Intresting

बच्चा रोयो ? फकाउनु पर्दैन

जब बच्चा रुन थाल्छ, आमाबुबालाई पो पिरलो । कसरी फकाउने ? मोबाइल खेलाउन दिने कि, चाउचाउ खान दिने कि, बोकेर घुमाउने कि, कथा सुनाउने ?

जबसम्म बच्चा शान्त हुँदैनन्, आमाबुबाले अनेक गर्नुपर्छ । जबकि बालबच्चालाई रुनका लागि ठूलो निहुँ चाहिँदैन । स-साना कुरामा पनि उनीहरू बेपत्तासँग रोइदिन्छन् । भोक लाग्यो रुन्छन् । खेल्नेकुरा पाएनन् रुन्छन् । विद्यालय जानु पर्‍यो रुन्छन् । भाइबहिनीसँग झगडा भयो रुन्छन् । टीभी हेर्न पाएनन् रुन्छन् । पानीमा भिज्न पाएनन् रुन्छन् ।
स-साना कुरामा दुखेसो पोख्न, विरोध जनाउन, गुनासो गर्नका लागि बालबच्चाले एउटै विधि अपनाउँछन्, रुने ।

हुन त रुनु एक मानवीय स्वभाव नै हो । दुःखमा मान्छे रुन्छन्, सुखमा पनि रुन्छन् । रुनु एक भावनात्मक अभिव्यक्ति हो । तर बालबच्चाले भने रुने कुरालाई नै आफ्नो हतियार बनाउँछन् । खेलौना पाएनन् भने रुन्छन् । रोएपछि आमाबुबाले खेलौना किनिदिन्छन् भन्ने लाग्छ । टेलिभिजन हेर्न पाएनन् भने रुन्छन् । रोएपछि आमाबुबाले टेलिभिजन हेर्ने छुट दिन्छन् भन्ने लाग्छन् । यसरी रोएपछि हरेक कुराको परिपूर्ति हुन्छ भन्ने लागेको हुन्छ उनीहरूलाई ।

अन्तत: उनीहरूमा रोएर नै आफ्नो माग वा इच्छाहरू पूरा गराउने प्रवृत्ति विकास हुन्छ। रोएपछि जे पनि पाइन्छ भन्ने लाग्न थाल्छ । उनीहरूले गर्ने हरेक माग पूरा गर्दै जाने हो भने भोलिका दिनमा उनीहरूमा खराब प्रवृत्तिको विकास हुन्छ। त्यसैले जब बच्चा रुन्छन्, फकाइफुल्याई गरिरहन जरुरी छैन ।

रुन दिनुहोस्

बच्चा रोएमा उनलाई फकाइफुल्याई गर्ने नगरौं । रुन छाडौं । उनीहरू यसै पनि रुन्छन् । सानोतिनो कुरामा चित्त नबुझ्नासाथ रुन्छन्। रोएपछि उनीहरूको मनको गुनासो पखालिन्छ । रुन्छन् र आफैँ शान्त हुन्छन् । उनीहरूलाई शान्त तुल्याउन तपाईंले अतिरिक्त प्रयास गर्नु जरुरी छैन ।

रुनु भनेको आफैँमा एक उपचारात्मक विधि पनि हो । मनको गुनासो, दुखेसो सबै पोख्नका लागि पनि रुने गरिन्छ । रोइसकेपछि बालबच्चाको मन चङ्गा हुन्छ । मनमा कुन्ठा रहँदैन । त्यसैले रोइरहेको बच्चालाई फकाउने प्रयास नगरौं ।

जबजब बच्चा रुन्छन्, फकाउनका लागि अनेक प्रलोभन देखाउन थाल्नुभयो भने उनीहरूको माग र इच्छा बढ्दै जान्छ । अवस्था यस्तो आउँछ कि उनीहरूको माग तपाईंले पूरा गर्नै सक्नुहुन्न ।

तीन अवस्थामा मात्र चासो राखौं

जब बच्चा रुन्छन्, तपाईंले चासो देखाइरहनु आवश्यक छैन । बेवास्ता गर्नुहोस् । उनीहरू रोइरहन्छन् । रोएर थाक्छन् । आफैँ शान्त हुन्छन्। क्रसम उनीहरूमा रुने, घुर्की लगाउने बानी हट्दै जान्छ ।

यदि यी तीन अवस्थामा रोएको छ भने मात्र तपाईंले चासो राख्नुपर्नेछ ।

एक,

बच्चाहरू बिरामी भएमा वा शारीरिक रुपमा कुनै असहज भएमा उनीहरू रुन सक्छन् । पेट दुख्यो, टाउको दुख्यो, ज्वरो आयो । यस्ता समस्याहरू भएमा उनीहरू रुन्छन् । यदि दुःख बिरामीको कारण रोएको छ भने तपाईंले सरोकार राख्नुपर्छ।

दुई,

बच्चाहरू भोक लागेको अवस्थामा पनि झगडा गर्न थाल्छन् । उनीहरूलाई भोक लागेपछि रिस उठ्छ। समयमै खानेकुरा पाएनन् भने झगडा गर्छन् । यदि भोक लागेर रोएको छ भने तपाईंले चासो राख्नुपर्छ ।

तीन,

कहिलेकाहीँ उनीहरू वास्तवमै समस्यामा परेर रोएका हुन सक्छन् । जस्तो कि विद्यालयमा साथीभाइले हेला गरे, शिक्षकले अनावश्यक सजाय दिए, कसैले मानसिक तनाव दिए । यस्तो अवस्थामा उनीहरू आफूलाई खुलेर व्यक्त गर्न नसकी रुन सक्छन् । त्यसैले यस्तो कुनैपनि परिस्थिति भएमा उनीहरूको ख्याल राख्नुपर्छ ।

त्यसैले यी तीन कारण, बिरामी भएको, भोक लागेको र कुनै समस्यामा परेको अवस्थामा रोएको छन् भने चासो राख्नुपर्छ । त्यसबाहेक कुनै कुरा माग गरे, घुर्की लगाएर, गुनासो गरेर रोएका छन् भने फकाउनु पर्दैन । रोएर थाक्छन् । आफैँ शान्त हुन्छन् । यो एक किसिमको मनोवैज्ञानिक उपचार पनि हो ।

Related Articles

Back to top button
Close