News

६ महिनादेखिको तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षक आन्दोलित

झापा, १९ असार । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले सामाजिक न्यायका लागि शुक्रवार बिर्तामोडमा प्रदर्शन गरेको छ । काम गरिसकेको समयको तलब पाउन नसकेको, सरकारले समेत सुरक्षाका लागि पहल नगरेको प्रति आक्रोश पोख्दै संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी सडक आन्दोलनमा उत्रिएका हुन् ।

संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक चैत महिनासम्मको तलबभक्ता समेत नपाएकाले तत्काल उपलब्ध गराउन विद्यालय सञ्चालकसँग उनीहरुको माग छ । बौद्धिक श्रमिकका रूपमा रहेका संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, चालक, सहचालक लगायतलाई काम लगाउने अधिकांशले काम गरिसकेको समयको समेत पारिश्रमिक नदिँदा गाँस जुटाउन समस्या उत्पन्न भएको गौरादहका शिक्षक पवन गजुरेलले बताउनुभयो ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई काम लगाउने अधिकांश विद्यालयका सञ्चालकले लकडाउनको बहाना बनाएर शैक्षिक वर्ष २०७६ कै दिनुपर्ने तलब रोकिदिएपछि समस्या भएको उनीहरु बताउँछन् ।

कतिपय विद्यालयले लकडाउनको बहानमा शिक्षक तथा कर्मचारीलाई समेत निष्कासन गरेकाले संकटका बेला जिम्मेवार बन्ने इष्टु झापाका अध्यक्ष होमराज खतिवडाले बताउनुभयो । हामीले धेरै पटक तलब दिनको लागि माग गरेका छौँ तर दिएको छैन,’ उहाँले भन्नुभयो, ‘अहिले विभिन्न बहानामा शिक्षक, शिक्षिका निकाल्ने कार्य भइरहेको छ, यो हामीलाई कुनै शैय हुँदैन ।’

शिक्षक कर्मचारीका लागि ३ तहका सरकारले पनि बेवास्ता गरेपछि बन्दाबन्दीको असरका कारण सडकमा आउनु पर्ने वातावरण निर्माण भएको बिर्तामोडकी शिक्षिका रमा सुबेदीले गुनासो गर्नुभयो । विद्यालय नाफामा हुदा शिक्षकलाई भाग नदिने अहिले समस्या आएपछि बहाना बनाउन नहुने शिक्षकहरुले बताएका छन् ।

Related Articles

Back to top button
Close