International

यसरी हुदै रहेछ,अयोध्याबारे ओलीको अभिव्यक्तिप्रति भारतीय सन्तको विरोध

नयाँदिल्ली — भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति भारतका संन्यासी र बाबाहरूले चर्को विरोध जनाएका छन् । सोमबार ओलीले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
सन्त–महन्तहरूको छाता संस्था अखिल भारतीय अखाडा परिषद्ले नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिले सनातन धर्ममाथि नै प्रहार भएको र यसविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । परिषद्मा भारतभरका सन्त–महन्तहरूका १३ अखडाका प्रतिनिधित्व हुने गर्छन् । परिषद्का अध्यक्ष महन्त नरेन्द्र गिरीले कान्तिपुरसँगको कुराकानीमा ओलीको भनाइलाई दुर्भाग्यपूर्ण भन्दै यसले दुई देशबीचको धार्मिक र सनातन सम्बन्धमै असर पर्ने चेतावनी दिएका छन् ।

नेपाल र भारतबीचको सम्बन्ध युगौं पुरानो हो । नेपालीहरू ठूलो संख्यामा राम जन्मभूमि अयोध्या दर्शन गर्न आउने गर्छन्, त्यसैगरी भारतीयहरू पनि नेपालका तीर्थस्थल घुम्न जान्छन् । यसलाई कसैले पनि चाहेर रोक्न सक्दैन । तर प्रधामन्त्री ओलीले यो युगौंदेखि चल्दै आएको सनातन परम्परावाला सम्बन्धमै असर पुग्ने बयान दिएका छन्, जुन बिल्कुल गलत हो,’ गिरीले भने ।

ओलीले भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा सीता भारतका नभएर अयोध्याका रामलाई दिएको र त्यो अयोध्या वीरगन्ज पश्चिमको गाउँ भएको विवादास्पद अभिव्यक्ति दिएका थिए । ‘राम पनि भारतीय हुँदै होइनन्, ठाउँ पनि भारतमा पर्दैन । नेपालको हो,’ उनले भनेका थिए । अखाडा परिषद्ले नेपालका सन्तहरूलाई ओलीको विरोधमा प्रदर्शन गर्न आह्वानसमेत गरिसकेको छ । साथै अर्को साता हरिद्वारमा बस्ने परिषद्को बैठकले विरोधका थप कार्यक्रम तय गर्ने महन्त गिरीले कान्तिपुरलाई बताए । ‘हरिद्वारमा बस्ने बैठकले ओलीले अयोध्या भारतको उत्तरप्रदेशमा भएको स्वीकार गरेर माफी नमागेसम्म जनआन्दोलन गर्ने निर्णय गर्नेछ,’ गिरीले भने ।
उनले ओलीको भनाइप्रति आश्चर्यसमेत प्रकट गरे । ‘नेपालका जनतालाई पनि थाहा छ किनभने उनीहरू राम जन्मभूमिको दर्शन गर्न ठूलो संख्यामा अयोध्या आउने गर्छन् अनि ओलीले किन यस्तो बयान दिए आश्चर्यमा छौं,’ उनले भने । साथै उनले ओलीको बयानका पछाडि चीनको दबाब रहेको समेत दाबी गरे । दुई देशबीचको सम्बन्धलाई बुझेको कुनै पनि व्यक्तिले सामान्य अवस्थामा यस किसिमको बयान नदिने पनि उनले जिकिर गरे ।

त्यसैगरी अयोध्याका राम मन्दिरका मुख्य पुजारी महन्त धिनेन्द्र दासले समेत ओलीको अयोध्यासम्बन्धी बयानको विरोध जनाएका छन् । ‘रामको जन्म सरयू नदी नजिकको अयोध्यामा भएको हो । रामकी पत्नी सीता नेपालकी हुन् । तर राम नै नेपालको भन्ने कुरा गलत हो । ओलीको उक्त भनाइको म भर्त्सना गर्छु’ अयोध्याको राम मन्दिर गुठीका प्रमुखसमेत रहेका दासलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ओलीको उक्त अभिव्यक्तिलाई लिएर नेपालमै पनि चर्को आलोचना सुरु भएको छ । साथै नक्सा विवादका कारण दिल्ली र काठमाडौंबीचको दूरी बढेका बेला ओलीको पछिल्लो अभिव्यक्तिले त्यसलाई थप बढाउने आशंकासमेत गरिएको छ । ओलीको उक्त अभिव्यक्तिप्रति भारत सरकारले भने औपचारिक रूपमा कुनै प्रतिक्रिया नजनाए पनि भारतको सत्तारूढ दल भाजपाले भने ओलीको भनाइप्रति सोमबार नै विरोध जनाइसकेको छ ।

अयोध्यास्थित राम जन्मभूमि स्थानमा मन्दिर निर्माण स्थापनाकालदेखि नै भाजपाले प्रमुख राजनीतिक मुद्दा बनाउँदै आएको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजयशंकर शास्त्रीले ओलीको टिप्प्णी हतास मानसिकता र निराशाको उपज भएको भन्दै त्यसमा टिप्पणी गर्नुको कुनै अर्थ नभएको बताए ।

‘ओलीको भनाइ टिप्पणी गर्न लायक पनि छैन,’ उनले भने । उनले नेपाल र भारतलाई राजनीतिक रेखाले मात्र विभाजन गरेको तर सामाजिक र सांस्कृतिक रूपमा कुनै विभाजन नरहेको समेत जिकिर गरे ।

त्यसैगरी काठमाडौंमा पशुपतिनाथ र काशीमा विश्वनाथ एउटै भएको यथार्थमाथि ओलीले चाहेर पनि पर्दा राख्न नसक्ने उनको भनाइ छ । साथै भारत, नेपाल र चीनका कम्युनिस्टहरूले इतिहासलाई तोडमोड गरेर सत्य कुराबाट भाग्दै कहिल्यै पूरा नहुने कल्पनाको कुरा गर्ने गरेको दाबी पनि गरे ।

Related Articles

Back to top button
Close