International

कोरोना नियन्त्रणका नाममा विवेकहीन नियमजरहरु हेर्नुहोस् अबको दिनमा लागू हुने

कोभिड १९ नियन्त्रणका लागि भन्दै सरकारले निरपेक्षरुपमा लकडाउन, जोर विजोर, प्रवेश पास, कर्फ्यु, सिल, हिँडडुल प्रतिबन्ध, यात्री संख्याको सीमा जस्ता विधि लागू गर्दै आएको छ । यी सबै सर्वसाधारण जनतालाई चरम दुःख र मानसिक पीडा त्रास दिने विधि हुन् । त्यसमाथि सरकारले यी विधि लागू गराउँदा रोग संक्रमणको जोखिम बढ्ने गरी लागू गराइरहेको छ ।

सवारी साधन जोर विजोरको नियम उल्लंघन गरे बाटोमा रोकेर राख्ने गरिन्छ । तर नियम पालना गरेका मोटरसाइकल टाँसिएर गुड्न छुट छ । संक्रमण जोर विजोर पालना नगरेर फैलने होइन, दुई मोटरसाइकल नजिकबाट गुड्दा सर्ने हो । चार लेनको सडकमा चेकजाँचको नाममा एक लेन खुला राख्ने र त्यसको मुखमा सवारी साधन र यात्रीहरुको थुप्रो लगाउने गरिएको छ ।

मोटरसाइकलमा चालक मात्र, गाडीमा चालकबाहेक २ जना मात्र जस्ता नियम लागू गरेर सडकमा धेरै पटक सवारी साधन गुुड्न बाध्य पार्ने काम भएको छ । एउटा परिवारमा सरदर ५ सदस्य हुन्छन् । एक पटक दुई जनालाई पुर्‍याएर, पुनः अरुलाई लिन आउनुपर्ने बाध्यता भएको छ । कार्यालयले कर्मचारी ओसार्न जोर र विजोर नम्बरका दुई सवारी साधन भाडामा लिनुपर्ने बाध्यता सिर्जना भएको छ । यसले रोगको जोखिम कम होइन, वृद्धि गरेको छ ।

प्रहरीले निजी गाडी भित्र बसेका र एक्लै पैदल हिंडेका मानिसलाई मास्क नलगाएको भनेर दुःख दिने गरेको छ । जबकि एक्लै सडकमा मास्क लगाएर गएका सेवाग्राही सरकारी कार्यालयहरुमा टेबुल नजिक पुगेपछि मास्क खोलेर कुराकानी गर्ने गर्छन् । सरकारले आम मानिसमा रोग बाटोमा हिंड्दा सर्ने हो भन्ने बुझाइ स्थापित गराएको छ ।

कर्मचारीमा आफूले सेनिटाइजर लगाएपछि सेवाग्राहीसँग जसरी व्यवहार गरे पनि सुरक्षित भइन्छ भन्ने बुझाई स्थापित गरिएको छ । सरकारी कार्यालयहरुमा शौचालयको सरसफाइ र साबुन पानीको प्रबन्ध मिलाई हात र धाराको हेण्डल साबुनले धुनुपर्छ भनेर जानकारी दिएको कहीं पाइदैन ।

सर्वसाधारणलाई भल्ब मास्क प्रयोग गर्न छुट दिइएको छ । भल्ब मास्कबाट दोस्रो व्यक्ति झन बढी असुरक्षित हुन्छ । मास्क प्रयोग गर्नु भनेको दुवैको सुरक्षाका लागि हो । यस्तो मास्क लगाउने व्यक्तिले छानिएको हावा तान्छ तर फाल्दा नछानिएको हावा फाल्छ । भल्बले भित्रको हावा बाहिर जान मात्र दिन्छ भने बाहिरको हावा भित्र आउन छेक्छ । यदि संक्रमित मानिसले यो मास्क लगाएर हिंडेको छ भने अरुलाई सर्ने सम्भावना मास्क नलगाएको अवस्थाभन्दा बढी हुन्छ । यो मास्कको प्रयोगमा प्रतिबन्ध लगाउनेतर्फ सरकारलाई कुनै चासो नै छैन ।

सकेसम्म चेकजाँच गर्न नपर्ने गरी मानिसहरु स्वअनुशासनमा बस्न सक्ने खालका नियम बनाउनुपर्छ, ता कि चेकजाँचको नाममा भीड नहोस् । चेकजाँच र जामको बेला लेन अनुशासन, ओभर टेक र दुई साधनबीचको दूरी कायम गराउन सरकारले प्रहरीको प्रयोग गर्नुपर्छ । यी नयाँ नियम होइनन् र यी नियम पालनाले रोगको बेला मात्र होइन सधै भरि समाजलाई सभ्यताको परिचय समेत दिन्छ । खोकी लागेका कर्मचारीलाई तलबी बिदा दिने निर्णय गरेमा कोही पनि कर्मचारी समस्या लुकाएर कार्यालय जानु पर्दैन ।

सोलोडोलो सबै प्रकारका मानिस र निश्चित ठाउँ विशेषमा हिंडडुल र गतिविधि प्रतिबन्ध लगाउने होइन, संक्रमित र आशंकित व्यक्ति मात्र हिंडडुल र गतिविधिमा संलग्न नहुन प्रोत्साहन गर्ने नीति लागू गर्नुपर्दछ । त्यस्ता मानिसलाई अहिलेजस्तो तिरस्कार गर्ने नीतिलाई उल्टाउनुपर्दछ, ता कि कसैले पनि रोगको लक्षण देखिए वा शंका लागे लुकाएर बस्नुपर्ने अवस्था सिर्जना नहोस् । कसैले पनि आफूलाई रोगको शंका लागेमा अरुलाई निर्धक्क भनेर घरमै सुरक्षित बस्न पाउने वातावरण सिर्जना गर्नुपर्दछ ।

जथाभावी पिसिआर टेस्ट गराएर व्यक्ति वा राज्यको सम्पत्ति खेर फाल्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । अति आवश्यक व्यक्तिलाई पिसिआर टेस्ट गर्न नपाएर वा ढिला भएर दुःख दिने विद्यमान प्रवृत्ति हटाउनुपर्छ । पिसिआर टेस्टले बढीमा ७० प्रतिशत मात्र सही नतिजा दिन्छ । यसको अर्थ १०० जनालाई टेस्ट गर्दा सबै कोरोना संक्रमित भए पनि बढीमा ७० जनामा मात्र पोजेटिभ देखिन्छ । त्यस्तै, सबै कोरोना असंक्रिमत भए पनि ३०/४० जनामा पोजेटिभ देखिन सक्छ । कोरोना मात्र होइन, कुनै पनि रोगमा पिसिआरले शत प्रतिशत सही नतिजा दिन सक्दैन ।

एक ठाउँबाट अर्को ठाउँ जाँदा १४ दिन बाहिरी क्वारेन्टाइनमा बस्नुपर्ने वा घरमा बस्न नदिएर फर्कनुपर्ने जस्ता प्रचलन अहिले व्याप्त छन् । तराइका जिल्लाबाट पहाड वा उपत्यका जानेका लागि निरपेक्ष रुपमा यस्तो गर्ने गरिएको छ । तराईमा संक्रमितको संख्या धेरै देखिएको छ । तर तराईमा संक्रमितको धेरै संख्या देखिए पनि ती सबै क्वारेन्टाइनभित्र बसेका मानिसको संख्या हो । सबै मानिसलाई क्वारेन्टाइनमा राख्दा वास्तवमा क्वारेन्टाइनको आवश्यकता पर्नेका लागि क्वारेन्टाइन अपुग भइरहेको छ । यसले गर्दा क्वारेन्टाइनमा भीडभाड र बाहिरी मानिसको सम्पर्क वृद्धि भई रोगको जोखिम अझै बढेको छ ।

लक्षण नदेखिएका र संक्रमितको सम्पर्कमा नभएका मानिसको टेस्ट गरेर केही अर्थ छैन । त्यसरी टेस्ट गरेर फलानोलाई पोजेटिभ देखियो भनेर तिरस्कार गर्ने वर्तमान प्रवृत्ति विडम्वना हो । कोही संक्रमित छ तर लक्षण नै छैन भने उसबाट अरुलाई सर्ने सम्भावना नगण्य हुन्छ । यसको अर्थ भाइरस शरीरमा प्रवेश गरे पनि शरीरको रोग प्रतिरोधात्मक क्षमताले जितेर भाइरसको संख्या बढ्न नदिएको हो । त्यस्ता संक्रमितसँग रोग लागेर खोकिरहेको व्यक्तिसँग जस्तो सावधानी अपनाउनु पर्दैन । यदि लक्षणबिना नै पोजेटिभ देखिएको छ भने त्यो वास्तविक संक्रमित नै हो भन्न सकिंदैन । पीसीआरबाट फल्स पोजेटिभ नतिजा आएको पनि हुन सक्छ ।

महामारी विज्ञ वा भाइरस विज्ञसँग रायसल्लाह नमाग्ने र आफैं जान्ने भएर रोग नियन्त्रणका नाममा अनेक नियम लाद्ने प्रवृत्ति केन्द्र सरकारदेखि स्थानीय सरकारका राजनीतिकर्मीमा देखिएको छ । यसले गर्दा एकातिर सर्वसाधारणले पीडामाथि पीडा पाउने, देशको अर्थव्यवस्था ध्वस्त हुने र अर्कोतर्फ रोगको जोखिम पनि बढ्दै जाने देखिन्छ । मानिसलाई जति नै हिँड्न, आफ्नो घर छिर्न र कामकाज गर्न रोके पनि अन्य सुरक्षा विधि अवलम्वन नगरेसम्म रोग नियन्त्रण हुँदैन । अन्य सुरक्षा विधि अवलम्वन गर्ने हो भने मानिसहरुलाई नियमित कामकाज गर्न र हिँडडुल गर्न रोक लगाउनै पर्दैन । यसतर्फ सम्बन्धित सबैको ध्यान पुगोस् ।

Related Articles

Back to top button
Close