International

संक्रमण समूहगत रूपमा

काठमाडौँ — विदेशबाट आएका र उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिमा कोरोना संक्रमण देखिँदै आएकामा फाट्टफुट्ट रूपमा समुदायमा देखिन थालेको छ । यसले संक्रमण समुदायमा सर्न थालेको संकेत गरेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले यो संक्रमण बढ्दै गए समुदायमा व्यापक फैलने चेतावनी दिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने फाट्टफुट्ट रूपमा स्थानीयमा कोरोना संक्रमण देखिए समुदायमा गइनसकेको दाबी गरे । ‘हाल कुनै भ्रमण इतिहास नभएको, संक्रमितको सम्पर्कमा आएको प्रमाणित नभएको छिटपुट स्थानीय केस देखिए पनि यसलाई समुदायमा संक्रमण गएको भन्न मिल्दैन,’ उनले भने, ‘संक्रमण समूहगत रूपमा देखिएको छ । यो समूहबाट समुदायमा जानुअघिको अवस्था हो ।’

स्वास्थ्य मन्त्रालयकै केही पदाधिकारी भने समुदायमा संक्रमण सुरु भइसकेको दाबी गर्छन् । समुदायमा परीक्षण भए केस बढ्न सक्ने उनीहरूको भनाइ छ । काठमाडौं उपत्यकामा हालै एउटै टोलमा समुदायमा १२ जनासम्मलाई संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयले राजधानीका विभिन्न ठाउँमा समुदायमा नमुना परीक्षण सुरु गरेको छ । राजधानीको टोखा, कपन, भक्तपुर, नख्खु, शंखमूललगायतका ठाउँमा यस्तो परीक्षण गर्दा कोरोनाको स्थानीय केस देखिएको थियो । यस्तै सोलुखुम्बु, वीरगन्ज, उदयपुरलगायतका ठाउँमा समेत स्थानीय केस देखिएको छ । कन्ट्याक्ट ट्रेसिङमा नपरेका व्यक्तिमा संक्रमण कसरी सर्‍यो भन्ने धेरै खोजबिनपछि पनि यकिन हुन सकेको छैन । समुदायमा फाट्टफुट्ट देखिएको संक्रमण विशेषज्ञहरूको टाउको दुखाइ भएको छ । ‘स्थानीय रूपमा देखिएको कोरोनाको केस नियन्त्रण गर्न नसके संक्रमण समुदायमा जाने जोखिम रहन्छ,’ डा. पाण्डेले भने, ‘समयमै कन्ट्याक्ट ट्रेसिङ गरेर स्थानीय रूपमा थप संक्रमण हुनबाट जोगाउनुपर्छ ।’ मुलुकमा बिहीबारसम्म १७ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ हजार ५६ जना सक्रिय संक्रमित छन् । अन्य भने संक्रमणमुक्त भएर गाउँ गइसकेका छन् । ३९ जनाको भने मृत्यु भएको छ ।

विदेशबाट आउने, क्वारेन्टाइन, होल्डिङ सेन्टरका व्यक्तिहरूमा देखिने कोरोना बिस्तारै सकिँदै गएको र घरभित्रै कोरोना देखिन सुरु भएको मुटु रोग विशेषज्ञ एवं फिजिसियन डा. ओममूर्ति अनिलले बताए । ‘पहिले विदेशबाट रेडिमेड केस आए, अब हामीकहाँ वास्तविक केस देखिन सुरु भएको छ,’ उनले भने, ‘संक्रमणको स्रोत नखुलेका र भ्रमण इतिहास नभएका संक्रमितहरूको संख्या बढ्दै छ,’ उनले भने ।

हाल छिटपुट रूपमा कोरोनाको ‘रैथाने’ केस देखिन थालेको दाबी गर्दै स्वास्थ्य मन्त्रालयकै एक उच्च पदाधिकारीले भने, ‘सरकारले के भन्छ, त्यसमा नजानुस्, सरकारको बाध्यता होला । हामीले घर बाहिर निस्किँदा स्वास्थ्य सावधानी अपनाएनौं भने भोलि संक्रमण विस्तार भएर समुदायमा फैलिँदा केही गर्न सकिँदैन ।’

अस्पतालमा अर्कै रोगको उपचारका लागि आएका व्यक्तिको परीक्षण गर्दा कोरोना देखिएको उल्लेख गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘कन्ट्याक्ट हिस्ट्री छैन । हस्पिटलमा जानेबित्तिकै पोजिटिभ हुनु भनेको पहिलेदेखि नै कोरोना सरेको हो ।’ हाल देखिएका कोरोना पोजिटिभको संख्या कम नरहेको उल्लेख गर्दै डा. मरासिनीले घरभित्रकै केस देखिन थाल्नु चिन्ताजनक अवस्था भएको बताए । ‘स्थानीय रूपमा संक्रमण देखिनु भनेको घर बाहिर निस्किने सबै व्यक्ति जोखिममा रहनु हो,’ उनले भने ।

Related Articles

Back to top button
Close