International

कोरोनापछि चीनको अर्थतन्त्रमा वृद्धि

बेइजिङ — विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मन्दीतर्फ अग्रसर चिनियाँ अर्थतन्त्रमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । चीनको अर्थतन्त्रमा यो वर्षको दोस्रो त्रैमासिकमा ३.२ प्रतिशतले वृद्धि भएको हो । देशव्यापी रूपमा लकडाउनका कडा नियमहरू लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो ।

भाइरसको संक्रमण विस्तार भएसँगै गरिएका लकडाउनका कारण संसारको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२० को पहिलो त्रैमासिकमा ६.८ प्रतिशतले ओरालो लागेको थियो । अनपेक्षित रूपमा निकै चाँडो भाइरस नियन्त्रण गर्न सफल भएको चीनको पछिल्ला तीन महिनामा अर्थतन्त्रमा व्यापक सुधार आएको अधिकारीहरूले बताएका हुन् । चिनियाँ राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेका विवरणमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अप्रिलदेखि जुनमा निरन्तर बढेको देखिएको छ ।

चीनले आफ्नो अर्थतन्त्र पुनः चालु गरेको अवस्थामा संसारले नै चीनको आर्थिक अवस्थालाई कुरिरहेको थियो । यो अंक विज्ञहरूले अनुमान गरेभन्दा बढी हो र यसले चिनियाँ अर्थतन्त्र ह्वात्तै उकालो लाग्न थालेको संकेत गरेको छ ।

यसको अर्थ चीन प्राविधिक रूपमा आर्थिक मन्दीबाट जोगिएको छ किनभने त्यसका लागि लगातार दुई त्रैमासिकमा अर्थतन्त्र ओरालो लाग्नुपर्छ । जर्मनीको एक बैंकले गरेको अध्ययनमा पनि चीनले अर्थतन्त्रको पुनरुत्थान गरेको देखिएको जनाइएको छ । चिनियाँ अर्थतन्त्रमा आएको सुधारले लकडाउनका कडा नियम लागू गरेका कारण आर्थिक मन्दीतर्फ अग्रसर कैयौं मुलुकलाई अनुकरणीय हुने देखिएको छ ।

ब्युरोले सार्वजनिक गरेका विवरणअनुसार देशको समग्र अर्थतन्त्रको पूर्ण पुनरुत्थानका लागि भने केही समय लाग्ने जनाइएको छ । चिनियाँ खुद्रा बिक्री भने पूर्वानुमानको तुलनामा केही घटेको छ । अघिल्लो वर्ष जुन महिनाको तुलनामा यस वर्ष खुद्रा बिक्रीमा १.८ प्रतिशतले कमी आएको हो ।

यसको अर्थ चीनमा कोभिड–१९ नियन्त्रणमा आएको देखिए पनि मानिसहरू बजारमा गएर सामान किन्न अझै हिच्किचाइरहेका छन् । ब्युरोले नयाँ विवरण सार्वजनिक गरे पनि एसियाली सेयर बजारमा खुसी ल्याउन भने सकेन । सांघाई र हङकङको सेयर बजार बिहीबार मध्याह्नसम्म झन्डै १ प्रतिशतले घटेको छ । एक्सीकर्पका रणनीतिकार स्टिफेन इन्सले मानिसमा आत्मविश्वास र उत्साह नआउँदासम्म उनीहरू बजारमा गएर सामान किन्नेमा शंका व्यक्त गर्छन् ।

चीनको अर्थतन्त्रमा खुद्रा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । चिनियाँ नेताहरूले पनि अर्थतन्त्रलाई गति दिन व्यापार तथा लगानीभन्दा खुद्रा क्षेत्रका परिसूचक नियाल्ने गरेका छन् । चिनियाँ सामानको विदेशमा माग कमजोर रहेको अवस्थामा घरेलु उपभोगलाई तीव्रता दिने प्रचलन रहिआएको छ । तर इन्सका अनुसार मागभन्दा आपूर्तिलाई सामान्यीकरण गर्न सजिलो हुन्छ । अक्सफोर्ड इकोनमिक्सका लुइज कुइजले घरयासी उपभोगको परिसूचक सर्वाधिक कमजोर रहेको बताए । चीनको आर्थिक स्थितिमा सन् २०२० को मध्यपछि निकै सुधार हुने उनको आकलन छ ।

चीनको तथ्यांक ब्युरोका अनुसार भाइरसका महामारीका कारण सहरी बेरोजगारी जुन महिनामा ५.७ प्रतिशतले बढेको जनाइएको छ । मे महिनामा यो ५.९ प्रतिशत थियो । त्यस्तै, मे महिनामा ४.४ प्रतिशतले वृद्धि भएको औद्योगिक उत्पादन थप सुधारतर्फ लागेको छ । ब्युरोका अनुसार जुन महिनामा औद्योगिक उत्पादन वृद्धि ४.८ प्रतिशत भएको हो ।

बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा ब्युरोकी प्रवक्ता लिउ आइहुवाले चीनको अर्थतन्त्र निरन्तर सुधारोन्मुख रहेको बताइन् । तर चीनका मुख्य व्यापारिक साझेदार मुलुकहरूमा कोरोना महामारीले चुनौती सिर्जना गरिरहेकाले चीनको राष्ट्रिय पुनरुत्थानमा अझै पनि दबाब छ ।

विश्वमै विशाल अर्थतन्त्र भएका मुलुकमध्ये चीनले मात्र सन् २०२० मा आर्थिक वृद्धि गर्ने अपेक्षा गरिएको छ । कोभिड–१९ को महामारीका कारण गत मे महिनामा चीनले सन् २०२० का लागि आर्थिक वृद्धिको लक्ष्य नराख्ने बताएको थियो । सन् १९९० यता चीनले वार्षिक वृद्धिको लक्ष्य नराखेको यो पहिलो पटक हो ।

Related Articles

Back to top button
Close