News

भक्तपुरमा दुई नाबालिका बलात्कृत

एक सातामा भक्तपुरमा दुई नाबालिका बलात्कारको शिकार भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार १३ र १४ वर्षीया दुई बालिका एकसाताभित्र बलात्कृत भएका हुन् । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले दुइटै घटनामा संलग्न दुर्य युवालाई प्रहरीले नियन्त्रणमा समेत लिइसकेको जानकारी दिए ।

उनका अनुसार रुकुमको भुमे गाउँपालिका ९ घर भई हाल चाँगुनारायण नपा १ दुवाकोट बेसीमा बस्ने ३५ वर्षीय जबर खड्का र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका १ बस्ने २१ वर्षीय सोमराज परियारलाई नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ ।
खड्काले गएको जेठ ३१ गते १३ वर्षीया बालिकालाई ललाईफकाई आर्थिक प्रलोभनमा पारी चाँगुनारायण नपा १ दुवाकोट बेसीस्थित आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

खड्काविरुद्ध नाबालिकाकी हजुरआमाले जबरजस्ती करणी गरेको भन्ने किटानी जाहेरी दिएकी थिइन् । उक्त जाहेरीको आधारमा उनलाई असार ६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै परियारले असार ४ गते दिउँसोको समयमा १४ वर्षीया बालिकालाई ललाईफकाई आर्थिक प्रलोभनमा पारी मध्यपुर थिमि नपा ९ बोडेस्थित निलबाराही जंगलमा लगी जबरजस्ती गरेका थिए । परियारविरुद्ध बलात्कृत बालिकाकी आमाले किटानी जाहेरी दिएकी थिइन् ।

उक्त दर्खास्तको आधारमा परियारलाई असार ५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै अभियुक्तलाई कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । अन्नपुर्ण पोष्ट

Related Articles

Back to top button
Close