अचेल उनीहरूलाई रातभरि निन्द्रा लाग्दैन…
बाहिरी जिल्लामा बाढी, पहिरो गएको समाचार आउन थालेपछि काठमाडौं तारकेश्वर नगरपालिका, फुटङ–७ दियालो टोलवासीलाई रातभरि निन्द्रा लाग्दैन, कतै यहाँ पनि साङ्ले खोला बढेर घरभित्र छिर्ने हो कि भन्ने चिन्ताले।
अविरल वर्षा हुन थालेपछि टोलका वासिन्दा राति १०/११ बजेसम्म बाहिरै खोलाको वहाब हेरेर बस्छन्। खोलाको वहाब घटेपछि भित्र पस्छन्।
‘आजभोलि ३/४ दिन जति भयो हामी प्राय: १०/११ बजेसम्मै बाहिरै बस्छौं। जब आकाशमा कालो बादल लाग्ने गर्छ, हामी टोलवासीलाई निन्द्रै लाग्दैन,’ स्थानीय माधव भट्टराईले भने, ‘अझ गत वर्षको दिन त आउँन बाँकी छ।’
उनका अनुसार गत वर्ष असार २१ गते साङ्ले खोला छिरेर यहाँका कैंयन् घर डुबानमा परेका थिए।
बाटो हिलाम्मे भएर स्कुटर ल्याउन नसकी साथीकोमा राख्ने गरेको स्थानीय शर्मिला थापा बताउँछिन्।
‘बाटोमा गाडिने हिलो छ, स्कुटर पनि ल्याउन नसकेर साथीकोमा राख्ने गरेको छु,’ उनले भने।
उनको सोह्रखुट्टेमा ब्युटी पार्लर छ। छोराछोरी सामाखुशीस्थित रेडन स्कुलमा पढ्छन्। आफूलाई सहज होस् भनेर स्कुलको गाडी राखे पनि बाटोका कारण पुल पारिसम्म आफैं पुर्याउन, लिन जान परेको उनले दुखेसो पोखिन्।
‘सहजताका लागि स्कुलको गाडी राखें, बाटोका कारण पुल पारिसम्म आफैं जानुपर्छ,’ उनले भनिन्, ‘यहाँ बसेको ४ वर्ष भयो बाटो कहिले बन्ने भएन, बेचेर अन्तै जाऊँ कि झै लाग्छ।’
पारिपट्टि पिच गरेका सडक त वारिपट्टि हिलाम्मे सडक देख्दा कसलाई राम्रो ठाउँमा बस्न मन लाग्दैन र।
बाटोकै कारणले भाडामा मान्छे समेत धेरै समय बस्ने नगरेको टोलबासीहरू बताउँछन्।
‘न पानीको सुविधा छ, न बाटोको सुविधा, बर्खा लागेपछि धान रोप्ने खेत जस्तै हुन्छ बाटो, यहाँ त भाडामा मान्छे पनि बस्न मान्दैनन्,’ एक स्थानीयले भने।
जनप्रतिनिधिको अभिभावकत्व पाउन नसकेको सामाजिक अभियान्ता राजेन्द्र अर्यालले बताए।
‘पानी निकास हुने ठाउँ छैन, खोलाको सतहभन्दा मुनि बस्ती छ। यो वर्ष कसरी बिताउने हो, हाम्रो समस्या जनप्रतिनिधिले सुन्न चाहँदैन,’ उनले भने, ‘बाढीले ढल थुनिएर भित्रै पस्ला जस्तो हुन्छ, राजधानीमा बसे पनि महोत्तरीको रतुवा खोलाको किनारमा बसेजस्तो लाग्छ।’
समस्याबारे पटक/पटक वडाध्यक्षलाई जानकारी गराए पनि समाधान नभएको दियालो टोल सुधार समितिका अध्यक्ष झनक कुमार थापाले बताए।
‘हामीले पिच गर्ने बजेट नभए पानी निकास गर्न ढल राखेर ग्राबेल गर्दिनुस् भनेर धेरै पटक भन्यौं, उहाँले वास्तै गर्नुभएन,’ उनले भने।
गत वर्ष बाढीले धेरै घर डुबानमा परेपछि यो वर्ष समितिले नगरपालिकाको सहयोगमा खोला किनार छेउमा बाँस बाँधेर बस्ती जोगाउने प्रयास गर्यो। तर त्यतिले पर्याप्त भएन।
माथिबाट बगेको पानी निकास हुन नपाएपछि घर डुबानमा परेका छन्। जनप्रतिनिधिबाट कुनै सहयोग नभएपछि शनिबार समितिले काठमाडौं क्षेत्र नम्बर ६ का सांसद् भीमसेनदास प्रधानसगँ पीडा पोखे।
आफ्ना समस्यालाई सम्बन्धित निकायमा राखेर दीगोरूपमा समाधान गरिदिनुहुन्छ भन्ने विश्वास उनीहरूमा थियो।
सांसद प्रधानले टोलको निरीक्षण गरे। टोलको समस्या सम्बन्धित ठाउँमा पुर्याएर समस्या समाधानको लागि सक्दा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
टोलको समस्या समाधानका लागि आफूले पहल गरिरहेको फुटुङ–७ का वडाध्यक्ष सानुकाजी थापाले बताए।
‘बाटो बनाइदिन पर्यो भनेर समितिका केही साथीहरू आएका थिए, हामीसँग बजेट हुँदैन, हामीले पनि नगरपालिकामा भन्ने हो,’ उनले भने, ‘असार अन्तिममा काम हुँदैन, साउन लागेपछि ग्राबेल गर्ने कुरा छ।’
घाम लाग्न थालेपछि बाटोको निरीक्षणका लागि प्राविधिक पठाउने उनले बताए।
‘अहिले त पानी परिरहेको छ, घाम लागेपछि दुई तीन दिनमा कति बाटोमा ग्राबेल गर्न पर्ने हो प्राविधिक पठाउँछु,’ उनले भने।