News

खरिपाटी क्वारेन्टिनबाट ऋषिरामको गुनासो- देश फर्किएँ तर पेटभरि खान पाइनँ

अर्घाखाँची ठाडाका २१ वर्षीय ऋषिराम बेलवासे दुई वर्षअघि रोजगारीका लागि कतार पुगे।

कलिलै उमेरमा अनेक सपना बुनेर विदेश हुइँकिएका ऋषिराम आफ्नो कमाइदेखि खुसी नै थिए।

ठिकठाक चलिरहेको काममा कोरोनाभाइरसको महामारीले ब्रेक लगाइदियो। उनीसँगै कम्पनीमा काम गर्ने थुप्रैको जागिर गयो।

जागिर गए पनि ऋषिरामले तत्काल घर आउने सोच बनाएनन्। बरू कम्पनीले फेरि बोलाइहाल्छ कि भन्ने झिनो आशा लिएर कोठामै बसे। दिन बिते। कोरोनाले वितण्डा मच्चाउँदै गयो।

केही साथीहरू काममा जान्थे। ऋषिरामसहित जागिर गुमाएकाहरू भने दिनभर कोठामै बस्थे। बसिन्जेल कसरी टिक्ने भनेर एकअर्कासँग कुरा गर्थे।

ऋषिरामले चार महिनाअघि कमाएको पैसा घर पठाइसकेका थिए। बचेको थोरै पैसाले खानपिनको जोहो गर्दै थिए। पछि त त्यो पैसा पनि सकियो। ‘कहिलेकाहीँ कम्पनीले थोरै पैसा दिन्थ्यो। पछि केही साथीहरूसँग थोरथोरै मागेर पनि गुजारा चलायौं,’ ऋषिरामले सेतोपाटीसँग भने।

काम गुमे पनि उनले स्थितिलाई सम्हालिरहेका थिए। असार ४ गते उनीसँगै कम्पनीमा काम गर्ने २२ जना नेपालीमा कोरोना पोजेटिभ देखियो। ऋषिराम सुरूमा झस्किए। तर स्वास्थ्यमा केही लक्षण नदेखिएको र समस्या पनि नभएकाले उनले आफूलाई कमजोर बनाएनन्। झन् ठूलो आत्मविश्वास बनाएर बसे।

पोजेटिभ देखिएका २२ जना नेपालीलाई कम्पनीले अस्पताल भर्ना गर्‍यो। अस्पताल बसाइको क्रममा कसैलाई कुनै समस्या नदेखिएको उनले सुनाए। ‘हामी कसैलाई पनि केही समस्या देखिएन। त्यसपछि असार १८ गते जाँच गर्दा नेगेटिभ आयो र हामीलाई फेरि कोठामा फर्काइयो,’ उनले भने।

आफैंलाई कोरोना देखिएपछि ऋषिरामको मन परदेशमा अडिएन। नेपाल सरकारले विदेशमा अलपत्र परेकाहरूलाई उद्दार गर्ने कुरा पहिल्यै सुनेका थियो। त्यसपछि २२ जनाले नै घर आउने भन्दै दूतावासमा फाराम भरे।

नभन्दै उनीहरू नेपाल आउने कुरा टुंगो भयो। दुःखका बीच पनि यो कुरा सुनेर ऋषिराम मुस्कुराए। उनका साथीहरू पनि मख्ख थिए।

नेपाल एअरलाइन्सको जहाजबाट उनीहरू गत शुक्रबार बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए। जहाजमा १ सय ४९ जना नेपाली थिए। धेरै कतारबाट आएका थिए भने कोही साउदीबाट आएका।

नेपाल ओर्लिएपछि सबै यात्रुहरुलाई दुई घन्टा विमानस्थलमै राखियो। त्यही क्रममा एउटै जहाजमा साउदीबाट आएको एक जनालाई कोरोना पोजेटिभ देखियो भन्ने गाइँगुइँ चल्यो। त्यसपछि जहाजमा आएका १ सय ४९ जनालाई नै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिन स्थलमा लाने भनियो। जहाँ यसअघि पनि चीनको वुहानबाट उद्दार गरेर ल्याइएको १ सय ७५ जना नेपालीलाई राखिएको थियो।

‘साउदी हुँदै कतारबाट हामीसँगै आएका एकजनालाई कोरोना देखियो भनेपछि ८ वटा बसबाट हामी सबैलाई खरिपाटी लगियो,’ ऋषिरामले सुनाए।

खरिपाटी पुगेपछि सबै यात्रुलाई लाइन लगाएर त्यहाँ बसिन्जेल पालना गर्नुपर्ने कुराहरू ब्रिफिङ गरियो। त्यही क्रममा एकजना आएर खानाको पैसा भने आफैंले बेहोर्नुपर्छ भनेर जानकारी गराए। त्यो सुनेर नेपाली ३ हजार खल्तीमा बचाएर ल्याएको ऋषिरामको मन झस्कियो।

‘खानाको पैसा आफैंले तिनुपर्छ भनेपछि हामीसँग पैसा छैन भन्यौं। हामी सबैसँग धेरैमा ४ हजार रुपैया थियो,’ ऋषिरामले खरिपाटी क्वारेन्टिनबाट सेतोपाटीसँग भने, ‘त्यसपछि एकजना सेनाको ठूलो मान्छेले यसबारे म भोलि कुरा गर्छु भनेर जानुभयो तर अहिलेसम्म उहाँ आउनुभएको छैन।’

त्यसपछि सबैलाई एउटा कोठामा तीन-तीन जना गरेर बस्न भनियो। ऋषिराम सुटकेश तान्दै आफ्नो कोठामा गए। कोठा पुगेर थकान मार्न बेडमा पल्टिए। त्यसपछि सबैलाई खाजा भनेर प्लास्टिकको सानो बट्टामा ‘फ्राइड राइस’ दिइयो। सानो बट्टामा आएको खाजालाई ऋषिरामले दुई मिनेटमा स्वाठ्ठ पारे। त्यसपछि फेरि कोठा फर्किए।

बेलुका फेरि प्लास्टिककै सानो बट्टामा खाना आयो। बट्टामा थोरै भात, अलकति तरकारी र एउटा पोकोमा दाल थियो। थोरै खाना देखेर ऋषिरामको निधार खुम्चियो। छेउमा रहेका साथीहरू पनि यति खानाले कसरी भोक मर्छ भनेर गनगन गर्दै थिए। पहिलो दिन भएकाले सबैले आधा पेट खानालाई भरपेट सम्झेर खाए।

भोलिपल्ट पनि खाना त्यसरी नै आयो।

‘खाना नै भोक मेटिन्जेल खान पाइँदैन। बच्चाबच्चीलाई जस्तो थोरै दिन्छन्,’ ऋषिरामले गुनासो पोखे।

उनले पटकपटक आग्रह गर्दा पनि खाना सधैं थोरै नै आइरहेको सुनाए। उनले आफूहरूले खाना मज्जाले नदिने हो भने सम्बन्धित प्रदेशमा पठाउन आग्रह गर्दा पनि नसुनेको बताए।

‘विदेशबाट आफ्नो देशमा पुगेपछि पेटभरि खान पाइएला भन्ने थियो तर त्यस्तो भएन,’ उनले दु:खेसो पोखे।

क्वारेन्टिनमा बस्दा झन् आफूहरूलाई थप असुरक्षित महशुस भएको ऋषिराम बताउँछन्। उनले यी समस्याहरू फोनमा सुनाइरहँदा सँगै रहेका साथीहरू पनि खाना नै मज्जाले खान पाइँदैन भन्दै गनगन गरिरहेका थिए।

उनले पिउने पानी पनि पर्याप्त उपलब्ध नभएको सुनाए।

‘खानासँग सानो बोतलमा पानी दिन्छन्। दिनभरि त्यति पानीले कसरी पुग्छ?,’ उनले भने।

समस्या यतिमा मात्र सिमित छैन। क्वारेन्टिनमा रहेकाहरूको स्वास्थ्यमा पनि चासो दिइएको छैन। सरकारले जारी गरेकै मापदण्डले क्वारेन्टिनमा रहेकाहरूको नियमित ज्वोर जाँच गर्ने भनिएको छ। तर अहिलेसम्म ज्वरो जाँच गर्नलाई कोही पनि नआएको ऋषिरामले बताए। उनले क्वारेन्टिनमा खाना ल्याउँदा मात्र सेनाका मान्छेहरू देखिने भन्दै अरूबेला कसैले चासो नदिने सुनाए।

क्वारेन्टिनमा बस्ने व्यवस्थापनमा भने समस्या नरहेको उनले जनाए।

‘बस्ने कुरामा सबै ठिकै छ। त्यहीँ हो खानामा चाहि अलिक गाह्रो नै छ। पेटभरि पनि खान पाइएको छैन’ ऋषिरामले भने, ‘अझैं १४ दिन बस्न भनिएको छ तर यस्तो पाराले हामीलाई थप असुरक्षित महशुस हुन्छ।’

उनले ओढ्न दिइएको कपडा पनि फोहोर रहेको र राति सुत्दा पनि लामखुट्टेले दु:ख दिने गरेको सुनाए।

‘कोठमा राम्रो ओड्ने कपडा छैन। झुल पनि छैन। राति लामखुट्टेले सुत्न दिँदैन,’ उनले भने।

उनले देशमा गएर सबै राम्रो व्यवस्था होला भनेर सोचे पनि ठिक विपरीत पाएको भन्दै गुनासो पोखे।

‘यहाँ बस्न मन नै छैन। घरमा नै सुरक्षित हुन्छ। बरू हामी प्रदेशले जहाँ राख्छ त्यहँ बस्न तयार छौं,’ ऋषिरामले भने।

यसअघि पनि गत फागुन ४ गते चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई सरकारले नेपाल एयरलाइन्सकै जहाजबाट उद्दार गरेर खरिपाटी क्वारेन्टिनमै राखेको थियो। त्योबेला सरकारले खाना र बस्ने व्यवस्था राम्रो गरेको भन्दै सबैले तारिफ गरेका थिए।

‘कोठाहरू पनि सफा छन्। सबै कुराको राम्रो व्यवस्था छ। खाना पनि राम्रो र समयमै दिनुहुन्छ। हामी त यो सबै देखेर चकित छौं। खासमा हामीलाई त घर कहिले जाऊँजाऊँ पनि भएको छैन,’ त्यो बेला राखिएकामध्ये एक विद्यार्थीले भनेका थिए।

क्वारेन्टिनको व्यवस्थापन गरिरहेको नेपाली सेनाका एक अधिकारीले अहिले खाना खुवाउन समस्या भएको जनाए।

‘खाना व्यवस्था गर्न अलिकति गाह्रो भएको हो तर अबबाट अलकति थपेर पठाउन भनेका छौं। खासमा खानाको पैसा पनि उहाँहरू आफैंले दिनुपर्ने हो तर दुईजनाले मात्र दिन्छौं भन्नुभएको छ। बाँकीले तिर्न सक्दैनौं भन्नुभएको छ,’ ती अधिकारीले भने,‘खानाको लागि भनेर सरकारले एक छाकको १ सय ७५ रुपैंया छुटयाएको छ। त्यहीँ अनुसार हामीले व्यवस्थापन गर्दै आएका छौं। अलिकति समयमा खान नआइपुगेर पनि उहाँहरुलाई त्यस्तो भएको हुनुपर्छ। अब समयमै खाना आइपुग्छ।’

Related Articles

Back to top button
Close