International

टिकटक हटाउन कर्मचारीलाई निर्देशन दिएको अमेजन अचानक यसरी पछि हट्यो

काठमाडौं–अमेजनले आफ्ना कर्मचारीहरूलाई कम्पनीको इमेल खोल्न प्रयोग भएको कुनै पनि मोबाइलबाट भिडिओ साझा गर्ने एप टिकटक हटाउनु भनी गल्तीवश इमेल पठाइएको बताएको छ।

शुक्रवार सबेरै कर्मचारीहरूलाई पठाइएको एउटा आन्तरिक निर्देशनमा ‘सुरक्षा खतराका कारण’ उक्त एप हटाउनुपर्ने भनिएको थियो।डेटाहरू चीनलाई साझा गर्नसक्छ भन्ने डरका कारण एउटा चिनियाँ कम्पनीको स्वामित्व रहेको उक्त एप अहिले धेरैको सूक्ष्म निगरानीमा परेको छ।

टिकटकले चाहिँ अमेजनको चिन्ता आफूले बुझ्न नसकेको बताएको छ।

अमेजनको भनाइ
अमेजनका एकजना प्रवक्ताले भने, ‘शुक्रवार बिहान हाम्रा केही कर्मचारीहरूलाई भुलवश उक्त इमेल गएको हो। टिकटकलाई लिएर हाललाई हाम्रो कुनै पनि नीति परिवर्तन भएको छैन।’

तर शुक्रवार सबेरै पठाइएको र धेरै समाचार संस्थाहरूले देखेको उक्त आन्तरिक निर्देशनमा मोबाइलबाट त्यो एप हटाउनै पर्नेमा जोड दिइएको थियो।

‘सुरक्षा खतराका कारण अमेजनको इमेल प्रयोग गरिने मोबाइलमा टिकटक चलाउन अब अनुमति छैन। यदि तपाईँको मोबाइलमा टिकटक छ भने अमेजनको इमेल मोबाइलमा चलाउनका लागि जुलाई १० भित्र त्यसलाई हटाउनुस्,’ त्यसमा भनिएको थियो।

टिकटकले उक्त इमेल बाहिर आउनुअघि अमेजनबाट कुनैखाले सम्पर्क नभएको जनाएको छ।

भारतमा टिकटक र अन्य ५८ चिनियाँ मोबाइल एप प्रतिबन्धित
भारतमा टिकटक प्रतिबन्धित भएपछि ‘स्टार’हरूको भविष्य अन्योलमा

टिकटकको भनाइ
उसले भनेको छ, ‘हामीले अहिलेसम्म उनीहरूको चिन्ता बुझ्न सकेका छैनौँ, यदि उनीहरूलाई केही समस्या छ भने हामी कुराकानी गर्न तयार छौँ र उनीहरूको समूहलाई निरन्तर हाम्रो समुदायमा सहभागी हुन समर्थ तुल्याउनेछौँ।’

चीन बाहिर टिकटक बेइजिङमा आधारित बाइटडान्स कम्पनीले फैलाएको हो।

यो एप कोरोनाभाइरसका कारण विश्वभरि लागेको लकडाउनका बेला थप चर्चित भएको छ।

एउटा अनुसन्धान कम्पनीका अनुसार यस वर्षको पहिलो तीन महिनामा मात्र ३१ करोड ५० लाख मानिसहरूले उक्त एप डाउनलोड गरेका थिए। बीबीसी

Related Articles

Back to top button
Close