News

जनता उर्लिएपछि आधा बजेटमै सकियो न्यातपोलको जीर्णोद्धार

२८ असार, काठमाडौं । गत फागुनको पहिलो हप्ता भक्तपुर नगरपालिकाले ऐतिहासिक पाँच तले (न्यातपोल) मन्दिरको जीर्णोद्धार तत्कालै थाल्ने निर्णय गर्‍यो । सम्पदाको पुनर्निर्माणमा स्थानीय उपभोक्ता समिति परिचालन गर्दै आएको नगरपालिकाले न्यातपोलको जीर्णोद्धारका लागि ६५ लाख १३ हजार रुपैयाँ बजेट छुट्यायो ।

मन्दिरको पहिलो तल्ला २०७२ वैशाख १२को महाभूकम्पले केही टेढिएकाले त्यसलाई निकालेर फेरि पुरानै स्वरुपमा फर्काउने काम गर्नु थियो ।सम्वेदनशील काम भएकाले सुरक्षाको प्रवन्ध मिलाउने र परम्परागत निर्माण सामग्रीहरु जुटाउने काम गर्दागर्दै फागुन घर्कियो । चैत लागेपछि मन्दिरको जीर्णोद्धार अघि बढाउन छाना झिकियो । तर, चैत ११ मा सरकारले लकडाउन घोषणा गर्‍यो । निर्माण स्थलहरु बन्द भए । मन्दिरको जीर्णोद्धारको काम त्यतिकै अल्मलियो ।

संक्रमण फैलिने त्रास र सामाजिक दूरी लगायतका पेचिलो सवालले काम अघि बढाउन सक्ने अवस्था रहेन । २५ दिनसम्म मन्दिर त्यतिकै अलपत्र परिहर्‍यो ।

तर, फाटफुट पानी पर्ने क्रम सुरु भएपछि जनप्रतिनिधिहरुको पेट पोल्न थाल्यो । भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशी भन्छिन्, ‘न्यातपोल राष्ट्रिय गौरब र विश्वकै महत्वपूर्ण सम्पदा हो, वर्षाले कुनैखालको सानो असर पर्‍यो भने भावी पुस्ताले हामीलाई धिक्कार्छ भनेरै लकडाउन नखुले पनि समाजिक दूरी कायम राख्दै काम अघि बढाउने निर्णय लियौं ।’

नगरपालिकाले यो निर्णय लिनासाथ उपभोक्ता समिति परिचालित भयो । मन्दिर जीर्णोद्धारको हाम हालसालै सकिएको छ । यति छिटै काम सक्दा पनि न्यातपोलका लागि विनियोजित बजेटको करिब आधा मात्रै रकम खर्च भएको छ ।

उपमेयर जोशीका अनुसार १२-१३ लाख रुपैयाँ बराबर भक्तपुरकै स्थानीयहरुले नगद र जिन्सीसहित निर्माण सामग्री सहयोग गरेका छन् । सहयोगीहरुको विवरण नगरपालिकाले वेबसाइट राखिदिएको छ ।

त्यसबाहेक करिब २२ लाख बराबर भने स्थानीयले श्रमदान गरेका छन् । सबै रकम खर्च नभएपछि बचत भएको करिब ३० लाख रकम नगरपालिकामै फिर्ता भएको छ ।

उपमेयर जोशीका अनुसार यो काम वर्षा लाग्नु अगावै सक्न नगरपालिकामाथि दबाव थियो । बेलैमा काम नसकिए मन्दिरको विभिन्न भाग कमजोर बन्नसक्ने अवस्था थियो ।

जीर्णोद्धारको काम अघि बढेपछि लकडाउनको बेला उपभोक्ता समितिले जनश्रमदान गर्न आह्वान गर्दै सूचना निकाल्यो । नगरपालिकाकाअनुसार जीर्णोद्धारको काममा करिब ३ हजार १ सय जनाले श्रमदान गरेका छन् । एकैपटक धेरै मान्छे काममा आउने भएपछि संक्रमणको जोखिम रोक्न नगरपालिकामा नाम टिपाएर तोकिएको दिनमा मात्रै आउने व्यवस्था गर्नुपर्‍यो ।

विभिन्न समूहमा दैनिक रुपमा श्रमदान गर्न आउनेहरुलाई पालो दिन नगरपालिकालाई हम्मे परेको थियो । स्थानीय आमा समूह, सहकारी, कलेज, टोल विकास संस्था, अन्य स्थानीय संघसंस्था लगायतबाट दैनिक रुपमा समूहमा आएर जन श्रमदानको लागि स्थानीय ओइरिएका थिए । उपमेयर जोशीका अनुसार एकै दिनमा ५ सयभन्दा बढीले श्रमदान गरेको रकर्ड पनि छ ।

माटो मुछ्ने, डल्ला पास गर्ने, इँटा बोक्नेलगायतका काममा उपभोक्ता समितिले ज्यालाका कामदार नै खोज्नुपरेन । काम सुरु भएदेखि नै श्रमदान गर्नेको लर्को लाग्यो ।

मन्दिरको काम सकिँदासम्म पनि श्रमदान गर्न इच्छा व्यक्त गर्नेको लर्को रोकिएको थिएन । मन्दिरको काममा सघाउन आउनेहरुमा बढीजसो महिला थिए । कामा आउँदा आफैंले खाजा लिएर आउने गरेका थिए ।
कतिपय काम गर्न नसक्ने र नभ्याउनेहरुले काम गर्नेलाई फलफूल, खाजा, पानीको प्रवन्ध गरेका थिए । कतिपय व्यक्ति ‘मन्दिरको जीर्णोद्वारमा मेरो पनि श्रम परोस्’ एक-दुई डल्ला मात्रै भए पनि राख्न दिन आग्रह गर्दै आएका थिए ।

उपमेयर जोशी नगरपालिकाले हरेक जसो सम्पदाको पुनर्निर्माणको काम स्थानीयलाई सहभागी गराउने गरेको बताउँछिन् । न्यातपोलको मन्दिरमा भने सोचेभन्दा बढी जनसहभागिता भएको भन्दै उनले यसले भक्तपुरबासीका रहेको सांस्कृति, सम्पदा र कलाप्रतिको मह तथा चेतनालाई झल्काएको बताइन् ।

‘भक्तपुरबासीमा मन्दिरको जीर्णोद्धारको काम पुण्य हो भन्ने विश्वास छ, यहाँ आफैंले एक डल्लो माटो मात्रै राखियो भने भविष्यमा परेवाको जुनी पाउँदा मन्दिरको टुँडालमा बस्न पाइन्छ भन्ने जनविश्वास पनि सुन्यौं,’ उनी भन्छिन्, ‘यो गौरवको सम्पदा भएकाले पनि यसमा मेरो पनि पसिना परोस् भन्ने भावना धेरैमा रहेको देख्यौं ।’

जनप्रतिनिधिहरुले पनि एक दिन काममा सहभागी हुने योजना श्रमदानमा धेरै व्यक्तिहरु उर्लिएपछि अन्तिम-अन्तिम दिनमा मात्रै पूरा भएको जोशी बताउँछिन् संस्कृतिविदहरुका अनुसार न्यातपोल तान्त्रिक शक्तिकी देवी सिद्धीलक्ष्मीको मन्दिर हो । यो मन्दिर निर्माण भएको ३१८ वर्षसम्म पनि पूर्णरुपमा क्षति हुने गरी भत्किएको छैन । १९९० को भूकम्पमा पनि मन्दिरको पहिलो तल्लामा मात्रै क्षति पुगेको थियो ।

बेला बेलामा यसको जीर्णोद्धार भइरहेको छ । १०८ फिट अग्लो यो मन्दिरको विसं २०१९ मा र २०५६ मा मन्दिरको जीर्णोद्धार भएको थियो । राजा भूपतिन्द्र मल्लले यो मन्दिर नेपाल सम्वत ८२२ मा निर्माण गराएका थिए । यो मन्दिर जनश्रमदानबाटै ७ महिनामै निर्माण भएको हो ।

Related Articles

Back to top button
Close