News

मोदी भर्सेज ओलीः दुवैको सम्बोधन एकैपटक, सम्बन्ध चिसिएका बेला एकअर्कालाई के भने ?

नेपाल र भारतको सम्बन्ध चिसिएको छ । नेपालले आफ्नो अतिक्रमित भूभाग समेत समेटेर नक्सा जारी गरेपछि चिसिएको दुई देशबीचको सम्बन्ध सुधार गर्नेतर्फ कुनै पहल भएको छैन । यस्तो पृष्ठभूमिमा आइतबार दुवै देशका प्रधानमन्त्रीले एकैपटक सम्बोधन गर्दै आफ्ना कुरा राखेका छन् । सम्बोधनका क्रममा दुवै प्रधानमन्त्रीले एक अर्को देशबारे केही बोलेका छन् ।

कम्युनिष्ट नेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउन भारत प्रयासरत रहेको आरोप लगाए । नेपालले परिमार्जित नक्सा जारी गरेपछि भारतीय मिडिया, त्यहाँका बुद्धिजीवी र राज्यसंयन्त्र आफूलाई हटाउन लागेको प्रधानमन्त्री ओलीले दाबी गरेका हुन् ।

‘हामीले नक्सा सच्यायौँ । यसलाई संवैधानिक रूप दियौँ । त्यसपछि हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने सुन्नुभएको होला । भारतीय मिडिया र बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । भारतको राज्यसंयन्त्र अचम्मसम्म सक्रिय छ, यसका लागि होटेलमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ’ प्रधानमन्त्रीले भने ।

आफूलाई हटाउन सक्रियता बढेको दावी गर्दै प्रधानमन्त्रीले हटाउन भने त्यति सजिलो नभएको पनि बताए । उनले भने ‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ, आग्रह नपाले पनि हुन्छ । नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस् ।’

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आजै मन की बात रेडियो कार्यक्रममार्फत देशवासीको नाममा सम्बोधन गरे । सम्बोधनको क्रममा उनले नेपालको नामै किटेर केही भनेनन् तर सांकेतिक रुपमा छिमेकीहरुले आफ्नो देशविरुद्धका गतिविधि गरेको बताए । उनले केही छिमेकीहरुबाट जे भइरहेको छ देश ती चुनौतहिरुसँग पनि जुधिरहेको बताए । उनले ‘छिमेकीहरु’ भनेर बहुवचनको प्रयोग गर्दा चीनमात्र नभइ अन्य देशहरुलाई पनि भनेको बुझिन्थ्यो जसमध्ये एक नेपाल पनि हो ।

उनले चीनको नाम नलिइ लद्दाखमा भारतीय भूमिमाथि आँखा जलाउनेले कडा जवाफ पाएको बताए । ‘भारतका साहसी सेनाले देशको मानमा आँच आउन दिएनन्’ मोदीले भने ‘भारतले मित्रता निभाउन जान्दछ साथै आँखामा आँखा मिलाएर उचित जवाफ दिन पनि सक्छ । भारत आमाको गौरवमाथि कसैले आँच पुर्याउन सक्दैनन् भन्ने हाम्रा वीर सेनाले देखाइदिए ।’ दुईहप्ता अगाडि भारतीय र चिनियाँ सेनाबीच लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा झडप भएपछि मोदीको पछिल्लो भनाइ आएको हो । dcnepal

Related Articles

Back to top button
Close