News

प्रधानमन्त्री ओलीको गाह्रो होमवर्क

लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने एक कोचिङ सेन्टर छ । त्यहाँ वहालवाला उच्च सरकारी अधिकारीहरुले पढाउने गर्छन् । विहान ६ः३० कक्षा सुरु हुन्छ । ती प्रशिक्षकले ६ः३५ मा ‘आज आउन भ्याइन’ भनेर खबर गर्छन् । कोचिङ सञ्चालकले स्वीकार गर्नैपर्‍यो, किनकि प्रशिक्षक उच्च अधिकारी हुन् । विद्यार्थीलाई चिढाएर फिर्ता पठाउनु पनि भएन । सञ्चालकलाई कुनै शीर्षकको विषयवस्तुको ज्ञान छैन । तर, उनी साह्रै चलाख भने छन् ।

सञ्चालक आफैं कक्षामा प्रवेश गर्छन् । निर्धारित शीर्षकको सन्दर्भमा उनले विद्यार्थी माझ भन्छन्, ‘आजको विषय एकदमै सजिलो छ, यो खासै पढाउनुपर्ने जस्तो छैन, यसमा तपाईहरु सबै विज्ञ हुनुहुन्छ ।’ उनले आफूमा भएको अज्ञानता ढाकछोप गर्नुको साथै विद्यार्थी फुर्काउने काम समेत गर्छन् । अनि उनले विद्यार्थीहरुलाई आजको विषयबारे जानेका कुरा भन्न आग्रह गर्छन् । विभिन्न विद्यार्थीले आफ्नो भनाइ राख्छन् । विद्यार्थीबाटै सिकेर प्रशिक्षकले अन्त्यमा त्यसकै सारांश बनाउँछन् र विद्यार्थीलाई अनेक अर्ती उपदेश दिएर कक्षा समाप्त गर्छन् । विद्यार्थी पनि दंग पर्छन् ।

कोचिङ सञ्चालक आफूले कुनै तयारी गर्दैनन् । दुई घण्टा बिताउनका लागि विद्यार्थीलाई क्लास वर्क दिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि आफू गृहकार्य र तयारी गर्दैनन् । हल्काफुल्का कहीं कतै सुनेको भरमा फुक्दिहाल्छन् । उनले पदमा लामो समय बिताउनुपर्ने भएकाले जनतालाई गाह्रो र लामो गृहकार्य दिने गर्छन् ।

नेपाल भूपरिवेष्ठित देश हो र छिमेकीले बन्दरगाहमा सहज पहुँचसमेत नदिएर पीडित छ । प्रधानमन्त्रीले छलाङ मार्दै समुद्रको बीचमा नेपाली झण्डासहितका पानीजहाजमा मालसमान ढुवानी गर्ने बताउँछन् । देशभित्रसम्म पानीजहाज ल्याउने बताउँछन् । हिमालमाथिबाट रेलमार्ग निर्माण गर्ने भन्छन् । यहाँ रिजर्ब ट्यांक अभावले एक दिन भारतबाट पेट्रोलियम आयात नहुँदा यहाँ अभाव सिर्जना हुन्छ । उनी पाइपलाइनबाट सबैको भान्सामा एलपी ग्यास पुर्‍याउने घोषणा गर्छन् ।

प्रधानमन्त्रीका भौतिक पूर्वाधार विकासका घोषणाले इन्जिनियरहरुलाई राम्रै गृहकार्य दिन्छ । इन्जिनियरहरुले अध्ययन गर्ने र पक्ष विपक्षीमा मत जाहेर गर्ने काम पाउँछन् । सञ्चार माध्यम र युट्यबरलाई बहस सञ्चालनको मसला बन्छ । जनता पनि केटाकेटी खेलौनामा रमाए जस्तै रमाउँछन् । उता प्रधानमन्त्री आनन्दले आप\mनो काम गर्छन् । नपत्याउनेका लागि प्रधानमन्त्रीले बजेट विनियोजन र कार्यालयसमेत खोली दिन्छन् ।

प्रधानमन्त्रीले सञ्चार माध्यम, विज्ञ र जनतालाई निरन्तर व्यस्त राख्न नयाँ नयाँ गृह कार्य थपिदिन्छन् । जनता व्यस्त भएनन् भने सरकारको विरोध गर्ने समय निकाल्न सक्छन् । गृह कार्य पनि अलिक अप्ठेरो नै दिनुुपर्छ ताकि जति प्रयास गरे पनि समाधान ननिस्कियोस् । समाधानको खोजीमा सर्वसाधारणदेखि बढे बढे विज्ञको पनि दाँतबाट पसिना आओस् । उनीहरु गृहकार्यमै भुलिरहन्छन् र प्रधानमन्त्रीलाई आफ्नो काम गर्न र्फसद हुन्छ ।

भारतले उपभोग गरिरहेको जमिन नेपालको हो भनेर प्रधानमन्त्रीले घोषणा गरिदिन्छन् । के कसरी नेपालको हो भन्ने तथ्य प्रमाण खोजी गर्ने जिम्मा उनले जनता र विज्ञहरुलाई छोडिदिन्छन् । उनको काम त घोषणा गर्ने हो । घोषणाले मात्र जमिन हाम्रो हुन्छ र ? भनेर प्रश्न सोध्नेलाई उनले संविधानमै नक्शा छापेर देखाई दिन्छन् । सरकारले लालपुर्जा नै दिएपछि अरु के चाहियो ? उनको प्रतिप्रश्न हुन्छ ।

चैतमा लक डाउन गर्ने बेला प्रधानमन्त्रीले पत्ता लगाए कि कोरोना भाइरस भन्ने यस्तो खतरानाक चिज हो । मानिसहरु घरको ढोकाबाट बाहिर निस्के भने कोरोनाले समातेर सखाप पार्छ । त्यसैले जे काम परे पनि, रोग, भोग, शोक, अभाव जे जेले मरे पनि घरबाट निस्कनुु हुँदैन । अरुको मृत्युभन्दा कोरोनाको मृत्यु एकदमै खतरानाक हुन्छ । जेठको अन्तिमसम्म प्रधानमन्त्रीको अध्ययनबाट फरक नतिजा निस्क्यो । नेपाली वीर गोर्खालीका सन्तान हुन्, यिनको इम्युनिटी बलियो छ, यिनले बेसार खान्छन्, यिनलाई कोरोनाले केही गर्न सक्दैन ।

नेपालीलाई कोरोनाले असर नपार्ने कुरा कसले भन्यो ? भन्ने प्रश्न कसैले गर्छ भने त्यसमा प्रधानमन्त्री प्रतिप्रश्न तेर्साउँछन्, ‘मैले भनेको हो, प्रधानमन्त्रीले भनेपछि भएन ?’ यसको होमवर्क डाक्टरका लागि साह्रै कठिन हुन्छ । प्रधानमन्त्रीको भनाइ ‘सिंगल हाइपोथेसिस’ हो । ‘एकेडेमिक रिसर्च’ मा जस्तो उनले दिएको ‘रिसर्च वर्क’ मा ‘नल हाइपोथेसिस’ र ‘अल्टनेटिभ हाइपोथेसिस’ हुँदैन । सिंगल हाइपोथेसिस ‘प्रुफ’ गर्नुपर्छ । त्यसैले त विज्ञहरुलाई गाह्रो छ ।

प्रधानमन्त्री भन्छन्, ‘भगवान राम नेपालमा जन्मिएका हुन्, अयोध्या नेपालमै पर्छ ।’ अब यो सोधखोज गरेर पत्ता लगाउने काम विज्ञहरुको हो । प्रधानमन्त्रीले बढीमा अध्ययन कार्यदल बनाउन सक्छन् । विज्ञहरुले पनि राष्ट्रवाद मान्नै पर्छ । नेपाली नागरिकता बोकेका विज्ञ भएपछि रामलाई जसरी पनि नेपाली नै बनाउनुपर्छ । त्यति गर्न नसक्ने कसरी विज्ञ ? रामायण महाकाव्य वास्तवमा कल्पना, पुराण, इतिहास वा संस्कृति के हो ? जेसुकै होस् । राम चाहिँ नेपाली हुनैपर्छ ।

विकसित मुलुकमा विद्यार्थीलाई होमवर्क दिनै पाइँदैन । नेपालमा भने जति धेरै होमवर्क दियो, उति राम्रो मानिन्छ । विदेशमा विद्यार्थीलाई प्रश्न सोध्न सिकाइन्छ । यहाँ शिक्षकले प्रश्न सोध्ने र विद्यार्थीले उत्तर मात्र दिने हो । विद्यार्थीले प्रश्न सोध्यो भने सजाय पाउँछ । यो त नेपाली संस्कृति हो । यहाँ शासितले शासकलाई प्रश्न सोध्न पाइदैन । जोखिम उठाएर एक पटक प्रश्न सोध्यो भने शासकले दिएको उत्तरमा अनिवार्य चित्त बुझाउनै पर्छ ।

शासकले साह्रै गाह्रो होमवर्क दिन्छन् । सबै काम छोडेर शासित त्यही होमवर्कमा घोत्लिनुपर्छ । शासकले चाहेको उत्तर तयार नहुँदासम्म होमवर्क गरिरहनुपर्छ । तर, जति होमवर्क गर्दा पनि शासकले खोजे जस्तो उत्तर तयार हुँदैन । त्यसैले जनताले होमवर्क गरिरहने र शासकले होमवर्क ‘रिजेक्ट’ गर्दै शासन गरिरहने हो ।

Related Articles

Back to top button
Close