताउँछ्न्। हाम्रा मात्रै समस्या होइन तर हामीलाई अहिले घरभाडा तिर्न त परको कुरा दुई छाक खान पनि कठिन परेको छ।

अफ्ट्यारो परिस्थितिमा मलधनिले उपकार आफ्नो लागि ठुलै राहत भएको भन्दै उनिहरु थप्छ्न, ‘हामिलाई त देवता नै भेटेको जस्तो भएको छ। यो समय एकअर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्छ। हामिलाई जस्तै सबै व्यापार व्यवसाय गर्नेलाई कठिन छ त्यसैले सबैले सकेको जति छुट गर्नुहोला।’

बजारमा सर्वत्र घरभाडाको गुनासो बढिरहेको समयमा व्यापारीको मर्का बुझी मलभाडा छुट दिने सो परिवार कलंकी बजारकै उदाहरणीय बनेका छ्न्। रुद्र बजार सँगैको मलमा कपडा पसल चलाउदै आएकी एक व्यापारीले भनिन्, ‘धेरै राम्रो काम गर्नुभएको छ। हामीलाई कसरी भाडा तिर्ने भन्ने चिन्ताले नै सताइरहेको छ। सँगै बजारमा त्यतिधेरै छुट हुँदासम्म हाम्रोमा एक रुपैयाँ छुट छैन। त्यसैले उदाहरणीय मान्नु पर्छ।’

Related Articles

Back to top button
Close