Tech

बझाङको थलारामा हावाबाट विजुली निकालियो, स्थानीय हर्षित

बझाङ, ५ फागुन । बझाङको थलारा गाउँपालिकामा हावाबाट २४ किलोवाट विद्युत् निकालिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको १ करोड २४ लाख रुपैयाँको लगानीमा हावाबाट विद्युत् निकालिएको हो ।

गाउँपालिकाको वडा नम्बर ४ र नजिकैका अन्य गाउँलाई विद्युत् सेवा पु¥याउन ठिङडाँडामा तीनवटा वायुपंखा राखेर हावाबाट बिजुली निकालिएको हो ।

जिल्ला सदरमुकाम चैनपुर र केदारस्यु र वित्थडचिर गाउँपालिकामा मात्र केही समयअघि राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । लघु जलविद्युतबाट बिजुली निकाल्न लागत र समय बढी लाग्ने र नजिकैका खोलामा लघुजलविद्युतका लागि पानी पर्याप्त नहुँदा हावाबाट बिजुली निकाल्ने प्रयास गरिएको संविधानसभा सदस्य लालबहादुर रावलको भनाइ छ ।

गाउँको ठिङडाडामा तीव्र गतिको हावा चल्ने र तीव्र गतिमा चल्ने हावाबाट विद्युत् निकाल्न सकिन्छ भन्ने थाहा पाएपछि वैकल्पिक ऊर्जासँग परामर्श गरेर हावाबाट विद्युत् निकालिएको रावलले बताए । ठिङडाडामा निरन्तर हावा बहने हुँदा हावाबाट विद्युत् उत्पादनको राम्रो सम्भावना भएको उनको भनाइ छ ।

अहिले विद्युत् उत्पादन भएपनि पोल र तार पर्याप्त नहुँदा सबै ठाउँमा विद्युत् लाइन विस्तार गरिएको छैन । वायु ऊर्जामा प्रयोग हुने तार जलविद्युतको भन्दा फरक हुने र जनश्रमदान गर्नुपर्ने प्रावधान वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको हुँदा समस्या भएको स्थानीय दिनेश रावलले बताए ।

थप विद्युत् लाइन विस्तार र तार खरिदका लागि गाउँपालिकासँग माग गरिएको र सबै ठाउँमा लाइन विस्तार भएपछि करिब २ सय ५० घरधूरी लाभान्वित हुने उनको भनाइ छ ।

विद्युत् नहुँदा उज्यालोबाट बञ्चित हुनुका साथै इलेक्ट्रोनिक सामग्री प्रयोग गर्न नपाएका स्थानीय विद्युत् उत्पादनसँगै हर्षित भएका छन् । गाउँमा मोबाइल प्रयोगकर्ताको संख्या बढेपनि चार्ज गर्न समस्या थियो ।

जसको घरमा सोलार छ त्यतै गएर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता यहाँ थियो । हावाबाट बिजुली निकालेसँगै यो समस्या समाधान भएको अर्का स्थानीय महेश सायरले बताए ।

ठिङकाडाँडामा ६० फिट अग्ला तीनवटा वायुपंखा छन् । हावाको गति मापन गर्नका लागि एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । वैकल्पिक ऊर्जाको रूपमा रहेको वायु ऊर्जालाई हावा वहने गाउँगाउँमा जडान गर्न सकिन्छ ।

सात वर्षअघि भएको एक अध्ययनअनुसार देशमा ३ हजार मेगावाट वायु ऊर्जा निकाल्न सकिन्छ । पहाडका अग्ला डाँडा र नदीका खोँचमा निरन्तर हावा चलिरहने हुँदा जिल्लाका अन्य ठाँउहरूमा पनि हावाबाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना छ ।

Related Articles

Back to top button
Close